झापाका नदीमा पानीको बहाव खतरा नजिक, सुरक्षित रहन आग्रह
झापा : अबिरल वर्षासँगै झापाका नदीमा पानीको बहाव बढ्न थालेको छ। दुई दिनदेखि परेको लगातार वर्षाले झापाका नदीमा पानीको बहाव बढेको हो। शुक्रबार कन्काई नदीमा बहाव सर्तकता तह नजिक पुगेको छ। यो क्रम बढ्दो रुपमा रहेको झापा रेडक्रसका फोकल पर्सन हरिशरण खड्काले जनाए।
कन्काई नदीको मैनाचुलीदेखि भाकुरमारीसम्मको क्षेत्रमा उच्च जोखिमममा १८ सय ५६ परिवार छन्। वर्षा रोकिने क्रम छैन। जोखिम परिवारलाई सचेत रहन आग्रह गरिएको खड्काले बताए।
इलाममा पानी रोकियो भने झापाका नदीको बहावमा कमी आउने हो।तर पानी रोकिने कुनै छाटकाट छैन। नदीको तह बढ्दो छ त्यसैले सबै आ-आफ्नो ठाउँमा सुरक्षित रहन झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।
झापा गाउँपालिकाका १ र २ नम्बर वडाका केही बस्तीमा पानी पसेको भन्ने जानकारी आएको छ। तर पनि हालसम्म झापामा बाढीका कारण जनधनको क्षति नभएको दाहालले जानकारी दिए।
झापाका २८ मध्ये ८ नदी बाढी संवेदनशिल मानिन्छन्। तीमध्ये कन्काई नदीमा अहिले पानीको बहाव ३.१६ मिटर रहेको छ।