जीवन एक खेल
पुष्कर शाहीको दैनिकी अहिले पनि फुटबल हो। उनी खेल सामग्री बोकेर बालबालिकासँग जुटिहाल्छन्, मैदानमा। खेलसँग नाता जोडिएको ४८ वर्ष भयो। उनी थाक्ने कुनै सुरसार छैन, भइगए- साठी वर्ष
भीमदत्त नगरपालिका–१८, कटानका शाही फुटबलका पर्याय हुन्। २०१६ पुस १७ मा बर्मामा जन्मिएका शाही पछि कञ्चनपुरको महेन्द्रनगर आए, परिवारसहित। उनको फुटबल यात्रा पनि यहीँबाटै सुरु भयो।
‘बुवा बर्मामा आर्मी हुनुहुन्थ्यो। फुटबलको राम्रो खेलाडी हुनुहुन्थ्यो। दाइ पनि फुटबलको खेलाडी थिए’, शाहीले भने, ‘मलाई घरबाटै प्रेरणा मिलेकाले खेलमा निरन्तर लाग्न सहज भएको हो।’
महेन्द्रनगरका गल्ली हँदै विभिन्न खुला मैदानमा उनले फुटबल खेल्न सिके। विभिन्न प्रतियोगितामा सहभागी भएर पुरस्कार, मेडलसमेत हात पारे। उनको निरन्तरको मेहनत र लगावकै कारण अहिले पनि उनी सक्रिय भएर लाग्न सकेका हुन्।
हरेक दिन दिउँसो ४ देखि ७ बजेसम्म ससाना बालबालिका समेटेर खेल सामग्रीसहित उनको उपस्थिति स्थानीय खुलामञ्चमा हुने गर्छ। विभिन्न उमेर समूहका बालबालिकादेखि किशोर÷किशोरीसम्म उनका सहपाठी हुन्छन्। उनीहरूसँगै दैनिक तीन÷चार घण्टा खेलेरै बित्ने गर्छ शाहीको। ‘मलाई फुटबलले नै अहिलेसम्म तन्दुरुस्त र मेहनती बनाइराखेको छ’, उनी भन्छन्, ‘शरीरमा स्फूर्ति रहेसम्म फुटबल खेलको विकास र खेलाडी उत्पादनमै केन्द्रित हुनेछु।
झन्डै ३० वर्ष नियमित खेलाडी भएर बिताएका शाहीले १८ वर्षदेखि लगातार प्रशिक्षण दिइरहेका छन्। उनले महेन्द्रनगरको खुलामञ्चमा बालबालिका र किशोर÷किशोरी बटुलेर फुटबल खेलाउन थालेका हुन्। विभिन्न क्लब, राष्ट्रिय टोलीमा समेत सहभागी भएर उनले फुटबल खेलेका छन्। २०५२ सालमा जिल्ला फुटबल संघ गठन हुँदा संस्थापक अध्यक्ष भएपछि शाहीमा फुटबललाई अझै अघि बढाउने मोह बढ्यो।
भुटानमा सन् २०१७ मा साफ च्याम्पियनसिपका लागि १८ वर्षमुनिको फुटबल खेलाडीको टोलीमा सहायक प्रशिक्षक भएर पुगेका थिए, शाही। उनकै प्रशिक्षणमा टोलीले गोल्ड मेडल प्राप्त गरेको थियो। उनले प्रशिक्षण दिएका थुपै्रै खेलाडी अहिले अन्तर्राष्ट्रिय खेलाडी छन्। अधिकांश अहिले नेपालका विभिन्न डिभिजन लिग र क्लब तथा विभागीय टोलीमा समेत समावेश छन्। फुटबलको महिला राष्ट्रिय टोलीमा उनकै प्रशिक्षणमा उत्पादन भएका पुनम फर्सवान, प्रियंका राना, अञ्जली चन्द समावेश छन्।
त्यस्तै पुरुष फुटबलतर्फ अन्तर्राष्ट्रिय खेलाडी नीराजन मल्ल, दीपक भण्डारा लगायतका खेलाडी पनि उनकै उत्पादन हुन्। ‘स्थानीय खेल मैदानमा खेलाडीलाई प्रशिक्षण दिन सुरु गर्दा निकै कठिनाइ भोग्नुपथ्र्यो। खेल सामग्री हुन्थेन’, सुरुआती दिन सम्झँदै उनले भने, ‘केही आफ्नो तलबबापतको रकम त केही अन्यसँग सहयोग मागेर मैले प्रशिक्षण दिन सुरु गरेको हुँ।’ अहिले पहिलेभन्दा केही सहज भएको उनले बताए। बालबालिका, किशोर÷किशोरीदेखि सिनियर खेलाडीसमेत गरेर विभिन्न विधामा विभाजन गरी उनले दिनहुँ एक सयभन्दा बढीलाई प्रशिक्षण दिने गरेका छन्। अहिले जिल्ला फुटबल संघ, एन्फाले केही खेल सामग्री प्रदान गर्न थालेपछि भने उनमा झनै खेलाडी उत्पादन गर्न हौसला बढेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को सहायक प्रशिक्षक रहेका उनी एन्फाको ‘बी’ तहका प्रशिक्षक हुन्। उनी २०६० देखि एन्फामा आबद्ध छन्। एन्फाको नेतृत्वमा हुने विभिन्न खेलमा उनको सहभागितामा टोली समावेश हुने गरेको छ। ‘मेरो जीवनको सबै ऊर्जावान् समय फुटबल खेलको विकासमा बित्यो’, उनले भने, ‘फुटबललाई अझै माथि उठाउन दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य छ।’
सरकारी सेवामा भएको भए अवकाश पाइसक्थे शाहीले। तर उनले फुटबलको विकासमा योगदान दिए पनि कुनै सेवासुविधाको आस भने गरेनन्। अहिलेसम्म राखेपको प्रशिक्षक नियुक्त हुन सकेका छैनन् उनी। राखेपकै तलबभत्ता, सेवासुविधा खाने प्रशिक्षकले दिन नसकेको योगदान उनले फुटबल खेलको विकासमा दिए पनि राज्यले भने कहिल्यै उनको मूल्यांकन गर्न सकेन।
‘मैले कहिल्यै राज्यबाट मलाई जागिर चाहियो भनिनँ’, उनले भने, ‘राज्यले बुझ्ने कुरा हो, राज्यले बुझ्न सकेन।’ उनले जीवन अवधिभर आफैंले दर्जनौं प्रतियोगिता खेलेका छन्।
बिहान उठेर दिउँसोसम्म घरको करेसाबारीमा बिताउने शाहीले दैनिक चार घण्टा फुटबललाई दिने गरेका छन्। ‘फुटबल खेलको भविष्य राम्रो छ। अहिले पहिलेभन्दा धेरै परिवर्तन भइरहेको छ’, उनले भने, ‘अझै राज्यको निकायबाट सहयोग भएमा उत्कृष्ट खेलाडी उत्पादन गर्न योगदान दिनेछु।’
राज्यले प्रत्येक जिल्लामा आवश्यक भौतिक पूर्वाधार र खेल सामग्रीको व्यवस्था गर्ने हो भने खेलकुदको विकासमा फड्को मार्ने उनी बताउँछन्। पछिल्लो पुस्ताले पनि फुटबल खेलको विकासमा योगदान दिनुपर्ने उनको भनाइ छ।
‘कुनै पनि सेवाबाट अवकाश पाएर आराम गर्ने समय हो यो’, उनी भन्छन्, ‘म भने अझै युवाजस्तै महसुस गर्छु। नियमित फुटबल र अझै खेलाडी उत्पादन गर्ने काममा सक्रिय छु।’
यो उमेरमा समेत खेलप्रतिको लगाव देखेर खेलाडी पनि खुसी छन्। एन्फाको सहायक प्रशिक्षक भएबापत पाउने केही पारि श्रमिक र विभिन्न खेलबाट आउने भत्ताले नै उनको खर्च चल्ने गरेको छ। श्रीमती शिक्षक छिन्। ‘परिवारले पनि सहयोग गरेकै छन्। त्यसैले अहिलेसम्म फुटबलको विकासमा लागेको छु’, उनले भने, ‘अहिलेका अभिभावक पनि आफ्ना बालबालिकालाई तन्दुरुस्त बनाउन फुटबल खेलमा सहभागी गराउने गर्छन्।’
कञ्चनपुर मात्र होइन देशका धेरैजसो जिल्लामा फुटबलका लागि आवश्यक मैदान, रंगशाला र खेलसामग्री उपलब्ध छैनन्। राज्यले खेलकुदको क्षेत्रमा राम्रो लगानी गर्न सक्ने हो भने फुटबल लगायतका विभिन्न खेलमा ठूलो उपलब्धि हासिल गर्न सक्ने उनको धारणा छ।