कमलाको बाढी गाउँ पस्यो
सिरहा : कमला नदीमा आएको बाढी सिरहा नगरपालिका ६ स्थित बसपिट्टा गाउँ पसेको छ। सिँचाईका लागि निर्माण गरिएका 'एन्टी फल्ड सुलुस' अधुरै छोड्दा त्यहीबाट बाढी गाउँमा आएको हो।बाढी गाउँमा पस्न थालेपछि स्थानीय प्रशासनले रोक्नका लागि प्लाष्टिक बोरामा माटो हालेर पानी बन्द गराउने काम गरिरहेका छन्। लगातार चार दिनदेखिको वर्षाले कमला नदीमा बाढीको बहाव बढ्दै गएको छ।
स्थानीय इन्द्रजीत यादवका अनुसार शुक्रबार बिहानदेखि कमला नदीको बाढी गाउँ पस्न थालेको हो।सयौं बिघाह जग्गा डुबानमा परेको छ।बाढीबाट त्रसित स्थानीयले प्रहरी प्रशासनलाई खबर गरेपछि कमलाको पानी आउने मुहान प्लाष्टिक बोरामा माटो हालेर पुर्ने कार्य भइरहेको उनले बताए।
बाढी नरोकिए घरघरमा पानी पस्ने खतरा बढ्दै गएको उनले सुनाए। कमला नदी नियन्त्रण योजना कार्यालय जनकपुरले उक्ता एन्टी फल्ट सुलुस निर्माण गरिरहेका थिए। सिरहा प्रहरी प्रवक्ता डिएसपी अपिलराज बोहराका अनुसार बाढी गाउँ पस्न लागेको खबर पाउनासाथ बाढी रोक्ने कार्यमा स्थानीयवासी, सशस्त्र प्रहरी, नेपाली सेना खटिएका छन्। अहिले बोरामा माटो हालेर कमला नदीबाट पानी रोक्ने कार्य भइरहेको उनले जानकारी गराए। बाढीले अहिलेसम्म धेरै क्षति नपुर्याएको उनले बताए।