बुवाले भेडा हेर्न जाऊँ भनेर स्कुल भर्ना गरिदिनुभयो
डा. कृष्णहरि बराल
‘मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन
भागेर जाउँ, कुन ठाउँ जाउँ
मान्छे नमर्ने सहर हुँदैन...’
भाइबहिनी हो; तिमीहरू मलाई चिन्छौ कि चिन्दैनौ, थाहा छैन। तर मलाई यत्ति थाहा छ— तिमीहरूले यो गीत भने पक्कै सुनेका छौ। अनि मन पनि पराएका छौ। सायद तिमीहरूलाई मेरो बाल्यकाल कस्तो थियो ? म कसरी पढ्थेँ ? के के गरेँ ? भन्ने जिज्ञासा लागेको होला। मलाई पनि तिमीहरूजस्तै भाइबहिनीसँग आफ्नो बाल्यकालको सम्झना गर्न पाउँदा निकै खुसी लागेको छ।
म २०१० सालमा जन्मेँ। सिन्धुलीको हतपतेमा। सानो अनि सुन्दर गाउँ थियो। माथि डाँडामा। गाउँ सानो भएकाले वल्लाघर पल्लाघर गर्दै दिन बित्थ्यो। घरपरिवारमा आमाबुवा, काकाकाकी, हजुरबुवा, हजुरआमा, भाइबहिनी सबै थियौं। म घरको जेठो छोरा। सबैको प्यारो पनि थिएँ। मेरो सम्पूर्ण बाल्यकाल त्यही हतपतेमा नै बित्यो।
परिवारमा प्रायः सबैलाई संस्कृतको ज्ञान थियो। म सानैदेखि हजुरबुवासँग सुत्थेँ। बिहानै भाले बास्ने बेलामा उहाँ सिलोक पढ्नुहुन्थ्यो। यसरी म हरेक दिन बिउँझिँदा सिलोक सुनेर बिउँझिन्थेँ। एकातिर काका अलिअलि गीत गाउनुहुन्थ्यो। अर्कोतिर बुवा देवकोटा, लेखनाथका कविता र धेरैजसो रामायण, महाभारत पढ्नुहुन्थ्यो। यी सबै कुरा म ध्यान दिएर सुन्थेँ।
म अक्षर नचिन्दै घरमा भएका बाक्ला बाक्ला रामायणको किताबमा भएका फोटा हेरेर रमाउँथे।
घरमा मादल थियो। बेलुका वरपरका मानिस भेला हुन्थे। मादल बजाएर गीत गाउँथे। त्यो पनि सुनिन्थ्यो। यस्ता क्रियाकलापले मलाई कलातिर आकर्षित गरिसकेको थियो सायद।
हाम्रो गाउँतिर लेकबाट मानिसले भेडाका बथान लिएर चराउन आउँथे। हामी त्यो हेर्न जान्थ्यौं। म ६ वर्षको थिएँ। एक दिन बुवाले भेडा हेर्न जाऊँ भन्नुभयो। म खुसी हुँदै गएँ। उहाँले सरासर स्कुल लगेर मलाई भर्ना गरिदिनुभयो। भेडा हेर्न गएको मान्छे, स्कुलमा पो भर्ना भएँ। यहीँबाट मेरो औपचारिक पढाइ सुरु भयो। स्कुल भर्ना भएको एकै दिनमा ‘क’देखि ‘ज्ञ’सम्मको अक्षर चिनेछु। तर एउटा अक्षर ‘घ’ चिन्न मलाई सात दिन लाग्यो। त्यो सम्झिँदा अझै पनि अचम्म लाग्छ।
भाइबहिनी हो, तिमीहरूलाई पनि यस्तो कहिलेकाहीँ हुन्छ होला है ? तर, याद भएन भन्दैमा आत्तिनु हुँदैन नि। कुनै कुरा यस्तै हुन्छन् एकै पटकमा याद हुँदैनन्। यस्ता चिन्ता लियौं भने अरू समस्या बल्झिन्छ। त्यसैले विस्तारै पढ्दै जानुपर्छ।
अहिले तिमीहरू राम्रा सुविधासम्पन्न विद्यालयमा पढिरहेका छौ। मैले पढ्ने स्कुल त्यस्तो थिएन। त्यहाँ जम्मा दुई जना मात्र शिक्षक थिए र कक्षाकोठा पनि दुईवटा मात्र थियो। एउटै कोठामा तीन चारवटा कक्षा हुन्थ्यो। एउटा कोठामा १, २ र ३ कक्षाको पढाइ हुन्थ्यो भने अर्कोमा ४, ५ र ६ कक्षाको पढाइ हुन्थ्यो।
एउटा बेन्चमा पाँच÷छ जना बस्थ्यौं। त्यो एउटा बेन्च नै एउटा कक्षा हुन्थ्यो। एउटै सरले प्रत्येक बेन्चमा गएर पालैपालो पढाउँहुन्थ्यो। मैले कक्षा ७ सम्म यसरी नै पढेँ। बुवा पनि घरमा पढ्दा जिल्लाका नाम, अञ्चलका नाम सिलोक बनाएर पढ भन्नुहुन्थ्यो। मेरो लेख्ने बानी पनि त्यसरी बढ्न थाल्यो।
मैले एकचोटि सरको गाली खाएको छु। त्यति बेला पढ्नेभन्दा पनि घोक्ने चलन बढी थियो। पढाइमा म ठिकै खालको विद्यार्थी थिएँ। एकचोटि सरले एउटा पाठ याद गर्न दिनुभएको थियो। भन्दाभन्दै बीचमा अड्किएँ अनि गाली गर्नुभयो। स्कुलमा अरू विभिन्न अतिरिक्त क्रियाकलाप र कार्यक्रम पनि हुन्थ्यो। त्यसमा म भाग लिन्थेँ। कक्षा ५ मा पढ्दा कार्यक्रममा एउटा कविता सुनाएर फस्ट भएँ। कापी पुरस्कार पाएँ। त्यस दिनदेखि लेख्ने हौसला झन् बढ्यो। कविता यस्तो थियो—
‘बारीको छेउमा कुर्ले ढुकुर कुर्लिन्छ
नेपाल जाँदा सुनकोसी उर्लिन्छ...।’
स्कुलमा अलिअलि चकचक पनि गर्थें। टिफिन हुनेबित्तिकै नजिकैको समीको रूखमा चढेर लुकामारी खेल्न जान्थ्यौं। सानोमा डन्डीबियो, कबड्डी, लुकामारी खेल्न खुब मन पथ्र्यो। त्योबाहेक म कमिलासँग खुब खेल्थेँ। पानी प¥यो भने कमिलाको गुँडमा पानी पस्छ भनेर माथिबाट छाप्रोजस्तो बनाएर गुँड बनाइदिन्थेँ। मेरो काका घरमा मौरी राख्न एकदमै सोखिन हुनुहुन्थ्यो। म उहाँलाई देखेर केटाकेटीमै मौरीलाई गुँडमा राख्न सक्ने र चलाउन सक्ने भएको थिएँ। यसरी कमिला र मौरीसँग मेरो सानै देखि एकदमै प्रेम बसेको थियो।
कक्षा ६ पढ्दा आमा बित्नुभयो। यसरी म भावुक पनि हुँदै गएँ। रेडियोमा गीत सुन्न एकदमै मन पथ्र्यो। गाउँमा एक÷दुईजनाको घरमा ठूल्ठुला रेडियो थियो। बाँसमा तार टाँगेर एन्टेना बनाइएको हुन्थ्यो। त्यहाँ गएर गीत सुन्थेँ। कहिलेकाहीँ कापीमा गीतहरू उतार्थें। यसरी लेख्दै जाँदा मेरो लेखन राम्रो भइसकेको रहेछ।
गाउँमा ८, ९ र १० पढ्ने स्कुल थिएन। यसका लागि म जनकपुर गएँ। त्यहाँ जाँदा मैले पहिलोपटक बस देखेँ, ठूलो सहर देखँे जनकपुर। पहिलो पटक फोटो खिचेँ। मेरा लागि यी सबै नौला कुरा थिए। त्यहाँ नेपालीबाहेक सबै हिन्दीमा पढाइ हुन्थ्यो। त्यहाँ पनि म विभिन्न कार्यक्रममा भाग लिन्थेँ। पुरस्कार जित्थेँ। यसरी पढाइकै सिलसिलामा म काठमाडौं आएँ। २०३१ सालमा आईए पढ्दा लेखेको ‘म भक्त हुँ यो देशको, म रक्त हुँ यो देशको...’ गीत २०३३ सालमा पहिलोपटक रेडियो नेपालमा रेकर्ड भयो। यो गीत सर्वाधिक चर्चित भयो। त्यसपछि म सबैसामु चिनिएँ। काठमाडौं नआएको भए सायद आज म यो अवस्थामा आउने थिइनँ। डायरीमा मात्र थन्किएका हुन्थे मेरा रचना।
नानीबाबुहरू हो, हामीले जे काम गर्छौं त्यो कामलाई निरन्तरता दिनुपर्छ है। हाम्रो समाजले कला क्षेत्रलाई त्यति राम्रो नजरले हेर्दैन। मैले काठमाडौंबाट गीत रेकर्ड गराएर घर जाँदा गाउँका मानिसले ‘गिदांगे’ भन्थे। अहिले आएर मलाई सबैले नमस्कार गर्छन्। पढेर म विश्वविद्यालयमा प्रोफेसर पनि भएँ। ५० भन्दा बढी किताब लेखेँ। सयौं गीत लेखेँ। गीत लेखेकै कारण मैले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू पाएको छु। त्यसैले आज तिमीहरूसँग आफ्ना मनका कुरा साट्न पाइरहेको छु।
तिमीहरू पनि राम्रोसँग पढ्नू अनि ठूलो मान्छे बन्नू। पढ्नेबाहेक आफूलाई मन पर्ने अरू काम गर्दा पनि हुन्छ; जसले तिमीहरूको सिर्जना संसारले हेरोस्। मलाई थाहा छ, तिमीहरू धेरैले अचmे आफ्नो प्रशस्त समय मोबाइल र इन्टरनेटमा फाल्छौ। त्यसो गर्नु हुँदैन। इन्टरनेटमा ज्ञान र रमाइलो सबै थोक पाइन्छ। त्यसैले दुवै कुरालाई मिलाएर लैजानुपर्छ। फरक पहिचान बनाउनुपर्छ।