मरीचिको मर्म

मरीचिको मर्म

मान्छेका भोगाइ विचित्रका चित्रविम्ब बनेर पोखिएका हुन्छन्। पीडा बिर्सेर जीवनको गहिराइमा डुब्दै वा डुबुल्की लगाउँदै र उत्रँदै गर्ने थुप्रै पारखीहरू हुन्छन्। कथासंग्रह ‘मरीचिका’ बोकेर आएका महेश थापा यहाँ पृथक् धरातलमा पौरख गरिरहेका छन्। ‘मोटर न्युरोन डिजिज’का कारण अशक्त/अपांगताको अवस्थामा रहेका उनी नियतिलाई पछार्दै सिर्जनाका खातिर विषम परिस्थितिमा कष्टकर संघर्ष गर्दै छन् जुन जो कोही हामी क्षमता भएको ठान्नेहरू गर्न सकिरहेका छैनौं।

नियतिले कुइँनेटामा पुर्‍याइसक्दा पनि हिम्मत, आँट, जोस र साहस नगुमाएका थापा हाम्रो पुस्ताका लागि अनुपम दृष्टान्त हुन्। पढी अबुझ हौं र छौं भने उनी बज्ररूपी झापड हुन्। हामीलाई सायद समय यही तुफानी झापड हान्दै छ। हामी ठान्दै छौं, यो त महेश थापालाई पो हानेको थप्पड हो त !

हरेक प्राणी बाँच्न चाहन्छ तर कसरी ? बचाइ र भोगाइको शैली भने अवश्य सबै मान्छेको समान र एकै हुँदैन। धेरै मान्छे जो व्यक्ति सत्तामा लिप्त हुन्छन् तिनको बचाइ र भोगाइ वैयक्तिक हुन्छ। जो अरूका लागि समाजका लागि, दुनियाँ वा जगत्का लागि बाँच्दै र भोग्दै हुन्छ ऊ पृथक् हुन्छ। बहुआयामिक सोच, चेतना, चिन्तन र दृष्टिकोण उसका पहिचान बन्छन्।

यस्तै अरूका लागि बाँच्न कृतसंकल्पित स्रष्टा थापा सरदर मान्छेहरूका भीडमा फरक भएको दृष्टान्त उनका कृति र रचनाहरू नै साक्षी छन्। यसर्थमा पनि महेश भीडहरूका बीचमा पनि एउटा अलग पहिचान बोकेका प्रेरक व्यक्तित्व हुन् जसले समस्त मानव समाजलाई केही गर्नैपर्ने कर्तव्यको पाठ सिकाएका छन्।

‘मरीचिका’भित्र १६ वटा कथा संकलित छन्। पहिलो कथा मरीचिकाबाट संग्रहको नाम जुराइएको छ। मरीचिकाको अर्थ मृगतृष्णा हुन्छ। समाजका विविध विषयवस्तु, वातावरण, स्वाद, बान्की, वर्ग, क्षेत्रजस्ता पक्षको प्रतिनिधित्व गर्नु विवेच्य संग्रहको पहिचान मान्नुपर्छ। सर्जक सिर्जनाभित्र स्रष्टा र द्रष्टा दुवै बन्न पुग्छ। पात्र भएर कतै आधुनिक प्रविधि, कतै विज्ञान कतै यथार्थ समाज, कतै स्वैरकल्पना, कतै भ्रम, कतै व्यक्तिगत जीवन चिन्तन, त कतै असल व्यक्तिका रूपमा पोखिएका छन् तर यस्ता असलहरू भने ओझेलमा छन्।

विषय, शैली र प्रस्तुतिका हिसाबले कथाहरू फरक स्वादका छन्। जिज्ञासा र उत्कण्ठाले मस्तिष्क मन्थन गराउँछ।

‘मरीचिका’ र ‘द द द’ विज्ञान कथा हुन्। ‘यात्रा’मा इच्छामृत्यु जस्तो नवीन र गम्भीर विषयलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। विश्वेश्वरप्रसाद कोइरालाले लेखेको शैलीको होड महेश थापाले गरेका होइनन्। यो त पुनर्कथन वा पुनर्लेखन हो। अथवा यसलाई विपठन भने पनि विमति नहोला। थापाका बाँकी अरू कथाहरू सामाजिक धरातलका यथार्थ प्रस्तुति हुन्। उनका कथाका थरीथरी पात्रको ऊहापोह भाव कलात्मक लाग्छन्। हरिशरणको मनोभाव होस् वा अभयदानभित्रका प्रहरी र ‘म’ पात्रका मनोभाव नै किन नहुन् पृथक् छन्। सुनाखरीको विवशता, वैभवको भोगचलन, समर र उत्पलाका आन्तरिक र बाह्य जीवन भोगाइ व्यक्तिगत भएर पनि सामाजिक बन्न पुगेका छन्। आधुनिक जीवनशैली रोजेका महेशका पात्रहरू कतै व्यष्टि स्वार्थमा चुर्लुम्म डुबेका छन् भने कतै समष्टि स्वार्थमा समाहित भएका छन्।

पुरु, उर्वशी, मेनकाजस्ता पौराणिक सन्दर्भका पात्रलाई रोबोटका रूपमा उभ्याएर ‘मरीचिका’मा महेश आजको विज्ञानको चरम विकासको झल्को पस्कन्छन्। आफ्नो अतृप्त मनको इच्छापूर्ति र सम्बन्धमा पूर्णताको खोजी गर्दै रोबोटसँग सम्बन्ध गाँस्न पुगेको पुरुको चाहना कसरी मरीचिकामै खुम्चिन्छ भनेर अत्यन्त कलात्मक ढंगले प्रस्तुत गरिएको छ। होड–२ मा महेश विपठनको दृष्टिचेतना भएर रहेका छन्। यसले कोइरालाको भन्दा फरक दृष्टिचेत पस्केको छ। ‘निम्तोपत्र’मा सामाजिक तथा पारिवारिक उच्चता र न्यूनताको झल्को छ। यही हो हाम्रो सामाजिक नियति भन्ने कुराको गतिलो दृष्टान्त यस कथाले प्रस्तुत गरेको छ। द्वन्द्वकालमा सर्वसाधारण र सुरक्षाकर्मी दुवैको संत्रस्त मनोविज्ञानको विषय सन्दर्भलाई ‘अभयदान’मा सुन्दरसँग बुनिएको छ।

‘अभीप्सा’ जीवनलाई योगका रूपमा नभई भोगका रूपमा लिने उपभोक्तावादी चिन्तनले ग्रस्त एक सहरी युवती र बूढो कोअर्डिनेटरको कथा हो। मानवीय मूल्य र भावनालाई तिलाञ्जली दिई भोगको पछि दौडँदा उसले वस्तुलाई भोग्छ वा वस्तुका निम्ति ऊ स्वयं भोगिइन्छ भन्ने कुरालाई उजागर गर्ने यो कथाको प्रस्तुति प्रभावशाली छ। त्यस्तैगरी ‘पुच्छर’मा काल्पनिक संसार तथा अदृश्यलाई दृश्यमा बदलेर मदहोस र लठ्ठ भएको मानव जगत्को लहर कथामा प्रस्तुत छ। स्वैरकाल्पनिक यस कथामा किचकन्याको विम्बमार्फत बजारतन्त्रमाथि प्रहार गर्न खोजेको प्रतीत हुन्छ।

‘द द द’ कथाले उन्नत विज्ञान प्रविधि र सञ्चारलाई पौराणिक सन्दर्भका कथ्य र त्यहाँका पात्रका माध्यमबाट प्रष्टीकरण दिएको छ जुन निकै रोचक र तथ्यपूर्णसमेत छ। यसले सुदूर ग्रहबाट आएका एलियनसँग उपनिषद्को एउटा कथालाई जोडेर समाजमा उच्च, मध्यम र निम्न वर्ग कसरी अस्तित्वमा आए भन्ने दर्शाउन खोजेको छ। ‘प्रेमको लाली’मा प्रेमको स्वप्नील कल्पनालाई भौतिक अपांगताले ढाकेपछि ओठे आदर्श गर्लम्म ढलेर मान्छे कसरी द्वैध चरित्र देखाउँछ भन्ने कुरालाई व्यंग्यात्मक रूपले पस्केको छ। ‘पलायन’ आर्थिक र शैक्षिक रूपमा सबल हुँदाहुँदै पनि प्रत्यक्ष/परोक्ष जातीय विभेदबाट आजित भई विदेश पलायन भएको एक दलित युवाको कथा हो।

‘क्रान्तिको पोको’ले माओवादी विद्रोहका समयमा नेपाली समाजले झेल्नु परेको दु :खद् स्थितिलाई उदांगो पारेको छ। क्रान्तिका नाममा नेपाली समाजमा निम्न र निम्नमध्यम वर्ग तथा अझ नारीहरूले भोग्नु परेका यथार्थ विषयको प्रस्तुति छ। ‘धर्मो रक्षति रक्षित :’मा धर्मका नाममा, कर्तव्यका नाममा, सनातन परम्पराका नाममा चलेका र चल्ने कर्महरू सबै भ्रष्टाचारमा रुमल्लिएका छन् भन्ने सन्दर्भ कथावस्तुबाट पुष्टि गरिएको छ। त्यस्तै ‘दाउ’मा सर्जक थापाले जीवनको नै दाउ लगाएको कथा सन्दर्भ पस्केका छन्। अदृश्य रहस्यको दृश्य कथाका रूपमा दाउ रचिएको छ।

‘कल्पभीर’मा मृत्युको निकट पुगेपछि मात्र मान्छेले जीवन बुझ्ने दर्शनलाई किंवदन्तीमा चलेको रहस्यमय कल्पभीरको माध्यमबाट प्रस्तुत गरिएको छ। ‘मोबाइल’मा सर्जक थापाले समर र उत्पलाको कोसी थुम्कोबाट सुरु भएको प्रेमलाई काठमाडौं प्रवेश गराएर विस्तारित र प्रसारित गराएका छन्। मोबाइलको आगमनले सहजतासँगै शंका र अविश्वास बढाएर हाम्रो व्यक्तिगत र पारिवारिक जीवनलाई कसरी धरमर्‍याएको छ भन्ने सामाजिक यथार्थलाई टपक्क टिपेको छ। मोबाइलका कारण समर र उत्पला दुवैको व्यवहार सन्दीग्ध त प्रतीत हुन्छ तर सावित हँदैन। ‘अपहृत हाँसो’मा एउटा लाटाको कथा प्रस्तुत गरिएको छ। ‘कसैलाई बिताएन उसले, कमेरो जस्तै उसको जीवनको क्यानभासमा कुनै गेरु पोतिएन। एकरंगी दैनिकीमा लोटिएर ऊ स्वयम् बित्तै गयो (थापा, २०७५  : २०१)।’ यस उद्धृतांशले सरल, नि :स्वार्थ र अकलुषित जीवन दर्शनलाई बुझाउँछ। प्राकृतिक हाँसो खोसिएको थियो, अपहरणमा परेको थियो, जसले म पात्रको प्राकृतिक उपस्थितिलाई पनि सहज र स्वीकार्य हुन दिएन।

महेश थापाका कथामा शब्दखेलको कलात्मक प्रस्तुति छ। विषय, शैली र प्रस्तुतिका हिसाबले कथाहरू फरक स्वादका लाग्छन्। जिज्ञासा र उत्कण्ठाले मस्तिष्क मन्थन गराउँछ। उच्च र आदर्श कथात्मक भाव सम्प्रेषण गराउँछ। बोधमा पाठकबीच विविधता भए पनि समग्रतामा समान भाव सञ्चारित हुन्छ। शब्द, शैली र प्रस्तुतिले यो सुविधा पाठकले पाएका हुन् भन्ने लाग्छ। ‘ज्ञान विज्ञानले हात जोड्नुपर्छ कर्ममा’ भनेर बालकृष्ण समले त्यति अगाडि व्यक्त गरेको भाव आज हामी महेशका कथामा पढ्न सक्छौं। दूरदर्शी कथ्य चेत स्रष्टा थापाको कलमी क्षमता, कलमी जादु हो। यस्तो विषम शारीरिक अवस्थाबीच ‘अनस्क्रिन किबोर्ड’मा माउसले क्लिक गर्दै उनले कसरी कल्पना गरे होला ? कसरी लेखे होला ? खै उत्तर कसरी खोजौं ?

पत्रकार तथा बुद्धिचालको अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका थापाको यसअघि अल्पविराम (आत्मकथा, २०७०) र नमोनम : (व्यंग्यसंग्रह, २०७४) प्रकाशित छन्।

पुस्तक  : मरीचिका

लेखक  : महेश थापा

प्रकाशक  : सांग्रिला प्रकाशन

पृष्ठ  : २०२

मूल्य  : २९५


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.