आफ्नै छायामा छेकिएकाे कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पहिलो चरणको एकमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्याे । हिमाल, पहाड, तराई, मधेसमा संगठन क्रियाशील बनाउने उद्देश्य राखिएको उक्त जागरण अभियानले सुषुप्त अवस्थामा रहेको कांग्रेस जागेको टिप्पणी नेताहरूले गरेका छन् । पछिल्लो निर्वाचनको परिणामबाट थला परेको कांग्रेस, जागरण अभियानसँगै ब्युँझेको त छ तर सदनमा प्रमुख प्रतिपक्षीको हैसियतले सशक्त भूमिका खेल्न सकेको छैन ।
जागरण अभियानमा केन्द्रीय नेताहरू आआफ्ना स्वार्थ समूह, गुट–उपगुटलाई बलियो बनाउँदै कार्यकर्तामाझ व्यक्तिगत आक्षेपको हदसम्म उत्रिएपछि आम कार्यकर्ता पंक्तिमा असन्तुष्टि पैदा भएको छ । अहिले जागरण अभियानमा हिँडेका केन्द्रीय नेतृत्वलाई कार्यकर्ताको एउटै सुझाव छ, ‘पहिला नेतृत्व जाग्नुपर्याे हामी त जागै छौं ।’
यसअघि कांग्रेसले सरकारलाई खबरदारी गर्न भन्दै छाया सरकार गठन गरेको थियो । लोकतान्त्रिक अभ्यासमा छाया सरकार गठन गरी सरकारको कामकारबाहीको सूक्ष्म निगरानी गर्ने प्रचलन छ । विषयविज्ञता र तथ्यका आधारमा सरकारको कामकारबाही निगरानी गर्न त्यस्तो अनौपचारिक संयन्त्र निर्माण गर्ने प्रचलन विश्वमै देखिन्छ । सरकारले आम नागरिकको हितमा काम गरेको छ कि छैन ? कतै अनियमितता र भ्रष्टाचार भयो कि ? कतै बदनियतपूर्वक गलत निर्णय गरिए कि ? यस्तै विषयमा निगरानी गर्न त्यसखाले संयन्त्रहरू बनाइन्छ ।तर अहिलेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले गठन गरेको छाया सरकारको बान्की र छाया सरकार हाँक्ने पात्रहरू हेर्दा यो केवल केन्द्रीय नेताहरूलाई थामथुम पार्न गरिएको पद विभाजनजस्तो देखिन गएको छ । यो संयन्त्रबाट नागरिकले भने केही पाउने छैनन् । त्यसमाथि पनि कांग्रेसको छाया सरकारमा विषयविज्ञता भएका व्यक्तिहरूलाई जिम्मेवारी दिनेभन्दा पनि थाकेका तिनै पुराना अनुहारलाई विभागीय जिम्मेवारी दिँदा त्यो केवल औपचारिक संरचनाजस्तो मात्रै देखिन गएको छ । न छाया सरकारले कुनै विषयमा गम्भीरतापूर्वक अनुसन्धान गर्नेछ, न त सूक्ष्म निगरानी नै । बस्, कांग्रेसको छाया सरकार रुग्ण बन्दै गएको नेतृत्वको छायामै हराएको प्रतीत हुँदै छ ।
सडकमा शून्य उपस्थिति भएको कांग्रेस सदनमा केवल औपचारिक प्रतिपक्षीको बेन्चमै सीमित देखिएको छ । कांग्रेसको गतिविधि हेर्दा अनि नेताहरूको आक्रोशपूर्ण भाषण सुन्दा केवल सरकारमा नहुनुको कुण्ठा मात्रै अभिव्यक्त भए झैं लाग्छ । केही तन्नेरी कांग्रेसीजनलाई छाड्ने हो भने समग्र पार्टीमा नयाँ सोच, विचार, दृष्टिकोण र केही गर्ने हुटहुटी सकिएको छ । त्यसैले कांग्रेस औपचारिक रूपमा पुरानो ब्रान्डमा खुम्चिँदै छ ।
त्यसो त पार्टी संगठनलाई क्रियाशील बनाउने विचार र दृष्टिकोणले नै हो । सही विचारले सही कार्यक्रम निर्माण हुन्छन् । पार्टीले ल्याउने सही कार्यक्रमले संगठन निर्माणमा मद्दत पुग्छ । त्यसैले कुनै पनि दललाई क्रियाशील बनाउने उसको विचार, नीति र कार्यक्रमले नै हो । तर, कांग्रेसले वैचारिक रूपमा आफूलाई नवीकरण गर्न सकेको छैन ।
केही सीमित नेताहरूको प्रयत्नलाई छाड्ने हो भने कांग्रेसको नेतृत्वले युगसुहाउँदो राजनीतिक विचार प्रतिपादन गर्नै सकेन । कांग्रेसको नेतृत्वमा देखिएको वैचारिक संकट नै कांग्रेसको मुख्य समस्या हो । नत्र लोकतन्त्र प्राप्तिको आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गरेको सबैभन्दा पुरानो र स्थापित पार्टीले सिर्जना गर्ने राजनीतिक माहोल यति निम्छरो अनि व्यक्तिकेन्द्रित हुने थिएन ।
त्यसो त कांग्रेसको वैचारिक पक्ष बुझ्न पाँच महिनाअघि सम्पन्न महासमिति बैठकको दस्ताबेज नियाले काफी हुन्छ । २००७ सालयताको राजनीतिक पाठ्यक्रमजस्तो लाग्ने दस्ताबेजले कुनै आकर्षण पैदा गर्दैन नै, भोलिको राजनीतिक भविष्य र परिवर्तित गन्तव्यबारेमा पनि दिशाबोध गर्न सकेको छैन । खासमा इतिहासको व्याख्यामै रुमल्लिएको छ, कांग्रेसको दस्ताबेज । जब वैचारिक पक्ष रुमल्लिन्छ भने त्यसले सही र सान्दर्भिक नीति कार्यक्रम निर्माण गर्ने प्रश्नै आउँदैन ।
कांग्रेसको महासमिति बैठकले पारित गरेको दस्ताबेजमा उल्लेख छ, ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र कांग्रेसकै नेतृत्वमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेसी समानुपातिक प्रतिनिधित्व, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता जस्ता राजनीतिक उपलब्धिलाई संस्थागत र सुदृढीकरण गर्नु कांग्रेसको आजको मूल जिम्मेवारी हो’ ।
यो पछिल्लो राजनीतिक परिवर्तनको सार हो । यसको सैद्धान्तिक पक्षलाई कसैले नकार्न सक्दैन । तर, मुख्य कुरा यसको व्यावहारिक पक्ष र आम नागरिकले यी राजनीतिक उपलब्धिलाई व्यवहारमा कसरी अनुभूति गर्ने भन्ने नै हो । अब खाँचो यिनै उपलब्धिको कार्यक्रमिक रूपान्तरण हो । तर, कांग्रेसको नेतृत्व यसको कार्यान्वयनतिर भन्दा यसैको पुनः परिभाषामा अल्मल्लिए झैं देखिन्छ । कतिपय कांग्रेसी नेताहरूले यसको मूल मर्मविपरीत दिने गरेको अभिव्यक्तिबाट कांग्रेस अकर्मण्यतामा फसेको स्पष्ट हुन्छ ।
एकातिर कांग्रेस वैचारिक अलमलमै रुमल्लियो भने अर्कोतिर नेताहरू संगठन निर्माणमा भन्दा समूह, गुट र उपगुटको व्यवस्थापनमै सक्रिय देखिए । साथै कांग्रेसले समय सान्दर्भिक राजनीतिक मुद्दाहरूको उठान गर्न पनि सकेन । अनि सशक्त प्रतिपक्षको भूमिकामा त झनै कांग्रेस निरीह देखियो । कांग्रेसमा ऊर्जाभन्दा बेसी कुण्ठा देखिन्छ । नेकपा नेतृत्वको सरकारले ल्याएको दुईतिहाइ बहुमतको कुण्ठा । त्यसैले कांग्रेस दुईतिहाइ बहुमतको सरकारको छायामै लत्रिए झैं प्रतीत हुँदै छ ।
सरकारको आलोचना गर्ने सवालमा पनि कांग्रेस मुद्दाकेन्द्रित हुन सकेन । उही सोलोडोलो बीसौं शताब्दीको कम्युनिस्टधारी मानसिकता अनि पञ्चायतकालीन भाष्यलाई नै पुनः मुद्रण गरिरहेको छ । आखिर नाम मात्रको ‘कम्युनिस्ट’ सरकारलाई स्थापित गरिदिने काम कांग्रेसले नै गरिरहेको छ । कांग्रेसका सभापतिले ‘कम्युनिस्ट शासनमा हाँस्न त के रुन पनि पाइने छैन’ भनेर सरकारको आलोचना गर्दै गर्दा कम्युनिस्ट ब्रान्डलाई स्थापित गर्न मद्दत पुगेको कांग्रेसले पत्तै पाएन ।
यद्यपि यो सरकार नाम मात्रको कम्युनिस्ट हो । कम्युनिस्ट चरित्र यसले ग्रहण गरेकै छैन । कतिपय सरकारको नीति तथा कार्यक्रम हेर्दा यो कर्पोरेट पुँजीवादको हिमायती झैं लाग्छ । वाइडबडी, एनसेलको करछली, बूढीगण्डकीजस्ता ठूला भ्रष्टाचारको काण्डमा कांग्रेस बोल्नै सकेन । त्यसैगरी कांग्रेसको आन्तरिक पार्टी जीवन पनि रुग्ण बन्दै गयो । संगठन चलायमान हुन सकेन । नेता र कार्यकर्ताबीचको विभेद कम भएन ।
कांग्रेसले समग्रमा इतिहासको ब्याज खानेबाहेक कुनै पनि हिसाबले विकल्प प्रस्तुत गर्न सकेको छैन । झन् नेतृत्वको रुग्णता बढ्दो छ । बूढो रूख मक्किए झैं कांग्रेसको संगठनात्मक अवस्था पनि मक्किँदै गएको छ । कांग्रेस आफैं गतिशील हुन नसक्दा समस्यामा परेको छ । अर्थात् कांग्रेस आफ्नै छायामा छेकिएको छ । यद्यपि हिजोको बलशाली इतिहास र एउटा पुस्ताले आस्थाकै आधारमा ‘कांग्रेस’ को झन्डा समातेकाले जनमत भने पाइ नै रहेको छ ।
आफैं सुतेको कांग्रेसको जागरण अभियानले अपेक्षाकृत धेरैलाई उठाउन सकेको छैन । यो नेताहरूका लागि आफ्ना कुण्ठा र गुनासो अभिव्यक्त गर्ने माध्यम मात्रै बनेको छ । कांग्रेस नेता शेखर कोइराला स्वीकार गर्छन्, ‘अभियान न सरकारविरुद्ध जनमत बनाउन सार्थक साबित भयो, न त पार्टी संगठनलाई ऊर्जा दिन मद्दत गर्याे ।’ केन्द्रीय नेताको आलोचना नगर्ने सन्दर्भमा परिपत्र नै जारी गर्ने अवस्थामा पुग्नुले कांग्रेसभित्रको लोकतान्त्रिक अभ्यास र सांगठनिक अवस्था थाहा लाग्छ ।
कांग्रेसको आंगिक एवं भ्रातृ संगठनहरूको अवस्था पनि दुरह नै छ । नेविसंघ विघटनको अवस्थामा छ । कांग्रेसको ऊर्जाशील संगठनका रूपमा चिनिएको तरुण दल केही व्यक्तिको कम्पनी बनेको छ । त्यस्तै अन्य भ्रातृ संगठनमा पनि अधिवेशन नभएको वर्षाौँ भएको छ ।
वैचारिक अस्पष्टता, नेतृत्वको अलोकतान्त्रिक व्यवहार, असहिष्णु आचरण, कार्यक्रमिक विरोधाभास र विगतमा लोकतान्त्रिक संस्थाहरूलाई सबल बनाउन नसक्नुको प्रतिफलका कारण कांग्रेस थप कमजोर हुँदै गएको छ । यस हिसाबले हेर्दा प्रतिपक्षीको असफलताले नै सरकारलाई थप स्वेच्छाचारी बनाउन उत्प्रेरित गरिरहेको जस्तो देखिन्छ । जागरण अभियानमा जिल्लाको पर्यटकीय भ्रमण गरेर राजधानी फर्केको कांग्रेस नेतृत्वले विचार, नेतृत्व र कार्यक्रमका हिसाबले रुग्ण बन्दै गएको कांग्रेसलाई पुनर्गठन गर्न सक्ला ?