सहकारीको ३८ करोड अपचलन : एक वर्षसम्म बचतफिर्ता नहुने
नेपालगन्ज : सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगन्जले एक वर्षसम्म बचतकर्ताको रकम फिर्ता नगर्ने भएको छ। समस्या परेका बचतकर्तालाई भने अबको तीन महिनापछि क्रमशः रकम फिर्ता गर्ने आन्तरिक सहमति भएको छ। सहकारीले यसअघि हप्तामा दुई दिन रकम वितरण गर्दा १६ पटक गरी ३ करोड ६६ लाख रुपैयाँ फिर्ता गरिसकेको छ।
सहकारीको शनिबार नेपालगन्जमा सम्पन्न विशेष साधारणसभाले एक वर्षभित्र बचतकर्ताको रकम फिर्ता नगर्ने लगायतका सात वटा प्रस्ताव पारित गरेको हो। विशेष साधारणसभाले कूल पूँजी ५२ करोड रहेको सहकारीमा ३८ करोड रुपैयाँ अपचलन गर्ने अभियुक्तलाई मुद्दा नचलाएर रकम असुलीका लागि चल÷अचल सम्पत्ति संस्थामा धितो राखेर अभियोगबाट मुक्त गर्ने छुट दिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गंगाधर सुवेदी र कर्जाफाँट प्रमुख अरुणकुमार पाठकले अपचलन गरेको रकम बराबरको धितो राखेर, रकम फिर्ता गर्ने ठोस कार्ययोजनासहित आएमा हिरासत मुक्त हुने छुट साधारणसभाले प्रदान गरेको हो।
‘अपचलन गरे बराबरको हामीले धितो माग गर्नेछौं। ज–जसले धितो दिँदैन, उसलाई भने मुद्दा प्रक्रियामा लगिनेछ’, सहकारीका कार्यकारी अध्यक्ष हरदेव बक्स चौधरीले भने, ‘साधारणसभाको निर्णयको प्रतिलिपी सहित अभियुक्तहरूलाई कहिलेसम्म रकम फिर्ताको कार्ययोजना माग्छौं। कसले कति समयभित्र रकम फिर्ता गर्छ भन्ने कुरा कार्ययोजना आइसकेपछि मात्र थाहा हुनेछ।’
अपचलनका अभियुक्तद्वय खजुरा शाखाका प्रबन्धक सूर्यबहादुर विकले आफ्नो दायित्वको ३७ लाख ८६ हजार ८ सय ४४ रुपैयाँ र बैजापुर शाखा प्रबन्धक लीलाधर वलीले दायित्वमा आएको १० लाख ९१ हजार ९ सय ८० रुपैयाँ फिर्ता गरिसकेकाले उनीहरूलाई कारबाहीको प्रक्रियाबाट अलग गरिएको छ।
सहकारीले आइतबारदेखि नै निक्षेप संकलन गर्ने, ऋण असुली गर्ने लगायतका वित्तीय कारोबार नियमित गर्ने निर्णय गरेको छ। ऋणीमध्ये ९५ प्रतिशतभन्दा बढीको भाका नाघिसकेको जनाइएको छ। संस्थाबाट प्रवाह भएको ऋण असुलीमा तदारुकता देखाउने र आवश्यक परे ऋणीहरूको धितो लिलाम गरेर भएपनि चाँडोभन्दा चाँडो ऋण असुली गर्ने निर्णय पनि गरेको छ।
अहिले बैंकको १२ करोड रुपैयाँ ऋण लगानी रहेको छ। साधारणसभाले दुई वटा छानबिन समितिले फरक फरक प्रतिवेदन दिएर अपचलन भएको रकम एकीन नभएको भन्दै तेस्रो पटक पनि छानबिन गर्न समिति गठन गरेको छ।
प्रमुख प्रबन्धक गोपाल भण्डारीले सुरुमा २६ करोड अपचलन भएको प्रतिवेदन दिएका थिए। जिल्ला सहकारी संघले गठन गरेको छानबिन समितिले ३८ करोड रुपैयाँ अपचलन भएको देखाएको थियो। यी छानबिन नै अन्तिम नभएको निष्कर्षसहित सभाले अपचलनएकीन गर्नसञ्चालक समितिका पूर्वउपाध्यक्षसर्वदेवप्रसाद ओझा, पूर्वसदस्यद्वय हेमन्त कर्माचार्य र राजेन्द्र विक सम्मिलित छानबिन समिति गठन गरेको हो। समितिमा चार्टड एकाउन्टेन्ट र दुई जना बैंकिङ विज्ञ पछि थप गरिने छ।
सन्चालक समितिका अध्यक्ष हरदेवबक्स चौधरीले प्रयोग गरेको कार्यकारी अध्यक्षको अधिकार साउन पन्ध्रभित्र प्रमुख प्रबन्धक चयन गरी प्रत्यायोजन गर्न साधारणसभाले निर्दिष्ट गरेको छ। २१ असारमा डाकिएको विशेष साधारणसभा ५१ प्रतिशत गणपूरक संख्या नहुँदा स्थगित भएको थियो। जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले बचतकर्ताको रकम फिर्ता गर्ने ग्यारेन्टीका लागि साधारणसभाले बुद्धिमत्तापूर्ण काम गरेको बताए। उनले भने, ‘मुद्दाको मामिलामा जाँदा अभियुक्तलाई त कारबाही हुन्छ। बचतकर्ताको रकम जोखिममा पर्छ। सहकारीले चालेको कदम नै सबैको हितमा छ।’