तरकारीमा जीवन खोज्दै !

तरकारीमा जीवन खोज्दै !

तरकारी किन्न जाँदा अचेल म राम्रो होइन, नराम्रो देखिने तरकारी कहाँ छ भनेर बजार चहार्ने गर्छु। त्यहाँ सजाइएका सलक्क परेका अनि टलक्क टल्किने तरकारीतिर म लोभिन छोडिसकेकी छु। बरु, कीराले प्वाल पारेका र कीरा सल्बलाइरहेका तरकारी ढुक्कले किन्ने गर्छु। मेरो यस्तो चाला देखेर सँगै गएकी छिमेकीलाई भनेकी थिएँ, ‘दिदी, यो तरकारीमा कीराको जीवन सुरक्षित रहेछ। त्यसैले यसले हाम्रो जीवन पनि सुरक्षित राख्नेछ।’ मेरो कुरा अनौठो मान्दै उनी बाटो लागिन्। तर, म भने तरकारीमा आफ्नो र परिवारको जीवन खोज्दै बजार डुलिरहें। किनकि, तरकारी तथा फलफूलमा राखिएको विषादी तथा रसायनले सबैभन्दा नकारात्मक असर बालबालिकामा पार्ने हुनाले म अधिक चिन्तित हुने गर्छु।

म मात्र होइन, असंख्य आमा आफ्ना बालबालिकाप्रति यसरी नै चिन्तत भइरहेका छन्। तर विडम्बना ! हामी सबैको अभिभावकका रूपमा रहेको सरकार भने निर्धक्कसँग विषादी र रसायनयुक्त तरकारी भित्र्याएर जनतालाई दीर्घरोगी बनाउँदै छ ! मानौं ऊ जनताभन्दा बढी उत्तरदायी छिमेकीसँग छ। त्यसैले त भारतबाट आयात गरिने तरकारीको विषादी परीक्षण गर्न आफैंले गरेको निर्णयलाई अनेक बहाना बनाएर तत्कालै फिर्ता लिएको छ। अनेकौं हावादारी सपना देखाएर क्रान्तिकारी र कल्याणकारी सरकारको ताज पहिरिन उद्यत् सरकारले अन्ततः जनतालाई तरकारी र फलफूलमा मिश्रित मन्दविष खुवाएर दीर्घरोगी बनाएर कालान्तरमा उपचारका लागि मोटो रकमसहित उतै पठाउने योजना बनाइरहेको छ। धन्य हाम्रो नियति !

विश्वयुद्धताका रासायनिक हतियारका लागि उत्पादित हानिकारक रसायनलाई मोनस्यान्टोजस्ता कम्पनीबाट पछिल्लो समयमा कृषि क्षेत्रमा कीटनाशकका रूपमा प्रसारित गरिएको सन्दर्भमा हाम्रो देश पनि त्यसको राम्रो बजार बन्न पुग्यो। यसपूर्वका कुनै पनि सरकारलाई जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने यस्ता विषादीबारे सरोकारै भएन। किनभने, कमिसनतन्त्रले सरोकारवालाको विवेकमा बिर्को लगाउने गर्छ। परिणामस्वरूप आफ्नै खेतबारी र करेसामा विषादी तथा घातक रसायन फलाएर खाइरहेका हामी भने छिमेकीले फलाएर पठाएको रसायनदार तरकारीको मजा लिन बाध्य छौं।

एकातिर आयातीत तरकारीमा विषादी र रसायनको आतंक छ भने अर्कोतिर हाम्रै किसान थोरै मेहनत र कम समयमा धेरै फलाएर सम्पन्न बन्ने सपना बोकेर उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरिरहेका छन्। पत्याउनै नसकिने अवस्थामा आमीकहाँ विषको खेती भइरहन्छ।

मलाई एउटा यस्तै प्रसंगको सम्झना भइरहेको छ— एउटी परिचित बहिनीका पतिलाई आफ्नो कार्यालयबाट गाउँमा कार्यक्रम लिएर जाँदा एक गाउँलेले तरकारी कोसेली दिएछन्। ती बहिनीले भोलि पकाउँला भनी फ्रिजमा राखेको त्यो लौका भोलिपल्ट दोब्बर बढेको देखेपछि कसैले पतिलाई टुनामुना गरेर दिएको भन्ने ठानेर दोबाटोमा लगेर मिल्क्याइदिएको घटना सुनाउँदा म मरीमरी हाँसेकी थिएँ। यथार्थमा ती बहिनीलाई टक्सिनको सुईले त्यसरी अस्वाभाविक रूपमा तरकारी बढ्छ भन्ने थाहै रहेनछ। योभन्दा पनि गम्भीर कुरा त त्यस्ता तरकारी खानाले स्वास्थ्यमा पर्ने असरबारे हामीमध्ये धेरै अनभिज्ञ छौं।

यति मात्र होइन, हामीमध्ये कतिपय त यसबारे थाहा पाएर पनि बेवास्ता गरिरहेका हुन्छौं। हाम्रो भान्सा आज आन्तरिक रूपमा उत्पादन गरिने र बाहिरबाट अयात गरिने विषादी र टक्सिनको दोहोरो मारमा परिरहेको छ। स्थानीय उत्पादनमा विषादी र रसायनको मात्रा बढिरहेको बेला त्यसको विकल्प खोजी गर्नुपर्नेमा सरकारले भारतबाट अत्यधिक मात्रामा भित्रिने तरकारीको विषादी परीक्षणको उद्घोषलाई अनेक बहाना बनाएर पन्छाउनुले उसको दोहोरो तथा अनुत्तरदायी चरित्र उदांगिएको छ। अर्बौं खर्चेर आईफाको तामझाम गर्न तत्पर सरकार जनताको स्वास्थ्यका लागि विषादी परीक्षणका पूर्वाधार निर्माणका लागि रकम जुटाउन सक्दैन ! त्यसैले अब सरकारको मुख ताक्ने मात्र नभई हामी आफैं सचेत भएर केही गर्नुपर्ने बेला आएको छ।

अब आफ्नै भूमिमा आफ्नै पौरखी हातले स्वस्थकर तरकारी तथा फलफूल उब्जाउने बेला आएको छ।

विषादी र रसायनयुक्त तरकारी तथा फलफूल हेर्दा राम्रो र ताजा देखिने अनि मूल्य पनि सस्तो पर्ने हुनाले हामी त्यसतर्फ आकर्षित देखिन्छौं। यसको सेवनबाट तत्कालै नकारात्मक असर नदेखिने हुनाले पनि हामी त्यसको विकल्प खोज्दैनौं। तर अब खोज्नुपर्छ। किनकि, हामीकहाँ मुटु, रक्तचाप, मिर्गौला, क्यान्सर आदिका रोगी बढिरहेका छन्। यसको प्रमुख कारण यस्तै विषादी तथा रसायनयुक्त खाना तथा अस्वस्थ जीवनशैली हो। अचेल व्यावसायिक रूपमा गरिने बेमौसमी तरकारी खेतीले राम्रो आम्दानी हुने भन्दै किसानहरू आकर्षित भइरहेका छन्। यसका लागि उनीहरूले जथाभावी रसायन र विषादी प्रयोग गर्छन्। किनकि, हामीकहाँ यस्ता विषादीमा नियन्त्रण छैन।

कस्ता विषादी र कति मात्रमा, कुन विधिबाट प्रयोग गर्ने भन्नेसम्म ज्ञान नभई यसको प्रयोग गर्नाले उपभोक्ता मात्र होइन, कृषक स्वयम्को स्वास्थ्य पनि जोखिममा परेको देखिन्छ। यति मात्र होइन, यसले हाम्रो माटो नै बिग्रिसकेको छ। त्यसैले त बीउबिरुवा किन्न जाँदा पसलेले त्यसका साथै भिटामिन (टक्सिन) र कीटनाशक पनि सँगसँगै दिने गर्छन्।

नजिकैको बारीमा तरकारी लगाउने बहिनीले कीटनाशक प्रयोग नगर्दा सबै तरकारी कीराले खाइदिएपछि आँखाभरि आँसु पार्दै दुखेसो गरेको प्रत्यक्ष देखिरहेकी मेरो मनमा अनेक प्रश्न उठ्ने गर्छन्— रासायनिक मल र विषादीको विकल्प नै नभएको हो त ? जैविक प्रविधिमार्फत त्यसलाई विस्थापन गर्न सकिँदैन ? यो दायित्व कसको हो ? कृषि विकासका नाममा बर्सेनि मोटो रकम खर्चने कृषि मन्त्रालयको ? कृषिसम्बन्धी प्रविधिको अध्ययन–अनुसन्धान गराउने विश्वविद्यालयअन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको ? स्थानीय निकायको नेतृत्वको ? या किसान स्वयंको ?

हामीकहाँ तरकारी र फलफूल मात्र होइन, दूध तथा माछामासुसमेत स्वस्थर देखिँदैन। नाफामुखी व्यवसायका कारण गाई–भैंसीलाई टक्सिनको सुई लगाएर बढी दूध उत्पादन गर्ने, ब्रोइलर कुखुरालाई पनि छिटै बढाउन सोही प्रक्रिया अपनाउने, माछा लामो समय ताजा राख्न हानिकारक रसायन हाल्ने गरेको पाइन्छ। यी सबैको सम्बन्ध बालबालिकासँग बढी हुने हुनाले पनि यसलाई संवेदनशील विषय मानिनुपर्छ। आम उपभोक्ता सचेत भएर त्यस प्रकारका खाद्य पदार्थ प्रयोग कम गरेर ती नाफामुखी उत्पादकलाई निरुत्साही बनाउनुपर्छ।

यथार्थमा यो त्यति सहज विकल्प भने होइन। किनभने, सहर–बजारको त कुरै छोडौं, हाम्रा गाउँघरमा पनि विकासे खेतीका नाममा विषादी फलिरहेको देखिन्छ। गोबर तथा कम्पोस्ट मल हालेर तरकारी फलुन्जेल पर्खने धैर्य हामीले गुमाइसकेका छौं। रसायन र विषादी हालेर छोटो समयमै फल खाने बानी परिसकेको छ हामीलाई। यस्तो जटिलतामा आम उपभोक्ताले सरकारलाई दबाब दिएर कृिषसम्बन्धी विद्यमान फितलो नीतिमा परिवर्तन गराउनु नै उत्तम विकल्प हुन आउँछ। किनभने, रासायनिक मल र विषादीमा बर्सेनि अर्बौं रुपैयाँ खर्चिनुपर्ने अवस्थामा सोही मात्रामा लगानी गरेमा विषादी र रसायनको विकल्प तयार पार्न सकिँदैन र ?

स्थानीय स्तरमा उपलब्ध गोबर, गहुँत, खरानी, कम्पोस्ट मल, औषधिजन्य वनस्पति आदिबाट विषादीरहित तरकारी तथा फलफूल उत्पादन गर्न सकिँदैन ? विदेशमा बसेर भूउपग्रह बनाउने तथा स्वदेशमै रोबोट निर्माण गर्ने अनि ड्रोन उडाउन सक्ने हाम्रा पौरखी युवा अवसर पाएमा कीरा–फट्याङ्ग्राको अतिक्रमणबाट बालीनाली जोगाउने प्रविधि पत्ता लगाउन सक्दैनन् ? कुनै बेला कृषिमा आत्मनिर्भर हामी आज किन आफ्ना खेतबारी तथा करेसा बाँझो राखेर परनिर्भर बन्दै छौं ? विदेशबाट आयात गरिने खाद्यान्नको गुणस्तर परीक्षण गर्न नसके पनि सरकारले स्वदेशमै स्वस्थकार खाद्यान्न उत्पादन नीति कार्यान्वयन गरेर उक्त आयातलाई विस्थापन गर्न सक्दैन ?

यी र यस्तै तमाम प्रश्नको जवाफ खोज्दै हामी सचेत हुने बेला आएको छ। खाद्यपदार्थसम्बन्धी आफ्नो अधिकार तथा सचेतता दुवै भएमा मात्र हामी विषादी आतंकबाट मुक्तितर्फ अग्रसर हुन सक्छौं। सकेसम्म जैविक प्रविधिबाट खेती गर्ने, विषादी प्रयोग गर्नैपर्ने भएमा पनि कम हानिकारक विषादी तथा त्यसको सही मात्र र प्रयोग विधिबारे ज्ञान र प्रशिक्षण प्रदान गर्ने, यस्ता तरकारी तथा फलफूलबाट विषादीको प्रभाव न्यूनीकरणका उपायको खोजी आदि विषय हाम्रो कृषिक्षेत्रले प्राथमिकतामा राखेर स्थानीय निकायमार्फत त्यसलाई लागू गर्ने हो भने हाम्रो भान्साको अवस्था अहिलेजस्तो भयावह बन्ने छैन। विकसित मुलुकको खाद्यान्न तथा कृषिसम्बन्धी नीतिको अनुसरण गर्दै हाम्रो कृषि क्षेत्रलाई सुधार गर्ने तथा आफ्नै भूमिमा स्वस्थकर तरकारी तथा फलफूल उब्जाउने पौरखी हात हुने हो भने सचेत गृहणीहरूलाई तरकारीमा जीवन खोज्दै बजार–बजार भौंतारिनुपर्ने अवस्था रहने छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.