लज्जास्पद हुन्छ भनेर अनुसन्धान गरेको हुँ

लज्जास्पद हुन्छ भनेर अनुसन्धान गरेको हुँ

नेपालको सामाजिक आन्दोलनको अग्रणी विद्रोही महिला योगमाया न्यौपानेका वंशज दिपेश न्यौपाने, ४७, ले ‘योगमायाको सर्वार्थ योगवाणीमा सामाजिक विद्रोह र निर्गुण भक्तिको संश्लेषण’ विषयमा विद्यावारिधि गरेका छन्। गत वर्ष उनको ‘अमर ज्योति योगमाया’ कृति छापिएको छ।

सामाजिक बेथिति हटाउन सरकारलाई चेताउन भनेर विसं १९९८ मा हरिशयनी एकादशीका दिन योगमायासमेत ६८ जनाले अरुण नदीमा हामफालेर जलसमाधि लिएका थिए। यिनै विषयमा त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी विषयका उपप्राध्यापक न्यौपानेसँग गफगाफ  :

 विधावारिधिका लागि योगमायाको विषय नै किन रोज्नुभयो ?

अहिलेसम्म योगमायाको विषयमा ‘सर्वार्थ योगवाणी’लाई गहन तथा बृहत् अध्ययन गरिएको पाइएन। योगमायाको बलिदान, विद्रोह र योगदानलाई विश्वव्यापी गराउन अंग्रेजी भाषामा गरिएको अध्ययनले सहयोग गर्ला भनेर योगमायाको विषय रोजेँ। बारबरा निम्री अजिज तथा माइकल हटलगायतका विदेशी अध्येताहरू आएर योगमायामा अनुसन्धान गर्ने तर हामीले नै योगमायाको वास्ता नगर्नु लज्जास्पद हुन्छ भनेर पनि यसैमा अनुसन्धान गर्ने निर्णय गरेको हुँ।

योगमायाको मुख्य योगदान के हो ?

संसारमा परिवर्तन ल्याउन मानिसहरूको चेतनामा परिवर्तन ल्याउनुपर्छ। कागजमा भएको परिवर्तनले मात्र समाज परिवर्तन हुँदैन। चेतना र चिन्तनमा परिवर्तन नभएसम्म समाजमा कुनै परिवर्तन हुँदैन। तसर्थ योगमायाले भक्तिमार्गको आडमा समाज परिवर्तनका लगि जुन विद्रोह गर्नुभयो, त्यो मानव चेतनाको परिवर्तनका लागि कोसेढुंगा बन्न पुग्यो। भक्तिमार्ग एक शान्तिमार्ग हो जसबाट मानवको चेतनामा परिवर्तन गरी समाजमा परिवर्तन ल्याउन सकिन्छ भन्ने योगमायाको कुरा अरूको भन्दा पृथक् छ।

योगमायाको आन्दोलन र विद्रोहको मुख्य उद्देश्य के थियो ?

तत्कालीन समाजमा धर्म राज्यको स्थापना, सुशासन कायम तथा विकृतिमुक्त समाजको स्थापना थियो। त्यो उहाँको रामराज्य स्थापनाको कल्पना भनेजस्तै थियो। त्यसैले उहाँले आफ्ना वाणीहरूमार्फत तत्कालीन नैतिकवान् समाज निर्माणका लागि तत्कालीन समाजमा भएका राजनीतिक, आर्थिक, धार्मिक, सामाजिक विकृति तथा विसंगतिविरुद्ध सशक्त आवाज उठाउनुभयो।

 योगमायाको आन्दोलन र विद्रोहको मुख्य उपलब्धि के हो ?

वस्तुगत उपलब्धि नदेखिए पनि तत्कालीन राणा शासकहरूलाई समाज परिवर्तनका लागि निकै घचघच्याउनु महान् कुरा हो। कसैले बोल्न टाउको उठाउँदा पनि काटिने समयमा एक नारीले त्यो समाजमा परिवर्तनको साहसिक कदम उठाउनु साधारण कुरा होइन। उहाँको आन्दोलनले मूलत : मानवमा समाज परिवर्तनको चेतना र चिन्तन बढायो। आजसम्मका समाज परिवर्तनका उपलब्धिहरू उहाँका चेतना तथा चिन्तनहरूसँग नै सम्बन्धित छन्। उहाँको यही नै सबैभन्दा ठूलो हाम्रो समाजले बिर्सन नसक्ने योगदान हो। उहाँको अर्को उपलब्धि उहाँकै वाणीहरूको संकलन ‘सर्वार्थ योगवाणी’ हो। ‘सर्वार्थ योगवाणी’मा जुन ज्ञानको भण्डार र मानव चेतना छ, त्यो सामाज परिवर्तनका लागि प्रेरणास्रोत हो।

त्यो आन्दोलन र विद्रोहको सही मूल्यांकन भएको छ कि छैन ?

पहिले योगमायाको आन्दोलन तथा कृति एकदमै ओझेलमा परेको थियो। अहिले विस्तारै उहाँ तथा उहाँले गरेको आन्दोलनको मूल्यांकन हुँदैछ। नेपाल सरकारले उहाँको नाममा हुलाक टिकट प्रकाशन गरिसकेको छ। त्यस्तै विदूषी योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने प्रयास सुरु भइसकेको छ। सरकारले पनि योगमायासँग सम्बन्धित संघसंस्थाहरूलाई वार्षिक एक करोड रुपियाँसम्म बजेट छुट्ट्याएको छ। हामी उहाँलाई राष्ट्रिय विभूतिको सम्मानको माग राख्दै छौं।

 योगमायाको आन्दोलन र विद्रोहको मुख्य कमजोरी के हो ?

संसारमा कुनै पनि मानव पूर्ण हुँदैन तर पनि उहाँ महामानव नै हुनुहुन्थ्यो। महामानवका पनि केही कमजोरी हुन सक्छन्। मेरो अध्ययनले उहाँका कमजोर पक्षहरूलाई भन्दा सबल पक्षहरूलाई केलाउने प्रयत्न गरेको छ। मेरो विचारमा उहाँले आफ्नो आन्दोलन तथा २२ वर्षसम्म गरेको तपस्यापश्चात् प्राप्त ज्ञानलाई बुद्धले जस्तै देशव्यापी तथा विश्वव्यापी गराउन सक्नुभएन।

प्रस्तुति  : लेखनाथ भण्डारी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.