‘सम्पूर्ण योग’ सार्वजनिक
भक्तपुर : ८८ वटा योगासन सहितको सम्पूर्ण जानकारी समेटिएको पुस्तक ‘सम्पूर्ण योग’ सार्वजनिक गरिएको छ। रेडियो हिमालयनको सहयोगमा निरु योगा होमस्टेको आयोजनामा भक्तपुरमा होमस्टे संचालक योगी राजन बाँस्तोलाद्धारा लिखित उक्त पुस्तक सार्वजनिक गरिएको हो।
गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा, क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरी, नमस्ते ख्वप टेलिभिजनका प्रमुख ऋषिकेश श्रेष्ठ, युवा व्यवसायी गोकुल वन र लेखक राजनले शनिबार पुस्तक विमोचन गरेका हुन्।
योगी राजनले साढे २ वर्षको अध्ययन, अनुसन्धान र १८ वर्ष लामो अनुभव समेटेर तयार पारेको पुस्तक योगका बारेमा रुची राख्ने सबैका लागि उपयुक्त हुने बताए। योगको उत्पत्ति नेपालबाटै भएको र नेपालमा आउने विदेशी पर्यटकसमेत योग सिकेर जाने गरेकाले योग पर्यटनको सम्भावना बढेको उनको भनाइ छ।
लेखक राजनले २१० पृष्ठ लामो सचित्र यो पुस्तक बिक्रीबाट संकलित रकममध्ये २५ प्रतिशत रकम गरिब विद्यार्थीको पोशाक वितरणमा खर्च गरिने जानकारी दिए।