नयाँ च्याम्पियन बन्‍ने दाउ

नयाँ च्याम्पियन बन्‍ने दाउ

लन्डन : आईसीसी एकदिवसीय विश्वकप क्रिकेट उपाधिका लागि आइतबार आयोजक इङ्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। लर्डस मैदानमा दिउँसो ३ः१५ बजे हुने फाइनल भिडन्तमा दुवै टोलीको लक्ष्य उपाधि हत्याउने रहेको छ।

विश्वकपको पहिलो संस्करणदेखि सहभागिता जनाउँदै आएको इङ्ल्यान्ड र न्युजिल्यान्ड दुवैले अहिलेसम्म उपाधि चुम्न सकेका छैनन्। घरेलु मैदानमा आयोजित विश्वकप यस पटक कुनै पनि हालतमा जित्ने इङ्ल्यान्डको लक्ष्य छ। साविक उपविजेता न्युजिल्यान्ड आयोजकलाई कडा चुनौती दिन तयार छ। यस पटक सेमिफाइनलमा बलियो भारतलाई पन्छाएर फाइनलमा पुगेको न्युजिल्यान्ड पनि उपाधि चुम्न आतुर देखिन्छ।

लिग चरणका नौ खेलमा न्युजिल्यान्डले पाँच जित, तीन हार र एक अनिर्णित नतिजा निकालेको थियो। न्युजिल्यान्ड लिग चरणमा चौथो बन्दै सेमिफाइनलमा पुगेको थियो। न्युजिल्यान्डले लिग चरणमा पाकिस्तानलाई रन रेटका आधारमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो। सेमिफाइनलमा भने न्युजिल्यान्डले बलियो टोली भारतलाई १८ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। न्युजिल्यान्डले दिएको दुई सय ४० रनको मध्यम लक्ष्य पछ्याएको भारत खराब सुरुआत गर्दै ४९.३ ओभरमा सबै विकेट गुमाएर दुई सय २१ रनमा समेटिएको थियो।

यसैगरी इङ्ल्यान्ड लिग चरणमा तेस्रो बन्दै सेमिफाइनलमा पुगेको थियो। इङ्ल्यान्डले लिग चरणमा ६ जित र तीन हारको नतिजा निकालेको थियो। सेमिफाइनलमा भने इङ्ल्यान्डले साविक विजेता अस्ट्रेलयालाई आठ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। इङ्ल्यान्ड योसहित चौथो पटक फाइनलमा पुगेको हो। क्रिकेट खेलको जन्मदाताका रूपमा परिचित इङ्ल्यान्ड यसअघि सन् १९७९, सन् १९८७ र सन् १९९२ मा गरी तीन पटक विश्वकपको फाइनलमा पराजित भएको छ। सन् १९९२ पछि इङ्ल्यान्डले यस पटक फाइनल खेल्दै छ। त्यसैले पाँचौं पटक विश्वकपको आयोजना गरिरहेको इखालु इङ्ल्यान्ड यस पटक उपाधिको व्यग्र प्रतीक्षामा छ। सन् १९७९ को विश्वकपमा इङ्ल्यान्डलाई वेस्ट इन्डिजले हराएको थियो भने सन् १९८७ को फाइनलमा इङ्लिस टोली अस्ट्रेलियासँग पराजित भएको थियो। त्यसलगत्तै सन् १९९२ को विश्वकपमा इङ्ल्यान्डलाई पाकिस्तानले हराएको थियो।

यसैगरी दुई पटक विश्वकपको सफल आयोजना गरिसकेको न्युजिल्यान्ड भने दोस्रो पटक फाइनलमा पुगेको हो। सन् २०१५ को विश्वकपको फाइनलमा न्युजिल्यान्डलाई सहआयोजक अस्ट्रेलियाले सात विकेटले पराजित गरेको थियो। यस पटक न्युजिल्यान्ड र इङ्ल्यान्ड दुवैको प्रदर्शन उत्कृष्ट देखिएको छ। दुवै टोलीको ब्याटिङ र बलिङ लयमा छ। इङ्ल्यान्डका जोय रुट कुल पाँच सय ४९ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा छन्।

उनले दुई शतक र तीन अर्धशतक प्रहार गरिसकेका छन्। अर्का ब्याट्सम्यान जोनी बेयरस्टले पनि चार सय ९६ रन बनाएका छन्। उनले दुई शतक र दुई अर्धशतक प्रहार गरेका छन्। जासन रोयले ६ पालिमा एक शतक र चार अर्धशतकको मद्दतले चार सय २६ रन बनाएका छन्। बेन स्टोक्सले पनि चार अर्धशतकको मद्दतले तीन सय ८१ रन बनाएका छन्। बलिङतर्फ इङ्ल्यान्डका जोफरा आर्चरले १९, मार्क उडले १७ र क्रिस वाक्सले १३ विकेट लिइसकेका छन्।

यसैगरी न्युजिल्यान्डका कप्तान केन विलियम्सनले आठ पालिमा पाँच सय ४८ रन बनाइसकेका छन्। उनले दुई शतक र दुई अर्धशतक प्रहार गरेका छन्। अनुभवी खेलाडी रोस टेलरले पनि आठ पालिमा तीन अर्धशतकको मद्दतले तीन सय ३५ रन बनाएका छन्। बलिङतर्फ न्युजिल्यान्डका लोकी फर्गुसनले आठ पालिमा १८ विकेट लिइसकेका छन्। ट्रेन्ट बल्टले पनि नौ पालिमा १७ विकेट हात पारेका छन्। म्याट हेनरीले पनि आठ पालिमा १३ विकेट लिएका छन्। यही विश्वकपको लिग चरणमा यी दुई टोलीबीच खेलिएको खेलमा भने इङ्ल्यान्डले न्युजिल्यान्डलाई एक सय १९ रनले हराएको थियो।

इङ्ल्यान्ड र न्युजिल्यान्डबीच यसअघि भएको एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड केही बलियो देखिएको छ। यी दुई टोली एकदिवसीयमा ९० खेल भएको छ। न्युजिल्यान्डले ४३ खेल जितेको छ। इङ्ल्यान्डले ४१ खेल जितेको छ। दुई खेल बराबरीमा सकिएको छ भने चार खेल अनिर्णित बनेको थियो। यसैगरी एकदिवसीय विश्वकपमा भने यी दुई टोली नौ पटक भिडेका छन्। ज्युजिल्यान्डले पाँच खेल जितेको छ। इङ्ल्यान्ड चार खेलमा विजयी भएको छ। विगत र वर्तमानको अवस्था हेर्दा यी दुई टोलीको स्तर समान देखिन्छ।

सन् १९७५ देखि सुरु भएको विश्वकपको ११ वटा संस्करण सम्पन्न हुँदासम्म पाँचवटा राष्ट्रले मात्र उपाधि जित्न सकेका छन्। अस्ट्रेलियाले हालसम्म पाँच पटक विश्वकप जितेको छ भने वेस्ट इन्डिज र भारतले दुई/दुई पटक उपाधि चुमेका छन्। यसका अतिरिक्त पाकिस्तान र श्रीलंकाले एक/एक पटक उपाधि हात पारेका छन्। पहिलो विश्वकपदेखि नै सहभागी हुँदै आए पनि इङ्ल्यान्ड र न्युजिल्यान्डले भने हालसम्म उपाधि जित्न सकेका छैनन्।

सन् १९९२ देखि विश्वकप खेल्न थालेको दक्षिण अफ्रिकाले पनि हालसम्म उपाधि जित्न सकेको छैन। सन् १९९९ देखि सन् २०१५ सम्म पाँचवटा विश्वकप भए। ती पाँचमध्ये चारवटा उपाधि अस्ट्रेलिया र एउटा भारतले जित्यो। त्यसैले पनि पछिल्ला हरेक विश्वकपमा क्रिकेटप्रेमीहरू नयाँ विजेताको खोजीमा थिए। विश्वकपको १२औं संस्करणले भने क्रिकेटप्रेमीको त्यो चाहना पूरा गर्ने पक्का भएको छ। इङ्ल्यान्ड र न्युजिल्यान्डमध्ये जसले उपाधि जिते पनि विश्वकपले नयाँ विजेता पाउनेछ।

एकदिवसीयमा दुई टोली

कुल : ९० खेल

न्युजिल्यान्ड विजयी : ४३ खेल

इङ्ल्यान्ड विजयी : ४१ खेल

बराबरी : २ खेल

अनिर्णित : ४ खेल

विश्वकपमा दुई टोली

कुल : ९ खेल

न्युजिल्यान्ड विजयी : ५ खेल

इङ्ल्यान्ड विजयी : ४ खेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.