फोटोले मनमा उमारेको असार

फोटोले मनमा उमारेको असार

भर्चुअल संसार, इन्टरनेटको जमाना। पुराना दिन हेर्न घरका, दराजका पुराना एल्बम पल्टाउनै नपर्ने। कताकताबाट टुप्लुक्क आइपुग्यो मेरो मेसेन्जरमा।

६० वर्षअघिको फोटो आउनु के थियो र, मन उडेर निमेषमै पुग्यो त्यहाँ। जहाँ गाइन्थ्यो— बादलबिना वर्षा कहाँ हुन्छ ? मनबिना माया कहाँ बस्छ ?

नेपालमा सबैभन्दा बढी पानी पर्ने ठाउँ पोखरा। वर्षा हुँदा प्रकृतिले माया गरेर धेरै पानी बर्साएको हो कि जस्तो लाग्छ। आफ्नो जन्मथलो कसलाई प्यारो हुँदैन र ? उसरी नै मेरो जन्मस्थान मलाई कति प्रिय र सुन्दर लाग्छ भने मनोहरिणी बालाजस्तै।

आकाशमा बादलहरूको खचाखच भीड। खचाखच भीड र सूर्यका सुनौला किरण आपसमा लर्बरिन्छन्-लटारिन्छन्। लर्बरिँदा लर्बरिँदै लटारिँदा लटारिँदै साँझ आइपुग्छ। ती साँझपखका सुनौला घामका सुनौला किरणले सुनौला धर्सा छाडिदिन्छन्। ती सुनौला धर्साहरू कोत्तिरँदा म पढ्ने स्कुलसम्म पुगेर रंग्याइदिन्छन्। म स्कुले बच्चो, मेरो मनमा स्कुलको त्यो दृश्य मायालाग्दो पाराले मनमा दुरुस्तै गढेको छ। कसैले मेरो बारेमा फेसबुकका वालमा ‘नो मोर’ भनेर नलेखिन्जेल त्यो स्कुल मेरो मनमा बसिरहनेछ।

म कुरा गर्दै छु, बिन्ध्यवासिनी हाइस्कुल बाटुलेचौर पोखराको। यो फोटो १०१२ सालको हो र म पढ्थेँ ३ कक्षामा। गुरुहरूको गौरव, साथीहरूको संगत, प्रकृतिको प्रेम सम्झेर म यो फोटो हेरिन्जेल आँसुमा बगिरहेँ; जसरी मेरो पोखरामा पानी धेरै बगिरहन्छ।

मेरी आमाले मुर्छा परी परी जन्म दिएको म। छोराको भाग्य बनाउने ग्रह-उपग्रह त्यही स्कुलभित्र देखेर होला, म स्कुल जान नमान्दा नमान्दै पनि दाहिने हातमा सिस्नाको आँठो त्यो पनि पानीमा चोबेको, अर्को हातले मेरो दाहिने नाडी समाएर घिसार्दै तान्दै गरेर स्कुल पुर्‍याएको त्यो दिन हिजैजस्तो लाग्छ। औंला भाँचीभाँची गनेँ, साठी वर्ष। आहा !

स्कुलबाट घर फर्केर आउँदा डगरका पर्खालका चेपबाट कमिलाका ताँतीका ताँती निस्केको देख्दा म घोरिएर हेर्थें। ताँती हेर्दा त्यतिविधि कमिला बस्न त भित्र ठूलो दरबार होलाजस्तो लाग्थ्यो। त्यही दरबारमा आफू दस वर्ष बसेर निस्किँदा भाग्य खोज्न सकेँ कि सकिनँ चाल पाइनँ। सकिनँ नै जस्तो लाग्छ।

म जति उकालो चढे पनि स्कुल बिर्सन सकेको छैन। स्कुलको त्यो आध्यात्मिक भवन आँखैमा नाचिरहेको छ। सम्झनाले डोर्‍याउँछ। म डोरिन्छु। जति घुमाउरो बाटो भए पनि स्कुलको बाटो हुँदै जान्थेँ। मनले कत्ति घुमाउरो मान्दैन। नजिकै पुग्न लाग्दा आँखा प्यासा बन्देै स्कुलको भवन खोज्न थाल्छन्; जुन भवन मेरा लागि आध्यात्मिक ज्ञानको त थियो। भाग्यको भण्डार थियो। नजरले छुनेबित्तिकै आत्मसन्तुष्टि घनिभूत भएर आँउथ्यो। आत्मविश्वास छताछुल्ल हुन पुग्थ्यो। भवनको वैभवशाली इतिहास हराएकोमा अति नै असह्य हुन्छ। यसको वातावरणीय गतिशीलता कति ऊर्जावान् थियो !

सम्झन्छु— वास्तविक मानिससँगको भेट, जीवन्त मानिससँगको भेट। त्यही सुनौलो रङमा लगेर घोल्छु जीवनलाई। रंगीन जीवन पाइनँ। जीवनलाई फगत श्याम र श्वेत सम्मि श्रणमा मात्र पाइरहन्छु।

आजकाल त्यो भवन देख्दिनँ तर भवनभित्रका विभिन्न आकार मेरो मनमा रहस्य बनेर बसिरहेका छन्। त्यो भवनको परिसर कुलमण्डन शाहको परिसरको केही हिस्सा पर्छ। त्यसमा प्रथम शाहकालीन वास्तुकलाजनित वस्तुहरू सलबलाइरहेजस्तो देख्छु। परिसरभित्र छरिएका प्रत्येक इँटा, पत्थर, झिँगटीले यहाँको इतिहास बोकिरहेजस्तो लाग्छ। भवन नदेख्दा जननीको पयोधर पिउँदा पिउँदै छुटाएजस्तो लाग्छ। त्यहाँ त आधुनिक भवन ठडिएको छ। देख्दा मन त्यसै त्यसै कुँडिन्छ। नयाँ भवनले भौतिकवादको भय बोकेजस्तो लाग्छ। त्यसै त्यसै घाँटी सुकेर आउँछ। तृष्णा मेटाउन आफूजत्तिकै पुरानो फोटो हेर्छु। त्यो भवन देखेपछि आफूभित्र ज्ञानको ज्योति जगाइदिने गुरुवर सम्झन्छु। फोटो हेर्दाहेर्दै गज्जबको भूत सन्तुष्टि-वर्तमान असन्तुष्टि पाउँछु।

म आफैंसँग बितेका विम्बहरूले मलाई नै लछारपछार पार्छन्। अनि म मेरा कलिला अतीतहरू मायाले सम्झने प्रयत्न गर्दा अत्यधिक व्याकुल हुन्छु। अनि मनको स्यानो द्वारबाट सम्झनाहरू धमाधम ओहिरिन्छन्। सम्झँदैमा मन कति खुसी हुन्छ हुन्छ। आदिम अतृप्ति हराउँछ।

टिनटिनटिन घन्टी लाग्यो। सबै विद्यार्थी हुरुरुरु बिन्ध्यवासिनी हाइस्कुल बाटुलेचौर पोखराको पुरानो सुन्दर भवनअगाडिको चौतारी तलको चउरमा जम्मा भए। म पनि त्यही हुलमा मिसिएँ। त्यो दिनको कार्यक्रम सञ्चालन गर्ने पालो मीनराज पराजुली गुरुको रहेछ। उहाँ आफ्ना दुई हात समानान्तर रूपमा हल्लाई हल्लाई हामीलाई शान्त भएर बस्न अह्राइरहनुभएको थियो। सबै गुरुहरू आफ्नो पालोमा त्यसैगरी बसाउने गर्नुहुन्थ्यो। अहिले दृश्य सम्झँदा हामीलाई निष्काम ज्ञान दिलाउने ती सबै गुरुहरू ज्ञानदूतजस्तो लाग्छ। त्यसैले हामी सबै संयम र शान्त भएर बस्थ्यौं।

फेरि गुरुको अगाडि रहेको टेबुलको सानो घन्टी बज्यो। गुरु तपक्कै निहुरिएर दुवै हातले भुइँ छुँदै ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्दै शिर उठाउनुभयो। गुरुले ढोगेको पनि देखेँ, बोलेको पनि सुनेँ। तर भावार्थ केही पनि बुझिनँ। मन खुल्दुल खुल्दुल गरिरह्यो। उहाँको शरीरको चाल पनि हेरिरहेको थिएँ। तर पनि अर्थ केही गम्न सकिनँ। वरिपरि हेरेँ। मेरो दाइने हाततिर मलाई धेरै माया गर्ने सिनियर दाइ हुनुहुँदो रहेछ। उहाँको कानैमा गएर फुसफुसाउँदै भनेँ, ‘दाइ ! गुरुले के भन्नुभएको हो ? निहुरेर के गर्नुभएको हो ? ’

उहाँले पनि पहिला अगाडि-पछाडि दायाँ-बायाँ हेर्नुभयो। अनि मात्र कानैमा फुसफुसाउँदै भन्नुभयो, ‘स्वर्गभन्दा नि सुन्दर यी मेरी जननी (धर्ती) लाई ढोग छ भन्दै ढोग्नुभएको हो।’

त्यसपछि म चुपचाप बसेँ।       

त्यो भवनले त्यहाँबाट निस्कने प्रत्येक विद्यार्थीका जरामा उकेरा लगाएको छ। विद्यार्थीमा सिर्जनात्मक ऊर्जा धेरै धेरै हुन्छ। हाम्रो मस्तिष्कमा भरिने सपनाजस्तै।


तस्बिर  : पिट डाउन


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.