‘रामायणले जीउने कला सिकाएको छ’
काठमाडौं : प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले भानुभक्तीय रामायणले जीवन जिउने कला सिकाएको बताएका छन् ।
रामायणले नेपाली समाजमा गहिरो प्रभाव पारेको भन्दै उनले भाषा–साहित्यको जग बसाल्न समेत उल्लेख्य सहयोग पु¥याएको बताए । नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग तथा बालसाहित्य र लोकवार्ता विभाग एवं भानु प्रतिष्ठानद्वारा संयुक्त रूपमा आदिकवि भानुभक्त आचार्यको २०६औं जन्मजयन्तीका अवसरमा राजधानीमा बुधबार आयोजित बिचार गोष्ठीमा सदस्य सचिव उपाध्यायले यस्तो बताएका हुन् । ‘सत्कर्ममा लाग्न र जीवन जिउने कला पनि रामायणले नै सिकाएको छ । यसकारण भानुभक्तको चिन्तनलाई हाम्रो चरित्रमा उतार्नु नै भानु जयन्तीको मूल सन्देश हो,’ उपाध्यायले भने ।
प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले आदिकवि भानुभक्तमा सत्गुणी र लोकको उपकार गर्ने विशेषता भएका कारण रामायणलाई नेपाली भाषामा अनुवाद गर्न सफल भएको बताए । उनले भने, ‘रामायण र अन्य कृतिका माध्यमबाट भानुभक्त विश्वसामु चिनिन सफल हुनुभयो । निष्ठा र निःस्वार्थ भावका साथ कर्म गर्ने मानिस एक न एक दिन सफल भएरै छाड्छ ।’ प्रतिष्ठानका प्राज्ञतथा अन्य साहित्यकर्मीले पनि भानुभक्तका कृतिको प्रसंशा गरेका थिए ।