बाढीले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
राजविराज : सप्तरीको खडक नगरपालिका ८ स्थित पूर्व-पश्चिम राजमार्गमा चापिन खोलाले सडक भत्काएको छ। सडक भत्किएपछि केहीबेर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको थियो। अहिले भने एकतर्फी सुचारु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
सडक एकतर्फी सञ्चालनमा रहे पनि अर्कोतर्फसमेत भत्किने खतरा रहेको प्रहरी इन्सपेक्टर विष्णुदीप बस्यालले बताए। सप्तरीको खाडो, सुन्दरी, खडक जिता, चहका, चापिन, मुसहर्निया, बलान विहुल, महुलीलगायतका खोलामा आएकोबाढीले अधिकांश बस्ती जलमग्न भएका छन्। बस्तीमा पानी पसेपछि दर्जनौ घर भत्किएका छन्।
प्रजिअ पौडेलका अनुसार उद्धारमा नेपाल र सशस्त्र प्रहरीसँगै स्थानीय खटिएका छन्। अहिलेसम्म बाढीमा फसेका २५ को उद्धार भएको छ। बिहुल नदीमा आएको बाढीले बोदे बर्साइन नगरपालिकाको महनौरी गाउँका २० घर पुरै डुवानमा परेका छन्। घर डुबानमा परेका परिवार आफन्त र छिमेकको घरमा शरणमा बसेका छन्।
हनुमाननगर-कंकालनी नगरपालिका १३ गोबरगाढामा करिब चार सय परिवारको घरमा पानी पस्दा सर्वसाधारण कष्टपूर्ण जीवन धान्न बाध्य छन्। हनुमाननगर कंकालिनी नगरपालिकाको १४ रम्पुरा मल्हनियाँको अधिकांश घर डुबानमा परेका छन्।