इतिहासमा यो साता भएका मुख्यमुख्य घटना
जुलाई ११
सन् २००६ को जुलाई ११ मा भारतीय नगरी मुम्बईमा ठूलो जनधनको क्षति हुने गरी शृंखलाबद्ध रूपमा विष्फोट गराइएको भयो। यात्रुवाहक ट्रेन र प्लेटफर्ममा चरमपन्थीले बम विष्फोट गराएका थिए। विष्फोटमा परी १ सय ६० जनाको मृत्यु भएको थियो। छ सयभन्दा बढी घाइते भएका थिए। ११ मिनेटभित्र मुम्बईको सबअर्बन रेलवेमा शृंखलाबद्ध रूपमा प्रेसर कुकर बम विष्फोट गराइएको थियो। चरमपन्थी संगठन लस्कर–ए–तैयबाको भारतमा क्रियाशील विद्यार्थी संगठन स्टुडेन्ट्स इस्लामिक मुभमेन्ट इन इन्डियाले विष्फोट गराएको आशंका गरिएको थियो।
जुलाई १२
सन् १९६७ को जुलाई १२ मा अमेरिकी राज्य न्युजर्सीको नेवार्क शहरमा साम्प्रदायिक दंगा भड्किएको थियो। नेवार्कका सडकमा ट्याक्सी चलाउँदै आएका एक जना अश्वेत मूलका सवारी चालकलाई प्रहरीले पक्राउ गरेर कुटपिट गरेपछि त्यसको विरोधमा दंगा भड्किएको थियो। अश्वेत भएकै कारण प्रहरीले ती सवारी चालकलाई निर्घात कुटेको चर्चा शहरभरि फैलियो।
अश्वेत मूलका हजारौँ मानिस सडकमा उत्रिए। कतिपय ठाउँमा अश्वेत र श्वेत मूलका अमेरिकीबीच झडप भयो। अन्य ठाउँमा प्रहरीसँग अश्वेत आन्दोलनकारीको मुठभेड भयो। चार दिनसम्म दंगा भड्कियो। यस क्रममा २४ जनाको मृत्यु भयो भने ११ सय जना घाइते भए। करिब १३ सय जना पक्राउ परे। आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट करिब ५० लाख अमेरिकी डलर बराबरको क्षति भयो।
जुलाई १३
सन् १९९८ को जुलाई १३ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले रुसलाई २२ अर्ब अमेरिकी डलर बराबरको ऋण सहयोग गर्न सहमति जनायो। नाजुक अवस्थामा पुगेको रुसी अर्थतन्त्रलाई जोगाउन ऋण सहयोग गर्न तयार रहेको मुद्रा कोषले जनाएको थियो।
अन्तर्राष्ट्रिय मुद्रा कोषको मुख्यालय अमेरिकी राजधानी वासिङ्टन डीसीमा छ। अमेरिकालाई लाभ पुग्ने खालको उदारवादी अर्थव्यवस्था संसारभरि प्रवद्र्धन गर्न अमेरिकी राज्यले अन्तर्राष्ट्रिय मुद्रा कोष स्थापना गरेको हो। शीतयुद्ध समाप्त भएपछि रुसको राष्ट्रपति पदमा बोरिस येल्तसिन चुनिएका थिए। उनी अमेरिकासँग निकट थिए। अमेरिकासँग निकट राष्ट्रपति भएकै कारण रुसले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिन आफू तयार रहेको जनाएको थियो। त्यसपछि मुद्रा कोषले ऋण प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।
जुलाई १४
सन् १९५८ को जुलाई १४ मा इराकमा सत्ता उलटफेर भएको थियो। इराकी सेनाका केही अधिकारीले विद्रोह गरेर सत्ता कब्जा गरेका थिए। त्यतिबेला इराकमा राजतन्त्रात्मक व्यवस्था थियो। विद्रोहीहरूले राजा फैजल द्वितीय, राजकुमार अब्दुल अल–इलाह र प्रधानमन्त्री नुरी अल–सइदलाई नियन्त्रणमा लिएर हत्या गरेका थिए।
त्यसपछि इराकी सरकार र राजपरिवारका अन्य प्रभावशाली सदस्य पलायन भए। इराक बेलायती उपनिवेशअन्तर्गत रहेको बेला बेलायतको सद्भावमा इराकमा राजतन्त्र स्थापना भएको थियो। उन्मूलन हुने बेलामा पनि इराकको राजतन्त्र बेलायतलगायत पश्चिमी मुलुकप्रति उदार थियो। इराकमा भएको उलटफेरलाई पश्चिमी मुलुकले ‘कु’को संज्ञा दिए। इराकमा चाहिँ त्यसलाई क्रान्तिको संज्ञा दिइयो।
जुलाई १५
सन् १९४६ को जुलाई १५ मा दोस्रो विश्वयुद्ध जारी रहँदै गर्दा इटालीले जापानविरुद्ध युद्ध घोषणा गर्यो। त्यसअघिसम्म इटाली र जापान दुवै एउटै ध्रुवमा थिए। उनीहरूले जापानसँग मिलेर मित्रराष्ट्र खेमामा आबद्ध अमेरिका, सोभियत संघ, बेलायतलगायत मुलुकविरुद्ध युद्ध गरेका थिए। त्यतिबेला इटालीका शासक मुसोलिनी थिए।
तर, दोस्रो विश्वयुद्ध उत्कर्षमा पुग्दै गएपछि जर्मनीले धक्का खायो। जर्मनीको आडमा टिकेको इटालीको सामथ्र्य क्षीण भयो। मुसोलिनी पक्राउ परे। इटालीमा सत्ता परिवर्तन भयो। इटालीको नयाँ सत्ताले मुसोलिनीको फासीवादलाई अवैध करार गर्यो र अमेरिका–बेलायतसँग निकट रहने प्रतिबद्धता व्यक्त गर्यो। सोही नीतिअनुरूप उसले जापानविरुद्ध युद्ध घोषणा गर्यो। त्यतिबेला जापान पराजयको सँघारमा पुगिसकेको थियो।
जुलाई १६
सन् १९४५ को जुलाई १६ मा संसारमा पहिलो पटक पारमाणविक बम परीक्षण गरिएको थियो। अमेरिकी सेनाले अमेरिकी राज्य न्युमेक्सिकोको एउटा मरुभूमिमा बम परीक्षण गरेको थियो। बम परीक्षण योजनाको छद्म नाम ‘ट्रिनिटी’ राखिएको थियो। परीक्षण सफलतापूर्वक सम्पन्न भयो।
त्यतिबेला अमेरिकाको राष्ट्रपति पदमा हेनरी ट्र्युम्यान थिए। अमेरिकी अधिकारीबीच परीक्षण भएको बमलाई युद्धभूमिमा पनि ‘टेस्ट’ गर्ने विषयमा छलफल भयो। सोही छलफलबमोजिम जापानका दुई शहरमा बम खसालियो। आफूसँग बम रहेको जनाउ दिएर दोस्रो विश्वयुद्धमा एउटै खेमाबाट लडेको राष्ट्र सोभियत संघलाई तर्साउनु अमेरिकाको मुख्य उद्देश्य रहेको विश्लेषण सर्वत्र गरियो।
जुलाई १७
सन् १९४५ को जुलाई १७ मा बेलायत, अमेरिका र सोभियत संघका सर्वोच्च नेतृत्वबीच छलफल भयो। दोस्रो विश्वयुद्धमा नाजी जर्मनी पराजित भएपछि जर्मनीकै पोस्टड्याम क्षेत्रमा तीन मुलुकका राजनेता भेला भएर छलफल गरेका थिए। त्यसलाई इतिहासमा पोस्टड्याम छलफल भनेर चिनिन्छ। नाजी जर्मनीको पतन भएपछि जर्मनीमा कस्तो राजनीतिक व्यवस्था लागू गर्ने, पोल्यान्डसँग जर्मनीको सीमा विवाद कसरी सुल्झाउने, जर्मनीले युद्धताका कब्जा गरेको अस्ट्रियाको भूभागलाई के गर्नेलगायत विषयमा छलफल भयो।
छलफलका क्रममा अमेरिका र बेलायतले जर्मनीमा प्रजातान्त्रिक व्यवस्था लागू गर्ने राय व्यक्त गरे। यसमा सोभियत संघले असहमति जनायो। त्यसपछि जर्मनी पूर्व र पश्चिम गरी दुई भागमा विभाजित भयो। पूर्वी जर्मनीमा सोभियत संघले कम्युनिस्ट व्यवस्था लागू गर्यो भने पश्चिम जर्मनीमा चाहिँ प्रजातान्त्रिक व्यवस्था लागू भयो।