माछाखोला बजार जोखिममा
गोरखा : मनास्लु पदमार्गमा पर्ने माछाखोला बजार केही दिनदेखिको निरन्तर वर्षाले जोखिममा परेको छ। माछाखोलाले बजारतिर कटान गर्दै आएपछि बजारका सयभन्दा बढी घरधुरी जोखिममा परेको स्थानीय व्यवसायी धनकुमार गुरुङले जानकारी दिए।
माछाखोला बजार धार्चे गाउँपालिकाको केन्द्र पनि हो। ‘अलिअलि पानी पर्न थाल्दैमा खोलाले बजारतिरको भूभाग धेरै रेटेको छ’, उनले भने, ‘म्याग्दीको बेनीबजार जस्तो हुन्छ कि भनेर बजारका बासिन्दा चिन्तित छन्।’ दिनहुँको बाढीले बजारतर्फ कटान बढिरहेको उनले बताए।
पानीको सतह बढेर बजारतर्फ कटान हुन थालेपछि डोजर लगाएर विपरीततर्फ खोतलेर धार परिवर्तन गर्ने प्रयास गरेको गुरुङ बताउँछन्। ‘तार जालीको पर्खाल समेत बगाएको छ’, उनले भने, ‘मैले आफ्नै खर्चमा डोजर लगाएर खोला उता तर्काउने प्रयास त गरेको छु तर यस्तो अस्थायी कामले खोला उता जाँदैन। गहिरो जग खनेर ढलान गरी पर्खाल लगाउनुपर्छ।’ स्थानीय सरकार, जिल्ला तथा प्रदेश सरकारले माछाखोला बजारको सुरक्षा व्यवस्था गर्नुपर्ने उनले माग गरे।
तटबन्धका लागि गाउँपालिकाले बजेट विनियोजन गरिसकेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए। ‘माछाखोला बजारको सुरक्षाका लागि एक करोड रुपैयाँ विनियोजन गरेका छौं’, गुरुङले भने, ‘बर्खा सकिएपछि आरसीसी ढलान गरेर तटबन्ध गर्नेछौं। गाउँपालिकाको बजेटले मात्रै पुग्दैन। त्यसैले अरू सहयोगी पनि खोज्दै छौं।’