‘सानो मन’ अ म्युजिकल लभ स्टोरी
काठमाडौं : नेपालमा कमेडीपछि सबैभन्दा बढी प्रेमकथा बिक्छ। यही मान्यतालाई आत्मसाथ गर्दै निर्माण भएको फिल्म हो सानो मन। प्रेम कथानक चलचित्रले एउटै सूत्र घुमाइफिराई प्रयोग गर्छ। यो सिलसिलालाई सानो मनले पनि निरन्तरता दिएको छ।
यो म्युजिकल लभस्टोरीले दर्शक रुवाउन हरसम्भव प्रयास गरेको छ। सुरुदेखि अन्त्यसम्म यो प्रयास चलिनै रहन्छ। साँघुरो कथामा बुनिएको फिल्मको सेन्टिमेन्टले दर्शकको आँखा ओभाउँदैनन्।
वीरगन्ज बस्दै आएकी सानिया (शिल्पा मास्के) सुरुदेखि एनजाइटीको सिकार छिन्। आफ्नो रोगसँग जुध्न उनी निरन्तर औषधि सेवन गरिरहेकी छन्। सानियाकी आमा (गौरी मल्ल) पतिसँग सम्बन्धविच्छेद गरेर बसेकी छन्।
काठमाडौं आएर उनी आफ्ना बुवालाई भेट्न खोज्छिन्। यत्तिकैमा उनको भेट बच्चैदेखिको साथी निर्माण (आयुषमान जोशी ) सँग हुन्छ। त्यसपछि कथाले गति लिन्छ। निर्देशक सुयोग गुरुङले फिल्म स्तरीय बनाउन मेहेनत गर्दा गर्दै उनी केही ठाउँमा चिप्लिएका छन्। कथाको आयतन साघुँरो छ। समीर सुनुवार र गुरुङको संयुक्त लेखन रहेको फिल्मको स्क्रिप्टमा चलचित्रले उठाएका कतिपय मुद्दा टुंग्याइएको छैन।
पहिलो हाफमा सानियाले निर्माणलाई लेखेको पत्र दोस्रो हाफमा महत्त्वहीन भएको छ। सानिया बिरामी रहेको विषय दोस्रो हाफपछि प्रसंगविहीन बन्छ। निर्माणले आफूलाई मन नपराउने थाहा पाएपछि पनि सानियाको स्वभावमा कुनै परिवर्तन आउँदैन। यद्यपि निर्देशक तथा लेखकले सानो मनको औचित्य पुष्टि गर्ने मौका छोडेका छैनन्।
फिल्म ‘लक्जरियस’ बनाउने कोसिस गरिएको छ। दृश्यहरू घरभित्रको कोठा अफिस र होटेल तथा रेस्टुरेन्टमा केन्द्रित छन्। यसले फिल्म हेर्नेको आँखालाई शीतलता दिन्छ।
नायिका शिल्पाले आफ्नो भूमिकालाई न्याय गरेकी छन्। यता आयुषमान आफ्ना सानासाना हर्कतबाट फिल्मभरि दर्शकलाई हँसाउँछन्। फिल्ममा गौरी मल्ल, विशाल पहारी र सक्षम सुवेदीको अभिनय बढी प्रशंसनीय छ। फिल्मका गीतसंगीतले भने दर्शकको मन छुन्छ। आधुनिक युवा पुस्तालाई मन पर्ने शैलीका गीत फिल्ममा छन्। कलाकारलाई स्क्रिनमा सुन्दर देखाउन निकै मेहेनत गरिएको छ।