‘संघीयता जनतालाई सस्तो’

‘संघीयता जनतालाई सस्तो’

स्याङ्जा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले संघीय शासन व्यवस्था नागरिकका लागि सस्तो र सहज भएको बताएका छन् । संघीय सरकार खर्चालु र धान्न नसक्ने भन्दै आलोचना भइरहेका बेला मुख्यमन्त्री गुरुङले संघात्मक शासन प्रणाली सरकारका लागि महंगो भए पनि नागरिकका लागि सस्तो र सहज भएको दावी गरेका हुन् ।

आँधीखोला गाउँपालिका–५ स्थित जुग्लेखोलामा नवनिर्मित पुल उद्घाटन र नागडाँडा–कार्र्कीनेटा कालोपत्रे सडकको शनिबार शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले नागरिकले लिने सेवा सुविधाका लागि स्थानीय सरकार घरदैलोमै भएकाले सजिलो भएको बताए । सानातिना सिफारिस लिनकै लागि पटक–पटक सदरमुकाम र मन्त्रालय धाउनु पर्ने बाध्यता हटेपछि सेवाग्राहीको समयसँगै खर्च पनि बचत हुने उनले बताए । ‘स्थानीय तहमा चिनेजानेका मान्छे हुने भएकाले काम लिन पनि सजिलो हुन्छ’, मुख्यमन्त्री गुरुङले भने, ‘विश्वका ३० भन्दा बढी मुलुकमा संघीय शासन व्यवस्था छ । संघीयता भएको मुलुकका जनता सुखी, खुशी र समतामूलक विकास भएको छ ।’

राप्रपा अध्यक्ष कमल थापाप्रति व्यंग्य गर्दै मुख्यमन्त्री गुरुङले पूजापाठ गरेर राजतन्त्र नफर्कने बताए । ‘आफ्नो दाजुलाई समेत बचाउन नसक्ने व्यक्तिलाई राजा बनाउनु पनि छैन’, उनले भने ।

पाँच वर्षमा गण्डकी प्रदेशलाई देशकै नमुना प्रदेश बनाउने योजना रहेको उनको भनाइ थियो । दुई वर्षभित्र घर–घरमा धारा, सिचाई, बिजुली पुग्ने दावी गर्दै उनले कृषि र खाद्यान्नमा आत्मनिर्भर बनाउने दावी गरे । गण्डकीमा १४ दशमलब २ प्रतिशत जनता गरिबीको रेखा मुनि रहेको जानकारी दिँदै गुरुङले पाँच वर्षभित्र गरिवी ५० प्रतिशत घटाउने र १० वर्षमा सून्यमा झार्ने दावी गरे । ‘८ लाख निरक्षर रहेको प्रदेशमा ५ वर्षभित्र सबैलाई साक्षर बनाउने प्रदेश सरकारको योजना छ’, उनले भने ।

विरोध गर्नेले गरिरहे पनि पछाडी नफर्कीने र हात्ती लम्के झै लम्किरहने गुरुङले बताए । स्थानीय तहसँग हातेमालो गर्दै प्रदेश सरकारअघि बढ्न चाहे पनि केही स्थानीय तहले सहकार्य गर्न नचाहेकोमा उनले दुखेसो पोखे । कार्यक्रममा भौतिक पुर्वाधार विकासमन्त्री रामशरण बस्नेतले ढिला सुस्ती र भ्रष्टाचार अन्त्य गर्न प्रदेश सरकार लागि परेको दावी गर्दै नागडाँडा कार्कीनेटा सडक आगामी वर्ष १७ किलोमीटर निर्माण गर्ने प्रतिवद्धता जनाए ।

सो अवसरमा प्रदेशसभा सदस्य मिनप्रसाद गुरुङ, प्रदेश नीति तथा योजना उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेल, भौतिक पूर्वाधार सचिव ईश्वर मरहठ्ठा, गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेल, उपाध्यक्ष शर्मिला पौडेल, प्रमुख प्रसासकिय अधिकृत उज्वल भुसाल, वडाध्यक्ष कृष्णप्रसाद पनेरुलगायले पनि बोलेका थिए । आँधीखोला गाउँपालिका–५ जुग्लेमा आठ महिनामै मोटर पुल निर्माण भएको हो । गजिन्द्र निर्माण सेवा स्याङ्जाले तोकेको समयभन्दा ३ महिना अगावै पुल निर्माण पुरा गरेको हो ।

२२ दशमलब ६ मिटर लामो पुल एसएनआरटीपी कार्यक्रमअन्तर्गत पुर्वाधार विकास कार्यालयले निर्माण गरेको हो । दुई करोड २० लाख ७० हजार रुपैयाँको लागतमा निर्माण भएको यस पुलले स्याङ्जाको आधीखोला र पर्वतको कार्किनेटा हुँदै घण्टे लुखुं देउराली जाने बाटोलाई सहज बनाएको छ । १० किलोमीटर कालोपत्रे दुई बर्षमा निर्माण सम्पन्न हुने र २७ करोड १६ लाख रुपैयाँको लागत रहेको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.