गद्दार

गद्दार

कसैलाई सम्मानसाथ घरमा बोलाउँदा उसले उल्टै नराम्रोसँग चित्त कुँड्याइदिन्छ भने त्यस्तालाई बोलाएर सत्कार गर्नुको के अर्थ ? हो, उसले मेरो आत्मामा गहिरो चोट लगाएको छ। उसको आफ्नो देश रहेन भन्दैमा मेरो देशलाई हियाएर बोलिरहँदा म कसरी सुनिरहेर उसका कुरामा सही थाप्न सक्थेँ !

अमेरिकाबाट परिवारसहित नेपाल आएको साथीको स्वागत गर्दै खाना खाने गरी आउन निम्त्याएथेँ। गएको यतिका वर्षपछि बल्लतल्ल आएकाले उसलाई भेट्ने मनको हुटहुटीले बोलाउन बाध्य पारेथ्यो। त्यसो त यहाँ हुँदा उसका दु :खका दिनमा मैले पुर्‍याएको सहयोगलाई नबिर्सिएको भए आएको एक, दुई दिनमै मलाई भेट्न आउनुपथ्र्यो तर उसले त्यस्तो हतारो देखाएनथ्यो।

लौ, उसको आउने फुर्सद भएनथ्यो भने पनि आफू बसेको होटलमै मलाई बोलाउन पनि त सक्थ्यो। मैले त होटलमा किन बस्छस्, जे जस्तो भए पनि मेरो घर छ, घरमै बस्ने गरी आइज, नभनेको पनि होइन। तर उसले मेरो घरमा आएर बस्न ठाडै इन्कार गरेथ्यो। उसले भनेथ्यो- ‘पहिलेको जसरी बस्न अब कहाँ सकिन्छ र यार ! अमेरिका बसेको १२ वर्ष भइसक्यो भन्ने तलाईं थाहा छँदै छ।        श्रीमती, केटाकेटीले फोहोर, धूलो-मैलोको सिकसिको मान्छन्। मेरै पनि बानी छुटिसक्यो। हामी होटलमै बस्छौं। समय मिलाएर भेटौंला नि।’

ऊ अमेरिकाबाट आएर होटलमा बसेको छ तर म त जे जस्तो भए पनि घरै बनाएर बसेको छु। बोलाउने दायित्व मेरै हो, आफ्नो दायित्वबाट म किन चुकौं भन्ने आत्मनिर्णयसाथ बोलाएथेँ। साथीले निम्तो स्वीकार गरेर मेरो घरसम्म आउने कष्ट गरिदिएकामा लाग्नसम्म खुसी लागेथ्यो।

उसको आगमनको स्वागत गर्दै बैठक कोठामा भित्र्याउँदै गर्दा एकाएक साथीले बोलेका वचनका कारण उसलाई बोलाएर ठूलै गल्ती गरेछु भन्ने निष्कर्षमा पुग्न एकछिन पनि कुर्न परेनथ्यो मैले। आफूले नै आग्रह गरेर बोलाइसकेपछि सत्कार नगरी, खाना नखुवाई पठाउन पनि मेरो नैतिकताले दिँदैनथ्यो। खुवाएर पठाउँदा पनि उसले बोलेका शब्दवाणका कारण मलाई लाग्नुसम्म पछुतो लागिरहेथ्यो।

उसलाई कतिबेला बिदा गरौं र आफू हलुका होऔं भन्ने लागिरहेथ्यो। उसले पनि धेरैबेर बस्ने धीरता देखाएन र खाना खाएर हिँड्ने तरखर गर्न थाल्यो। मैले पनि उसलाई रोक्न कुनै चासो देखाइनँ।

हो, म यतिबेला त्यही पश्चात्तापमा छु। कुनै परिवारलाई एक छाक भात खुवाउँदा पनि ठूलै गल्ती गरेको जस्तो, ठूलै नोक्सानी व्यहोरेको जस्तो लाग्दोरहेछ। अहिलेसम्म कसैलाई खुवाएकोमा त्यस्तो लागेको थिएन। उसैलाई पनि दु :खका दिनमा महिनौं पालेकै थिएँ र पनि कुनै दुखेसो थिएन। यतिका वर्षपछि परिवारसहित आएको साथीलाई एक छाक भात खुवाएकामा पश्चात्तापमा जल्ने अवस्था आउनुले आफैँ लज्जित भइरहेको छु।

‘तैंले बोलाएर दु :खै दिइस् यार, यो धूवाँ-धूलोमा हिँड्नुपर्दा कस्तो उकुसमुकुस हुन्छ। परिवारै बिरामी परिसके। गाडीको जाम उस्तै सास्तीपूर्ण रहेछ, सडकमा पनि खाल्टैखाल्टा। म त बेकारै आएछु जस्तो लागेको छ। एक महिना बसौंला भन्ने थियो, नसकिने रहेछ बस्न ! तराई पनि नजाने निर्णय गरेँ। बुबाआमालाई छिट्टै यतै आउन भनेको छु र उहाँहरू आएपछि दुईचार दिनमै अमेरिका फर्किहाल्ने सोच बनाएको छु। धन्न बेलैमा गइएछ, यो देश कहिल्यै नसुध्रिने रहेछ, तिमीहरूले कहिल्यै विकासको मुख देख्न नपाउने रहेछौ। नेताहरू पनि चोरैचोर रहेछन्। यस्तो देशमा बसेर के उन्नति-प्रगति हुनु, नेपालमा बस्नेहरूको कुनै भविष्य छैन। यस्तो गएगुज्रेको देशमा बसेर त काललाई छिट्टै निम्त्याउनु मात्रै हो।’

साथीले देशको बारेमा धेरै कुरा ओकल्यो। उसले जति ओकल्यो, जस्ता शब्दमा ओकल्यो, ती सबै लेख्न मेरो मनले मानेन। उसले देशमाथि एकाएक गरेको विषवमन मेरो शरीरमा सर्पदंश बनेर प्रवेश गरिरहेको थियो। मेरो शरीर भतभती पोल्न थालेको थियो। सहनै नसक्ने स्थितिमा पुगेको थिएँ तत्क्षण र पनि उसलाई गलहत्याएर निकालिहाल्न मेरो नैतिकताले रोकेथ्यो। यतिबेला ऊ मेरोमा पाहुना बनेर भित्रिएको थियो र म उसलाई पाहुने सत्कार गर्न विवश बनेको थिएँ।

उसलाई यत्ति भनेँ, ‘हेर हिमाल, जे जस्तो भए पनि आफ्नो देश भनेको देशै हो। सबैलाई गाली गर, बरू मलाई जे भन्न मन लाग्छ भन्, कुट्न मन लागे पनि कुट तर देशलाई गाली नगर्। जस्तो भए पनि मातृभूमि भनेको जन्मदिने आमा समान हो। आमालाई गाली गर्नु भनेको मातृत्वमाथि गद्दारी गर्नु हो। तँ देशलाई गाली गरेर गद्दारी गर्दैछस्। तेरा आमाबाबु यहीँ जन्मिएका थिए र पो तँ यहाँको नागरिक भइथिस्। तैँले आफ्नो मातृभूमिको नागरिकता त्यागेर गद्दारी त गरि नै सकिस् तर तैँले गद्दारी गरिस् भन्दैमा देशप्रतिको तेरो विषवमन मैले सहनुपर्छ भन्ने छैन। योभन्दा ज्यादा एक शब्द पनि नबोल् देशको बारेमा। हामीलाई आफ्नो देश जस्तै भए पनि प्यारो छ। हामी यहीं संघर्ष गरेर जिइरहेका छौं। हामीलाई यहीं खानलाउन पुगेको छ।

एक दिन यहाँको पनि विकास होला। नभए पनि चलेकै छ। हामी हिम्मत गरेर बसेका छौं। देश छोडेर पलायन हुने सोच बनाएका छैनौं। तँ गइस्, तेरा लागि ठीक गरिस् तर मेरा लागि ठीक गरिनस्। तैंले आफ्नो योग्यता बनाएर, उतै गएर पढेर, तेरो प्रतिभा-विद्वत्ता देखेर अमेरिकाले झिकाएर गएको भए पनि आखिर तँ जन्मिएको त यहीँ होस् नि। त्यो केही नभएर डीभी चिठ्ठाको भर्‍याङ चढेर गएको होस्। तँ यसलाई आफ्नो भाग्य मान्। भाग्य र योग्यता एउटै होइन। सक्छस् भने बरू योग्यता बनाएर आइज र देशका लागि केही गर। अनि मात्रै तैंले बोल्न सुहाउँछ।’

मेरा कुराले छोएर हो वा यो रिसायो भन्ने सोचेर हो, त्यसपछि उसले देशमाथि विषवमन गर्न चाहिँ छोड्यो र पनि कुरा भने टेढामेढा नै गरिरह्यो। अमेरिकाको बयान र नेपालसँग तुलना गर्दै खिस्त्याउन चाहिँ छोडेकै थिएन। भैगो यसको दिमागमा अमेरिकी भूतसवार भइसकेको छ भने म किन यसलाई मातृभूमिलाई माया गर भनिरहूँ ! यो हलेदो भइसकेको छ भन्ने स्पष्ट भइसकेपछि यसलाई कोट्याएर सँघ्नुको कुनै औचित्य छैन भन्ने लागेर उसको कृत्रिम सत्कारमा लागेथेँ। उसलाई कतिबेला बिदा गरौं र आफू हलुका होऔं भन्ने लागिरहेथ्यो ऊ नहिँडुन्जेल। उसले पनि धेरैबेर बस्ने धीरता देखाएन र खाना खाएर हिँड्ने तरखर गर्न थाल्यो। मैले पनि उसलाई रोक्न कुनै चासो देखाइनँ। ऊ हिँडेपछि उसले छोडेको सर्पदंशको प्रभाव एकाएक कम हुँदै गएको अनुभव हुँदै गयो र हलुका अनुभव हुँदै आयो।

यता मेरी श्रीमतीजी चाहिँ आफैंले खाना खान बोलाएको मान्छेलाई किन नानाथरी भन्नुपरेको नि भन्दै रिसाउँदै थिइन्। उसले जे जे भने पनि चुप लागेर सुनेको भए भएहाल्थ्यो नि रे ! त्यसो गर्न कसरी सम्भव हुन्थ्यो।

उनलाई भनेँ, ‘तिमी चुप लाग, देशमाथि प्रहार गर्नेलाई जवाफ दिनैपर्छ। मैले ठीक गरेको छु। कम्तीमा पनि अर्को ठाउँ गएर यसरी नै देशको बारेमा बोल्न नसक्ला। बोल्ने बेलामा एक पटक मलाई सम्झेला। त्यत्ति भयो भने पनि मैले उसलाई दिएको जवाफ सार्थक हुन्छ।’

०००

हिमाल अमेरिकाको डीभी चिठ्ठा पर्नुअघि यहाँ सहायकस्तरको जागिरमा थियो। त्यही जागिर पनि सजिलै पाएको कहाँ थियो र ! नेताहरूको ढोकाढोका र घरघर धाउँदा निक्कै जोर जुत्ता फटाएर पाएको हो। पढाइको योग्यताको त के कुरा गर्नु, स्नातक पास गरेको भए पनि लोकसेवा दिनेसम्म पनि हिम्मत गर्ने ल्याकत उसको थिएन। पापड बेलेर, दाँत चिहारेर, साइनो लगाएर, अनेक गरेर जागिर खाएथ्यो। मैले नै पनि ठूलै सहयोग पुर्‍याएको थिएँ, उसको जागिरको खोजीमा। बेरोजगार भएर जागिरको खोजीमा तराईबाट काठमाडौं आउँदा मेरै डेरामा बसेथ्यो ऊ। मै पनि त्यो बेला अध्ययनकै क्रममा थिएँ र एउटै खाटमा सुत्न असजिलो भएको कारण उसलाई निक्कै पटक भनेथेँ पनि- एकजोर सिरक-डस्नाको व्यवस्था गर न हिमाल। सिंगल खाटमा दुई जना सुत्दा निक्कै असजिलो भयो। घरबाट ल्याएको भए पनि हुन्थ्यो भनेथेँ तर उसले वास्तै गरेनथ्यो।

केही दिन बाटो हेरेँ तर न सिरक-डस्नाको व्यवस्था गर्‍यो, न मेरो कोठा छोडेर अन्यत्र नै गयो। आफैंले खर्च गरेर उसका लागि सिरक-डस्नाको व्यवस्था गरेर भुइँमा ओछ्यान लगाएको थिएँ र पनि उसले आफ्नो भुइँमा सुत्ने बानी नभएको भनेकाले उसलाई खाट छोडिदिएर आफैं तल सुतेको थिएँ। जागिर पाएर पहिलो महिनाको तलब बुझेपछि मात्रै ऊ छुट्टै कोठा लिएर बस्न थालेको थियो। त्यसपछि उसले प्रेम गरेकी केटीलाई बिहे गरेर कोठामा भित्र्याएथ्यो।

उसको विदेश मोहलाई चिठ्ठाले भर्‍याङको काम गरिदियो। डीभी परेर परिवारसहित अमेरिका छिरेको हिमालले आफूलाई पूरै अमेरिकन बनायो। १२ वर्षको अवधिमा उसले दुईचार कल फोन गरेथ्यो पनि तर फोन गर्न पनि महँगो पर्छ भन्थ्यो। कहिले बोल्दाबोल्दै कार्ड सकियो भन्थ्यो। बरु नेपालबाटै सस्तो पर्छ, तैंले गरे नि हुन्छ भन्थ्यो। उसका हावादारी गफ सुन्न म किन फोनमा खर्च गरौं ? कुनै ज्ञानका, गुनासोका, देशको सम्झनाका, पुराना स्मृतिका कुरा गर्न उसले जानेकै थिएन। आफ्नै बखान सुनाउँथ्यो। डलरकै कुरा गथ्र्यो। यति कमाएँ भन्थ्यो।

यो गाडी किनेँ भन्थ्यो, घर किनेँ भन्थ्यो। अलिक पछि फेसबुक, भाइवर, इस्ट्राग्राम, मेसेन्जरलगायतका सञ्जाल चल्न थालेपछि केही समय उसको आतंकजस्तै चलेथ्यो। गाडीका फोटा, घरका फोटा, पार्टीमा गएका फोटा ! फेसबुक स्टाटस पनि रिस उठ्दा नै हुन्थेँ। देशप्रति कत्ति पनि उसलाई फिक्री थिएन। राजनीतिक द्वन्द्व, आन्दोलन, नाकाबन्दी, भूकम्प उसका लागि देशलाई हियाउने र हामीलाई खिस्त्याउने विषयवस्तु बनेका थिए। त्यही भएर उसका गतिविधिप्रति मैले चासो राख्नै छोडिदिएको थिएँ।

१२ वर्षमा परिवारसहित आएर देशलाई त्यो हदसम्म गाली गर्दै गएपछि अब फेरि फर्किएर ऊ आउनेछ भन्ने सोचेकै थिइनँ। नेपालको नागरिकता त्यागेर अमेरिकी नागरिक बनिसकेको मान्छे अब किन पो आओस्। ऊ आएर पनि के, नआएर पनि के ! न देशलाई नाफाघाटा, न मलाई कुनै चासो चिन्ता। उसलाई सकेसम्म बिर्सिने प्रयत्नमा लाग्नु नै मेरो हकमा        श्रेयष्कर थियो। आफ्नै दौडधूपमा व्यस्त भइरहनुपर्ने। परिवार, आफन्त, समाज सबै चाहिएको छ। सबैको मन राख्नुपर्छ। केही बाध्यताले, केही मनले अह्राएर। दिन, महिना, वर्ष बितेको पत्तै हुँदैन।

एक दिन अफिसबाट अलिक अबेर नै घर फर्किएको थिएँ। श्रीमतीजी खाना बनाउँदै रहिछिन्। छोराछोरी आआप्mनो पढाइमै थिए। घरमा परिवार जम्मा भइसकेपछि जो जहाँ, जुन काममा लागेको भए पनि एकछिन सबै जना जम्मा भएर गफिने, एकअर्काका दिउँसोका केही कामकुरा भए सुन्ने, सुनाउने प्रचलन बसाएको छु। यसले परिवारमा आफ्नोपन ल्याउने, घुलमिल भइराख्ने, सहयोगीको भावना जगाउने मेरो सोचाइमा बल पुगेको नै अनुभव गरेको छु। यत्तिकैमा ‘प्रकाश’ भन्दै टुप्लुक्क उही हिमाल पो सुटकेस घिस्याउँदै घरभित्र छिर्‍यो। उसलाई देखेर तीन छक्क परेँ म।

‘अनि, खै त परिवार ? यस पटक एक्लै आएको ? खबरै नगरी आइस् त ? तँ त अब फर्किएर आउँलास् भन्ने लागेकै थिएन, किन आइस् अमेरिकी पर्यटक ? ’ उसले मेरो एउटै प्रश्नको जवाफ दिन भ्याएको थिएन, मैले प्रश्नमाथि प्रश्न गरेँछु। ऊ मेरा प्रश्नको जवाफ दिने अवस्थामा थिएन पनि। उसले यति मात्रै भन्यो- ‘छोड्दे यार, अहिले मलाई केही पनि नसोध। म थाकेको पनि छु र त्योभन्दा बढी टेन्सनले गलेको छु। मलाई केही पनि नभनी आजको रात आरामले सुत्न दे, भोलि गफ गरौंला।’

वास्तवमा यस पटक ऊ निक्कै गलित र थकित पनि देखिएको थियो। उसको अनुहारमा पहिलेको जस्तो चम्किलोपन थिएन। बोलीमा पनि पहिले आउँदाको जस्तो कुनै किसिमको विषवमन थिएन। खाना खाएपछि बैठक कोठामा ओछ्यान मिलाइदिएँ। लामो दूरीको यात्राबाट आएकोले थकान त हुन्छ नै, फेरि समयको अन्तरालले पनि टाउको भारी बनाएको हुन्छ। सुतोस्, भनेर उसलाई एक्लै छोडिदिएँ।

अमेरिकाबाट आउनेहरूले सुनाएअनुसार उसको बोली मात्रै नभएर डलर पनि राम्रै कमाएको छ रे। लुवाइ-खुवाइमा मात्रै नभएर पार्टी, मठमन्दिरमा जाँदासमेत फूर्ति नै देखाउनुपर्ने रे। चन्दादान दिन पनि अघि सरिहाल्ने। यी त उसका यतै हुँदैदेखिका बानी थिए। घर, गाडी हरेक कुरा जोडेर यताबाट गएका नेपालीहरूमा सरदरका भन्दा माथिल्लो हैसियतमै स्थापित भएको सुन्दा खुसी लाग्थ्यो। नचिनेका जो कोहीको प्रगति सुन्नुभन्दा आफ्नो साथीको प्रगति सुन्दा किन बेखुसी हुनु थियो र। तर जब ऊ मेरो घरमा प्रवेश गर्दा देशको बारेमा त्यसरी अनेक गालीगलौज गर्दै पसेथ्यो, त्यसपछि मात्रै मेरो चित्त दुखेको हो। जे भए पनि साथी हो। ऊ बेला परिवारसहित भएकोले किन दु :ख दिऔं भन्ने सोचेर होटलमा बस्यो। त्यसो गर्नु खास बेठीक पनि थिएन। एक्लै हुँदा त एयरपोर्टबाट यी यसरी सीधै आइहाल्यो नि। मान्छे उति खराब पनि होइन। यसपालि त केटाकेटीलाई केके उपहार पनि ल्याइदिएछ। तर उसको अप्रत्याशित आगमनले भने मलाई द्विविधामा पारिदियो। बुबाआमालाई सञ्चो नभएर बोलाएको भए त भनिहाल्ने थियो। टाढाको कुरा छ, आउजाउ पनि कहाँ सजिलो छ र ! भैगो, भोलि बिहान त भन्ला नि त्यस्तो केही भए भन्दै बिहानीको प्रतीक्षामा सुतेथेँ म पनि।

बिहान म उठ्दा ऊ त अगाडि नै उठिसकेको पो रहेछ। ओछ्यान असरल्ल थियो। नियालेर हेरेँ, पुरानो डस्नालाई तलबाट निकालेर माथिपट्टि ओछ्याएको थियो। तन्ना पनि डल्लो पारेर एकापट्टि फ्यालेको जस्तो देखिन्थ्यो। किन यसरी ओछ्यान भताभुंग पारेको होला ? भन्न त केही भनिनँ तर उसको यो व्यवहार पनि ठीक लागेन। यत्तिकैमा उसले हिँडिहाल्ने हतारो देखाइसकेको थियो।

कहाँ जाने हतारो हो तेरो ? बुवाआमालाई भेट्न विराटनगर गइहाल्ने हो र ?       

अहँ, होइन। म पोखरा जान्छु।

पोखरा जान यसरी हतारिन पर्दैन त। जतिबेला गए पनि भइहाल्छ नि। भोलि जाँदा नि हुन्छ। आजै जाने भए पनि खाना खाएर जानु।

होइन, आजै जानुपर्छ। एउटा प्रोजेक्ट लिएर आएको छु। दुई जना अमेरिकन पनि आएका छन्। बिहानकै फ्लाइटमा जाने कुरा भएको छ। भ्याएँ भने पछि फर्किंदा आउँला। कतै भ्याउँदिन कि भनेर पहिले नै तेरोमा आइहालेको हुँ। अघिल्लो पटक आउँदा मेरा कुराले तेरो चित्त दुखेको जस्तो अनुभव भएथ्यो। तैंले मलाई चिनेकै छस्। म अलिक बढी बोल्छु। मनमा केही नली तँ। मेरो कारणले कत्ति पनि चित्त नदुखाएस्। म हिँडेँ पनि अब।

साथीका कुरा अस्पष्ट थिए। त्यसरी प्रोजेक्ट लिएर आउने खालको, देशको हितमा सोच्ने खालको उसको स्वभाव नै होइन। यसले अचम्मको कुरा गरेर हिँड्यो। ऊ बेला आफैंले गलहत्ती लगाएर पठाइदिउँ कि जस्तो गरी रिस उठाएथ्यो। बेकारमा बोलाएँछु जस्तो लागेथ्यो। आज त बसेको भए पनि हुन्थ्यो जस्तो लागेथ्यो र पनि हिँडिहाल्यो। ऊ गइसकेपछि पो ओछ्यानको दुर्दशातिर ध्यान खिचियो। बाक्लो बुट्टे कपडाको खोल हालेको पुरानो डस्ना तलबाट माथिपट्टि पार्नुको कारण मेरो मस्तिष्कमा एकाएक झिल्का बनेर चस्का दिन आइपुग्यो। ऊ बेलाको डस्ना, जुन डस्ना उसैलाई ओछ्याउनका लागि १३ वर्षअघि मैले चार सयमा किनेको थिएँ। कसरी चिन्यो उसले त्यो डस्ना र किन माथि ओछ्याएर सुत्यो ?        पुरानो स्मृति उसमा कसरी जागृत भयो ?        सिरानीको खोल पनि आँसुले भिजेको थियो ! छक्क लाग्यो उसको यस्तो व्यवहार र रुनुको थप अर्को कारणले।

ऊ फेरि फर्किएर मकहाँ आउला कि नआउला ?        द्विविधाकै बीच एक महिना बित्यो, आएन। दुई महिना बित्यो, आएन। तीन, चार, वर्ष दिन, अहँ आएन। उसले भनेकै थियो नि नआउन पनि सक्छु भनेर। सायद अमेरिका गइसक्यो होला। यसपछि थप केही खोजी-खबरी पनि भएन। सामाजिक सञ्जालहरूमा पनि उसको उपस्थिति देखिन छोडेको थियो। वर्ष दिनपछि एकदिन बिहानै एउटा पत्रिकामा उसको फोटो देखेर पो छक्क लाग्यो। प्रोजेक्टको काम भन्थ्यो, सायद राम्रै काम गरेछ र फोटो छापियो भन्ने लाग्यो। कुरा के रहेछ, पढौं न त भनेर आँखा लगाएको त, शीर्षकले नै मेरो होसहवास उडायो। अग्लो छाँगोबाट गहिरो दहमा खसेजस्तै भएँ म। फोटोसँगै लेखिएको थियो- अमेरिकामा अपराध गरेर नेपाल आएको अपराधी !

त्यो एउटा पत्रिका मात्रै नभएर त्यस दिनका, भोलिपल्टका र अनलाइन पत्रिकाहरूमा पनि उसको बारेमा लेखिएका कुराले मलाई निक्कै पीडा दिए। समाचार पढ्दा ऊ अमेरिकी कानुनअनुसार त्यहाँ अपराध गरेर भागेको रहेछ। उसले गरेका अपराधमा जेलजीवन भोग्नैपर्ने र त्यो जेल जीवन पनि पाँच-दस वर्ष नभएर त्यहाँको कानुनअनुसार ६०-७० वर्ष हुन सक्ने भन्ने उल्लेख थियो। आफ्नी श्रीमतीमाथि पनि उसको इच्छा विपरीतको जबर्जस्ती करणी ठहर्ने र वैवाहिक बलात्कारमा सजाय हुने व्यवस्था हाम्रै कानुनले पनि गरेको छ। उसकी        श्रीमतीले त्यहाँको स्थानीय अदालतमा दिएको उजुरीअनुसार आफूमाथिको जबर्जस्ती करणी मात्रै नभई बालिका यौन दुराचारको आरोप पनि उसमाथि लगाइएको रहेछ !

सम्पत्तिमाथिका मुद्दा पनि त्यसमै खप्टिएको थियो। उसले स्थानीय वकिल राखेर प्रतिवाद पनि गरिसकेको रहेछ। तर जुटाइएका प्रमाणअनुसार कुनै पनि हालतमा उसले सफाइ पाउने अवस्था नदेखिएपछि वकिल र केही हित चिन्तकको सल्लाहमा अमेरिका छोडेर ऊ रातारात भागेको रहेछ। भाग्दा पनि कता गयो भन्ने थाहा नहोस् भनेर होला, धेरैतिर ट्रान्जिट बदल्दै नेपाल आएको रहेछ। ऊ कहाँ बसेको छ भन्ने पत्ता लगाउन यहाँ पनि खोजी भइरहेको समाचारमा उल्लेख थियो। यति मात्रै नभई नेपाल आएर उसले अर्को बिहे गरेर यो वर्षदिनको बीचमा बच्चासमेत जन्मिसकेको रहेछ !

पत्याउने कि नपत्याउने ?        यो हदसम्मको अपराध उसले गर्‍यो होला र ?        केही नभई पत्रपत्रिकाले त्यसै लेख्ने कुरा पनि भएन। उसलाई चिन्नेजान्ने अमेरिकामा भएका मेरा साथीहरूलाई सोद्धा उनीहरू पनि पत्रिका पढेरै थाहा पायौं भन्छन्। ऊ अमेरिकामा नभएको चाहिँ उनीहरूले पनि पुष्टि गरेथे। यहाँ हुँदा त उसकी        श्रीमती सोझी जस्ती नै लाग्थ्यो। दु :खसुख बुझेकी जस्ती लाग्थ्यो। यदि त्यस्तो केही थिएन भने १८, २० घण्टा दु :ख गरेर त्यत्रो सृष्टि जोडेको लोग्नेलाई कसरी त्यति ठूलो अभियोग लगाउन सक्थी ?        अमेरिकी हावाले छोएकै भरमा लोग्नेलाई पन्साउन यति ठूलो अभियोग लगाएकी हो त ! लोग्नेबाट छुट्कारा पाउन त एउटै मात्र अभियोग पर्याप्त थियो नि, आफूमाथिको इच्छाविपरीतको यौन शोषण। अरू कुनै अभियोग नै आवश्यक थिएन।

हिमाल अमेरिकी नागरिक हो। नेपालको नागरिकता उसले त्यागिसकेको छ। नेपाल आउँदा र यहाँ बस्दा उसले पर्यटकले तिर्नुपर्ने शुल्क तिर्नुपर्छ। तर उसले त्यो प्रक्रिया पनि सुरुमै अवलम्बन गरेको छैन। नेपाल आएको छ भन्ने पनि जानकारी नहोस् भन्ने उसको बठ्याइँ अर्को अपराध कर्म बनिसकेको छ। त्योभन्दा ठूलो त एउटा विदेशीले आफ्नो भूमिमा अपराध गरेर यहाँ आई नेपाली चेलीसँग विवाह गरेर अर्को अपराध गरेको छ। न विवाह दर्ता हुन्छ, न बच्चाको जन्मदर्ता हुन्छ। उनीहरूको हैसियत के हुने हो अब ?        कान्छी        श्रीमतीले पनि यी सबै कुरा थाहा पाइसकेपछि आफूलाई अमेरिका लगिहाल्ने भन्दै झुक्याएर विवाह गरेकोले विवाह दर्ता र बच्चाको जन्मदर्ताको लागि उजुरी गरिसकेकी छे। यतिका सबै कुरा पत्रिकामा आइसकेपछि कान्छी        श्रीमती पनि छोडेर भूमिगत भएको छ ऊ।

उसका बारेमा लेखिएका यस्ता अनेक समाचारले धेरै दिनसम्म मेरो मथिंगल नराम्रोसँग बिथोलिरह्यो। अझै पनि म सहज अवस्थामा फर्किन सकिरहेको छैन। केही नभई आफ्नै        श्रीमतीले कसरी अनेक अभियोग लगाउली ?        त्यो पनि आफैंले मन पराएर प्रेम विवाह गरेकी        श्रीमती। मैले सम्पर्क गरेर सोध्दासमेत त्यसै किन अभियोग लगाउँथेँ त दाइ, सहन नसकेरै अन्तिम निर्णयमा पुगेर उजुरी गरेकी हुँ भनिथी। यहाँको कानुनअनुसार त उजुरी पर्नासाथै पहिले पक्राउ गरेर हिरासतमा लिएर तहकिकात प्रारम्भ गरिन्छ। उता चाहिँ अनुसन्धान पूरा गरेपछि मात्रै हिरासतमा लिइँदो रहेछ ! यही सुविधा नै उसको लागि भाग्ने बाटो भइदियो।

अमेरिकाबाट पहिलो पटक आउँदा आफ्नो जन्मभूमिलाई त्यसरी नानाथरी गाली गर्ने साथी आज यहीँ आएर लुकेर बसेको छ। आफ्नो भूमिमा बस्ने नैतिक हैसियत गुमाइसकेको एउटा नालायक सन्तान, जुन देशको नागरिक बनेको थियो, त्यही देशको कानुनअनुसारका अनेक अपराध गरेर भागेर आउँदा पनि लुकाएर राख्न सक्ने मातृभूमि !! उसलाई दु :खका बेला मैले ओछ्याइदेको डस्नाको मोह जाग्नु पनि आफ्नो हैसियत सम्झिनु थियो, सम्झियो। उसले सबैभन्दा ठूलो त मातृभूमिप्रति गरेको गद्दारी हो। एउटा विदेशी अपराधीले त्यागिसकेको नेपालको नागरिकता अब कसरी प्राप्त गर्ला ?        विदेशी अपराधीलाई नेपाली भूमि उपयोग गर्न दिइरहने कि नदिने ?       

देशलाई तथानाम गाली गर्ने हिमाल अब नामको मात्रै हिमाल रह्यो। नाम हिमाल हुँदैमा नेपालप्रेमी हुन नसक्ने रहेछ। देशसँगको साइनो तोडेर अमेरिकन भइसकेको ऊ अब कुन देशको होला ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.