राफसाफ कोषको रकम प्रयोग भएन
काठमाडौं : धितोपत्र दलाल (ब्रोकर)लाई लगानीकर्ताले सेयर खरिद गर्ने आदेश दिएर भुक्तानी नदिने (डिफल्ट) भएमा कार्यशील पुँजीका लागि खडा गरेको कोषको रकम प्रयोग हुन सकेको छैन।
सेयर राफसाफ गर्न पर्याप्त पुँजी नभएकाले कोषको रकम प्रयोगमा नआएको हो। लगानीकर्ताले भुक्तानी गर्न नगएको खण्डमा खरिद भएको सेयरको भुक्तानीका लागि कोषको रकम ऋणको रूपमा प्रयोग गर्ने गरी सेयर दलाल, नेप्से र यसको भगिनी कम्पनी सीडीएस एन्ड क्लियरिङ लिमिटेडले कोष स्थापना गरेका हुन्।
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ अनुसार कोष स्थापना भएको हो। राफसाफ कोष १५ लाख रुपैयाँको बिउँ पुँजीमा खडा गरिएको छ। नेप्से, सीडीएससी र धितोपत्र दलालले प्रतिसंस्था ५ लाख रुपैयाँ जम्मा गरेर कोष खडा गरिएको हो। कोष सञ्चालनका लागि पहिलो ५ वर्षसम्म कुल नाफाको ०.५ प्रतिशत रकम जम्मा गर्नुपर्ने हुन्छ। त्यसपछि वार्षिक ०.२५ प्रतिशतको दरले जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटका अनुसार उक्त कोषमा जम्मा भएको रकम थोरै भएकाले ऋण लिन सकिने अवस्था नभएको बताउँछन्। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दैनिक ५० करोड रुपैयाँभन्दा धेरैको औसत कारोबार हुने गरेको छ। ‘कोषमा जम्मा भएको रकमबाट ऋण लिन सकिने अवस्था अहिले छैन। ऋणका लागि आवश्यक रकम थोरै भएकाले त्यहाँ जम्मा भएको पैसा प्रयोगमा आएको छैन।’
पुँजी बजारलाई सुरक्षित बनाउन राफसाफ कोष खडा हुनु सकारात्मक भएको उनी बताउँछन्। तर, ऋण प्रवाह गर्न सक्ने गरी कोषमा पर्याप्त रकम छैन। कोषमा धेरै पैसा भएको भए ब्रोकरले ऋण लिएर सेयर राफसाफ गर्न सक्ने उनको भनाइ छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार सेयर राफसाफ गर्न ब्रोकरलाई रकमको अभाव हुन नदिन कोष खडा गरिएको बताए। अन्य मुलुकमा पनि सेयर राफसाफ गर्न कोष खडा गर्ने गरिन्छ।
त्यसैको सिको गरेर नेपालमा पनि कोषको व्यवस्था गरिएको हो। लगानीकर्ताको आदेशको आधारमा ब्रोकरले सेयर खरिद गर्ने गर्छन्। सेयर खरिद गर्ने ब्रोकरकै राफसाफ गर्ने जिम्मेवारी रहन्छ। सेयर खरिदका लागि आदेश दिएर राफसाफका लागि भुक्तानी नदिने लगानीकर्ता सेयर ब्रोकरले नै खरिद गर्नुपर्ने हुन्छ। उक्त सेयर खरिद गर्दा ब्रोकरलाई रकमको अभाव हुन नदिने यो कोषको मुख्य उद्देश्य रहेको छ। ब्रोकरले कोषको रकम प्रयोग गरेर सेयर खरिद गरेपछि ब्याजसहित कोषमा रकम तिर्नुपर्ने हुन्छ।
राफसाफ कोष पाँच सदस्यीय समितिको हुनेछ। कोषको संयोजकका रूपमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत वा निजले तोेकेको वरिष्ठ अधिकृत रहने व्यवस्था छ। सीडीएससीका प्रमुख कार्यकारी अधिकृत वा निजले तोकेको वरिष्ठ अधिकृत, धितोपत्र दलाल व्यवसायीको प्रतिनिधि, सीडीएससीको राफसाफ हेर्ने वरिष्ठ अधिकृत कोषको सदस्य रहने व्यवस्था छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृतले तोकेको अधिकृत कोषको सदस्य सचिव रहनेछन्। राफसाफ कोषको सचिवालय नेप्सेको कार्यालयमा रहनुपर्नेछ।