सापियन्सको भास र हाम्रो लक्जरी ट्र्याप

सापियन्सको भास र हाम्रो लक्जरी ट्र्याप

मैले आफ्ना साथीभाइसँग सोधेँ-हामी देश छोडेर किन बिदेसिएका हौं ?

सबैको एउटै उत्तर हुन्थ्यो-सहज र सरल जीवनयापन।

साथीहरूको उत्तरले म किन पनि सन्तुष्ट हुन सकिनँ भने विदेशको जीवनशैलीमा सहजता र सरलताको छनक भेटिनँ, देखिनँ।

क्यानडा आएको चार महिनादेखि यहाँको जीवनदेखि वैराग्य लाग्न थाल्यो। ‘मनको बह कसैलाई नकह’ भन्ने आहान सम्झिँदै चुपो लागिरहेँ। तर समय बित्दै जाँदा बह नपोखी नहुने स्थिति आयो। मनको बह पोख्नु हल्का हुनु पनि हो, आखिर यसले तनाव पनि त कम गर्छ। मेरो असन्तुष्टि व्यक्तिगत थियो। त्यसको समाधान म आफैंले खोज्नुको विकल्प थिएन। हरेक संक्रमणपछि जीवन सरल होला भन्ने सोचेको थिएँ तर प्रत्येक पाइलापछि झन्झन् केही नमिलेको र कठिनाइ बढ्दै गएझैं हुन्थ्यो।

निजी स्कुलको मास्टरबाट सरकारी क्याम्पसको शिक्षक हुँदा जीवन सरल बन्ला भन्ने आशा थियो। त्यसो भएन। सायद त्यही असन्तुष्टिले क्यानडा पुर्‍यायो। तर सहजताको डोरो त कतै छुटेझैं लाग्न थाल्यो। यस्तो परिस्थिति र मनस्थितिप्रतिको सटीक व्याख्या के होला भनेर खोज्न थालेँ। एउटा शब्द भेटे पनि यसबारे लेख्थेँ भन्ने लागिरह्यो। कम्तीमा आत्मसन्तुष्टि त हुन्थ्यो।

यस्तैमा केही महिनाअघि एउटा पुस्तक हात पर्‍यो। युवल नोआ हरारी लिखित ‘सापिअन्स ः अ ब्रिफ हिस्ट्री अफ हुमनकाइन्ड’ पुस्तकमा मानव विकासक्रमको दौरानमा मान्छेले जीवनलाई सरल बनाउँदै लैजाने सोचाइअनुरूप विकास गरेका जीवनपद्धति र विभिन्न उपकरणको आविष्कार उल्टै कसरी पासो बन्न पुग्यो भन्ने विश्लेषण छ। यो उल्टो परिणामलाई हरारीले ‘लग्जरी ट्र्याप’को संज्ञा दिएका छन्।

हरारीका अनुसार पुरातात्विक खोजले के स्पष्ट पार्छ भने व्यक्तिको जीवन कृषिक्रान्तिको समयमा फिरन्ते पुर्खाको भन्दा कठिन भयो। फिरन्ते पुर्खाले थोरै काम गरे पनि धेरै खान पाउँथे र मानवीय हिंसाबाट हुने मृत्युको अनुभव कम गर्थे। सुरुआती चरणमा कृषिमा लागेका पुर्खाले थोरै खाद्यान्नका लागि पनि लामो समय काम गर्थे र हिंसात्मक घटना कम हुन्थे। उनका अनुसार कृषि क्रान्तिपछि मानिसको जीवनस्तरमा आएको गिरावट नै ‘लग्जरी ट्र्याप’ हो।

उनी भन्छन्, ‘फिरन्ते र सिकारी युगदेखि नै मानिस लग्जरी ट्र्यापमा पर्न थालेको हो। सहज जिन्दगीको खोजीको परिणामस्वरूप मान्छेले कठिनाइ मात्र झेल्यो। यो हाम्रै समयमा पनि जटिल रूपमा रहेकै छ। कति जना कलेज उत्तीर्ण युवाले राम्रो रोजगारी पाएका छन्, जसले पैसा कमाउन कडा मेहनत गरेर ३५ वर्षको उमेरमा अवकाश प्राप्त गरी आफ्नो रुचि र सोखको काम गर्न सक्छन् ? ’

उनको उत्तर छ-दुःखको कुरा जब उनीहरू त्यो उमेरमा पुग्छन्, तब उनीहरूलाई ऋणको भारीले थिचेको हुन्छ, सन्तानको लालनपालन र शिक्षाले किचेको हुन्छ, मध्य सहरमा काम गर्न जान एक परिवारलाई नै दुईवटा कार चाहिएको हुन्छ। र, सबैभन्दा बढी महँगो मदिरा र विदेशमा बिदा मनाउन जान नपाउँदा जीवन जिउनलायक छैन कि भन्ने नैराश्यले घेर्दै लगेको हुन्छ।

त्यो बेला मान्छेले के गर्छ त ? हरारी भन्छन्-काम गर्ने समय बढाउने र दासत्वजस्तो जीवन धकेल्दै जाने।

हामी देश छोडेर किन बिदेसिएका हौं ? सबैको एउटै उत्तर हुन्थ्यो-सहज र सरल जीवनयापन। जवाफले म सन्तुष्ट हुन सकिनँ। विदेशको जीवनशैलीमा सहजता र सरलताको छनक मैले भेटिनँ र देखिनँ।

हरारीका यी विश्लेषण पढ्दै जाँदा नेपाली समाजको डरलाग्दो तस्बिर मेरोसामु देखा पर्‍यो। बाह्र कक्षा उत्तीर्ण गरेपछि सरल र सहज जीवन बिताउन विद्यार्थीका रूपमा अस्ट्रेलिया र क्यानडा आएका युवाहरूको बिजोगको चित्र झलझली आँखामा आए। अस्ट्रेलिया र लन्डनका कलेज बन्द हुँदा बर्बाद भएका नेपाली विद्यार्थीका कथा ‘लग्जरी ट्र्याप’का दुःखान्त पाटा हुन्।

परिवारको समृद्धिका लागि खाडीमा पसिना बगाइरहेको नेपाली युवा होऊन् वा खाडीको डान्सबारमा आनन्द खोज्दै गरेकी नेपाली युवती-दुवै वर्ग ‘लग्जरी ट्र्याप’मा निस्सासिएका छन्।

त्यसो त बसाइँ सरेर क्यानडा आएको एउटा केटोको कथा पनि उस्तै छ। बहादुरीपूर्वक एक दुई वर्ष काम गरेपछि उसलाई कार चहियो। कारको अर्थ बढी काम गर्नु हो किनकि उसले ग्यासको पैसा तिर्नुपर्छ र त्योभन्दा बढी पैसा कारको बिमा। दुई÷चार वर्ष काम गरेपछि उसलाई घर चाहियो, कामको घण्टा नबढाई त उसले किस्ता तिर्न सक्दैन। ऊ बहादुरीपूर्वक सातै दिन काममा व्यस्त हुन्छ। चार÷पाँच वर्ष काम गरेपछि बिदा मनाउन देशविदेश जानै पर्‍यो। बिदा अर्थात् अतिरिक्त समय पनि काम। बल्लतल्ल कम्पनीबाट बिदा लिएर ऊ ‘बिच’ पुग्छ। न्युयोर्कको स्वतन्त्रताको मूर्तिअगाडि फोटो खिच्छ। मूर्तिवत् भइसकेको जीवन लुकाउँदै उसले मुस्कुराएको फोटो फेसबुकमा अपलोड गर्छ। उसलाई अन्तर्मनबाट थाहा छ-‘लग्जरी ट्र्याप’ले उसको जीवनचाहिँ डाउनलोड भइसकेको छ। यो सन्दर्भ सुहाउँदो अभिव्यक्तिका लागि नारायणगोपालको गीत छ-मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ...।

जति सोच्यो, उति विकराल चित्र मानसपटलमा गाढा बन्दै जान्छ। प्रत्येक अभिभावक बाह्र कक्षा सकिएपछि आफ्ना छोराछोरी विदेश जाऊन् भन्ठान्छन्। उनीहरूलाई आफ्ना छोराछोरी विदेशमा छन् भनेर दुईचार जनाका अगाडि गफ लगाउने लालसा छ। छोराले डलर पठाउला र घरको तला थपूँला भन्ने आशा छ। समाजमा हुर्कंदै गरेको एउटा डरलाग्दो ‘लग्जरी ट्र्याप’को संकेत हो यो।

निजी स्कुल र कलेजले अंग्रेजी माध्यममा पढाएर अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादनका नाममा विदेश पैठारी गर्ने विद्यार्थी उत्पादन गरे। रमाइलो के छ भने गाउँँका सरकारी स्कुलले अंग्रेजी माध्यममा पढाउन विदेशमा रहेका आफ्ना पूर्वविद्यार्थीसँग चन्दा माग्छ, अर्को ‘लग्जरी ट्र्याप’। यसरी ‘लग्जरी ट्र्याप’का दुष्चक्रले हामीलाई घेर्दै लगेको छ।

लुकाउनुपर्ने कुरा के छ, बीए–ए–एल–एल–बाल, बाल माने भकुण्डो भनेर अंग्रेजी सिकेको मजस्तो मनुवाले पनि क्यानडामा काम गरेर खाएकै छ। बुझ्नेलाई मातृभाषा श्रीखण्ड, नबुझ्नेलाई इङ्लिस घोकेर अंग्रेजी बिँड।

हरारी भन्छन्-फिरन्तेको जीवन सहज थियो र किसानले बढी मेहनत गर्नुपथ्र्यो। उनीहरू भोकमरीबाट बच्न र भविष्यको सुरक्षाका लागि बढी समय काम गर्थे। समयक्रममा उनीहरूलाई महसुस भयो-जति बढी काम गर्‍यो उति नै बढी अन्न उत्पादन गर्न सकिन्छ र हिउँदका लागि जगेडा गर्न सकिन्छ। यही ‘लग्जरी’ले उनीहरूलाई समस्यामा पार्‍यो जुन उनीहरूको कल्पनाबाहिरको कुरा थियो।

हरारीको तर्क छ, अधिशेष खानेकुराले सन्तान उत्पादनलाई प्रोत्साहन गर्‍यो र समयक्रममा सन्तानको लालनपालनका लागि खेतमा दिनरात काम गर्नुपर्ने जिम्मेवारी थपियो। खाद्य प्रचुरताले गर्दा आमाहरूले बच्चालाई स्तनपान गराउन छाडे, जसले गर्दा बच्चाको प्रतिरक्षा प्रणाली कमजोर भयो र उनीहरू मृत्युको सिकार हुन पुगे। अधिशेष खानेकुराले उनीहरूले आफ्नो घर, अन्न भण्डार र मिलहरू चोरहरूबाट बचाउनुपर्ने बाध्यता पनि भयो।

अनि भविष्यको सुरक्षाका लागि मान्छेले धनसम्पत्ति जम्मा गर्न थाले। संग्रह गर्ने प्रवृत्तिले मान्छेले दुःख मात्रै पाए। त्यो दुःख पाउने क्रम जारी छ। ‘सात पुस्तासम्मलाई पुग्ने सम्पत्ति’ भन्ने नेपाली आहानै छ।

नेपाली राजनीति पनि ‘लग्जरी ट्र्याप’मा खस्दै गयो। राणाशासनको अन्त्यपछि स्वतन्त्रताको अनुभूति गर्न नपाउँदै पञ्चायतको ‘शोषणरहित समाजको सिर्जना’को ‘लग्जरी ट्र्याप’, २०३६ सालको जनमतसंग्रहपछिको उकुसमुसकमा २०४६ सालको बहुदलीय व्यवस्थाको ‘ट्र्याप’ आयो। २०५२ सालपछिको एक दशक ‘जनयुद्ध’को राजनीतिक द्वन्द्वपश्चात्को समयमा लडाकू र कमान्डर नै ‘लग्जरी ट्र्याप’मा फसे। २१औं शताब्दीको ‘साम्यवादी’ नाराको ‘लग्जरी’ले लडाकुलाई लठ्याए पनि हाल शीर्षस्थ नेतृत्व आफ्नै सहकर्मीसँग त्रस्त भएर ‘ट्र्याप’मा परिरहेका छन्।

‘समृद्ध नेपाल र सुखी नेपाली’को ‘लग्जरी’युक्त नाराले गणतन्त्र नेपालको एउटा ‘कम्युनिस्ट’ले बालुवाटारको आठ आनामा देखेको ‘लग्जरी’ले उनलाई मात्र ‘ट्र्याप’मा पारेको होइन, सिंगो राजनीतिक संस्कार नै त्यसमा फसेको मान्न सकिन्छ।

जब मान्छेलाई कुनै ‘लग्जरी’मा बानी लाग्छ, उसले त्यसलाई स्वीकार्छ। अनि त्यसपछि उसले हाफ्नो आधार बनाउँछ। अनि ऊ त्यस्तो बिन्दुमा पुग्छ जहाँ ‘लग्जरी’बिना बाँच्न असम्भव हुन्छ। यो जालमा फस्नेले नयाँ फेसन लगाउँछन्, नयाँ कार गुडाउँछन्। तर वित्तीय स्वतन्त्रता हासिल गर्न सक्दैनन्। ‘लक्जरी ट्र्याप’को रोचक पक्ष के हो भने यसले मानिसलाई शानदार जीवनशैली पछ्याउन घचेटिरहन्छ। यसबाट बच्ने एउटै उपाय कुनै पनि वस्तु आफ्ना लागि आवश्यकता हो कि विलाशिता छुट्याएर बच्न सक्नु हो।

हरारीका अनुसार इतिहासको थोरै फलामे कानुनमध्ये एउटा कानुन यो हो कि ‘लग्जरी’ कहिलेकाहीँ आवश्यकता बन्छ र बाध्यात्मक परिस्थिति सिर्जना हुन पुग्छ अनि बाध्यतालाई पूरा गर्नुपर्ने हुन्छ। औद्योगिक र सूचनाको क्रान्तिले पनि समान खालको परिणाम निम्त्याएको छ।

गत वर्ष अमेरिकाको फ्लोरिडा पुग्दा मलाई यस्तै अनुभूति भयो। त्यहाँ परिवारका प्रत्येक सदस्यसँग एकएकवटा कार थियो। तर यो आवश्यकताले खडा गरेको बाध्यात्मक परिस्थिति थियो। यो ‘ट्र्याप’बाट फुत्कने स्थिति त्यहाँ थिएन किनकि त्यहाँ सार्वजनिक गाडी चल्दैनथे। उता न्युयोर्कमा कार बाध्यताभन्दा बढी ‘लग्जरी’ हो।

मान्छेले आफ्नो जिन्दगीको ‘लग्जरी ट्र्याप’ पत्ता लगाउने काम आफैंले गर्नुपर्छ। नयाँ कार ‘लग्जरी ट्र्याप’ हो या आवश्यकता भन्ने कुरा आफैं जान्ने विषय हो। तपाईंको कार ‘लग्जरी’ हो भने पनि यो अरू कसैको चासोको विषय होइन। यत्ति बुझ्न सकियो भने ‘कार’को सोखले कम्तीमा जीवन ‘झार’ हँदैन।

पछिल्ला केही दशकमा समय बचाउन वासिङ मेसिन, भ्याक्युम क्लिनर, डिसवासर, टेलिफोन, मोबाइल, कम्प्युटर, इमेल आदि अनगन्ती उपकरणको आविष्कार भएको छ। यिनले जीवनलाई आनन्दित बनाउलान् भन्ने मानिसको कल्पना थियो। तर के यी सबको उपलब्धता हुँदाहुँदै पनि हामीले आनन्दित जीवन बाँचेका छौं त ?

उत्तर दुःखद छ। हामीले आनन्दित जीवन बिताएका छैनौं। वासिङ मेसिनले कपडा धुन त सजिलो गरायो तर एक महिनामै कपडा लगाउनै नहुने गरी खुइलिने गरेको छ। कथित ब्रान्ड्रेड कपडा वासिङ मेसिनमा धुनुपर्छ भन्ने मान्यता पनि आखिर मान्छेलाई पैसा कमाउन दौडाउने एक नवउदारवादी नारा मात्र रहेछ। फेसबुकले कुराकानी गर्न त सहज बनायो तर अनावश्यक रूपमा गफ चुटेर समय बर्बाद पनि पारिरहेको छ। इन्टरनेटको पोर्नोग्राफीले बलात्कारलाई बढावा दिएको अनुसन्धान पनि सार्वजनिक भएका छन्। यसरी सूचना र प्रविधिको युगमा पनि हामी यी ‘लग्जरी ट्र्याप’मा फसिरहेका छौं।

‘लग्जरी ट्र्याप’बाट बच्ने ज्ञान सिद्धार्थ गौतमको जीवन र बुद्ध बनेपछिको उनको उपदेशमा छ। दरबारको ‘लग्जरी’लाई त्यागेर ज्ञानको खोजीमा भौतारिएका सिद्धार्थबाट हामीले के सिक्नुपर्छ भने अहिलेको युगमा दरबार नै नत्यागे पनि आपूmलाई खुसी नदिने कुरा त्यागेमा केही आनन्द त पक्कै हुन्छ। बुद्धले आफ्नो सत्य आफैं खोजेझैं आफ्नो जीवन केही हदसम्म भए पनि आनन्दित बनाउन हामीले आफ्नो विलासिता र आवश्यकताको भेद आफैंले खुट्याउनु पर्छ।

बुद्धका चार आर्यसत्यलाई बुझ्न मात्र सके पनि धेरै नै हल्का अनुभूति हुन्छ। जीवनमा दुःख छ र दुःखका कारण र तिनका उपाय छन् भन्ने वस्तुगत शिक्षाले हामीलाई ‘लग्जरी ट्र्याप’बाट निस्कन सहयोग गर्छ। धम्मपदको एक सूत्र छ—

एक आनन्दित जीवन जिउनका लागि

हामी त्यही हौं, जे हामी सोच्छौं

हाम्रो सबै कुरा हाम्रो विचारसँगै उदय हुन्छ।

आफ्नै विचारका साथ हामी संसार बनाउँछौं।

शुद्ध मनले बोल्ने र कर्म गर्नाले

खुसीले तिमीलाई, तिम्रो छायाले झैं पछ्याउँछ।

[email protected]


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.