बन्ने भयो अन्तरिक्षमा बिस्कुट
भाइबहिनीलाई पक्कै पनि थाहै छ, नासाका वैज्ञानिकहरूले दिनप्रतिदिन यो ब्रह्माण्डमा नयाँ खोज, अनुसन्धान र परीक्षण गर्दै आएका छन्। कतिपय प्रयोग, परीक्षण वा अनुसन्धानमा सफल भएका छन्। कतिपयमा असफल पनि भएका छन्। तर जति परीक्षणमा सफल भएका छन्, त्यसले संसारमा केही न केही चकित पार्ने र अनौठो खालको परिणाम दिएका छन्। यसैक्रममा अब नासाले अर्को चमत्कारपूर्ण कार्य गर्ने भएको छ। अब अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा ताजा खाना वा खाजा खुवाउने तयारी गरेको छ।
नासाले अन्तरिक्षमा यस्तो काम सम्पन्न गर्नका लागि एउटा विशेष चुल्हो अन्तरिक्ष स्टेसनमा पठाइसकेको छ। यो चुल्होमा अन्तरिक्ष यात्रीहरू आफैंले बिस्कुट बनाउन सक्ने बताइएको छ।
यसभन्दा पहिले अन्तरिक्ष यात्रीहरूले आफूले त्यहाँ गएर खाने खाना पृथ्वीबाटै लिएर जाने गर्थे। उनीहरूले त्यहाँ जाँदा वा जानुभन्दा पहिले सुक्खा वा पकाइएको खाना लिएर जान्थे।
जुनसुकै यात्रीलाई अब यस्तो झन्झट गर्नु नपर्ने भएको छ। यो वर्षको अन्त्यसम्म अन्तरिक्ष यात्रीहरू अन्तरिक्षमै बिस्कुट बनाएर खान सफल हुने नासाले जनाएको छ।
‘शून्य गुरुत्वाकर्षणमा पनि बिस्कुट बन्ने प्रक्रिया कसरी काम गर्ला भनेर हामी हेर्न चाहन्छौं’, नासाका पूर्वअन्तरिक्ष यात्री माइक म्यासिमिनोले बताए।
अन्तरिक्षमा पनि पकाउन सक्ने चुल्हो कस्तो होला ? र कसले बनायो होला ? तिमीहरूलाई पक्कै जिज्ञासा लागेको हुन सक्छ। अन्तरिक्षमा पठाइएको यो चुल्हो ‘जिरो जी किचेन’ र ‘डबल्ट्री बाय हिल्टन’ नामक दुईवटा कम्पनीले मिलेर बनाएका हुन्।
यो चुल्होको आकार अरू चुल्होको जस्तो छैन। यसको आकार बेलनाकार कन्टेनर जस्तो देखिन्छ। यो यस्तो देखिए पनि यसको डिजाइन जानीजानी बेलनाकारको रूपमा तयार गरिएको हो, ताकि यसमा माइक्रो ग्य्राभिटीमा पनि खानेकुरालाई तताउन सकियोस्। किनभने अन्तरिक्षको वातावरण पृथ्वीभन्दा एकदमै फरक छ।
पृथ्वीमा भएको जस्तो वातावरण तयार गर्न स्पेस स्टेसनमा कृत्रिम वातावरण तयार गरिन्छ। त्यस्तो माइक्रो ग्य्राभिटीमा पनि बिस्कुट कसरी बनाइएला यो थाहा पाउनु अति रोचक प्रसंग हुन सक्छ।
म्यासिमिनोका अनुसार यस्तो खालको परीक्षण आजभन्दा अगाडि कहिल्यै भएको थिएन। यो कार्य सफल भए इतिहासकै पहिलो हुनेछ। उनले भनेका छन् ‘अन्तरिक्ष यात्रीले स्पेस स्टेसनमा बनाइएको बिस्कुट आरामले खान सक्नेछन्। इतिहासमा यो पहिलो पटक हुँदैछ।’ यसैमा उनी थप्छन् ‘अहिले त हामीलाई अन्तरिक्षमा बिस्कुट एकपटकमा बन्ला कि नबन्ला भन्ने कुरा हेर्नुछ। तर अन्तरिक्षमा बनेको बिस्कुटको बास्ना भने एकदमै मीठो हुनेछ।’
अन्तरिक्षमा बिस्कुट बनाउनु केवल आनन्द र रमाइलोका लागि मात्र होइन, यसबाट माइक्रो ग्य्राभिटीमा पनि चुल्होले कसरी काम गर्छ भन्ने कुरा वैज्ञानिकले पत्ता लगाउन सक्नेछन्। त्यसैगरी चुल्होमा सेकेको बिस्कुट कस्तो होला ? यसको आकार र स्वाद कस्तो होला ? भन्ने कुरा थाहा पाउन पनि वैज्ञानिक निकै उत्सुक छन्।
वैज्ञानिकहरूले पृथ्वीमा बनिरहेका कुकिज र अन्तरिक्षमा बन्ने कुकिजमा भने पक्कै पनि केही न केही फरक आउने बताएका छन्।