अर्बौं खर्च, संरक्षण छैन
काठमाडौं : सरकारले बिरुवा खरिद, रोपण, संरक्षण र अनुगमनका नाममा अर्बौं खर्च गर्दै आएको छ। विगत पाँच वर्षमा यस शीर्षकमा एक अर्ब ३१ करोड ७४ लाख ३० हजार रुपैयाँ खर्च भएको छ।
ठूलो रकम खर्च गरिए पनि वनजंगल विस्तार भने हुन सकेको छैन। न त रोपण गरिएका बिरुवाको संरक्षण नै हुन सकेको छ। यस अवधिमा तीन हजार ७ सय ५६ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको तथ्यांक वन तथा भूसंरक्षण विभागसँग छ। तर बिरुवा हुर्कियो वा मरेको तथ्यांक भने विभागसँग छैन। सरकारले वन क्षेत्र विस्तार गर्न एवं हरियाली प्रवद्र्धन कार्यक्रमका नाममा गरेको अर्बौं रकम खासै प्रभावकारी देखिँदैन। तथ्यांकअनुसार सरकारले झन्डै १५ करोड बिरुवा उत्पादन तथा खरिद गरी वितरण र वृक्षरोपण गरिएको छ।
वन तथा वातावरण मन्त्रालयका पूर्वसचिव डा. उदयराज शर्माका अनुसार वृक्षरोपण गरिएको ९५ प्रतिशत बिरुवा संरक्षण अभावमा मर्ने गरेको छ। ‘हामीले केही जिल्लामा यसको अध्ययन गरेका थियौं। अध्ययन गरिएको क्षेत्रमा करिब ९५ प्रतिशत बिरुवा मरेका भेट्टायौं’, शर्माले भने, ‘वृक्षरोपण गरिने तर फर्किएर नजाने प्रवृत्तिले यस्तो भएको हो।’ वृक्षरोपण कार्य दिगो र व्यवस्थित बनाउन सरकार असफल रहेको उनको ठहर छ। दिगो र व्यवस्थित बनाउन वृक्षरोपण प्राधिकरण गठन गर्नुपर्ने सुझाव उनको छ।
गत पाँच आर्थिक वर्ष (आव २०७०/०७१ देखि २०७४/०७५) अवधिमा सरकारले ९८ करोड २७ लाख ९७ हजार रुपैयाँ बिरुवा उत्पादन र खरिद गरेको छ। त्यस्तै वृक्षरोपणका लागि २७ करोड २६ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ भने सुरक्षा र संरक्षणमा तीन करोड ९७ लाख ५ हजार रुपैयाँ खर्चेको छ। चालू आर्थिक वर्षको ११ महिनामा करिब २८ लाख बिरुवा उत्पादन र खरिद भएको छ। ती बिरुवा उत्पादन र खरिदमा सरकारले करिब ११ करोड रुपैयाँ खर्च गरेको छ।
वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक राजेन्द्र केसीले केही प्रतिशतबाहेक अधिकांश बिरुवा हुर्किएको दाबी गरे। उनले भने, ‘रोप्ने मात्र हैन, संरक्षण पनि हुँदै आएको छ।’
वृक्षरोपणपछि संरक्षणको जिम्मा वन कार्यालय, सामुदायिक वन र निजी क्षेत्रले गर्दै आएका छन्। आर्थिक वर्ष २०७०/०७१ मा १३ करोड २६ लाख ७६ हजार रुपैयाँ बिरुवा उत्पादन र खरिदमा खर्च गरेको छ। सोही अवधिमा वृक्षरोपणका लागि एक करोड १२ लाख २६ हजार रुपैयाँ खर्च गरेको छ। त्यस्तै बिरुवा संरक्षणका लागि ८५ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ।
आर्थिक वर्ष २०७१/०७२ मा विभागले बिरुवा खरिद र उत्पादनमा १२ करोड ५८ लाख ९८ हजार रुपैयाँ खर्च गरेको छ। सोही अवधिमा वृक्षरोपणका लागि सात करोड ७९ लाख १७ हजार रुपैयाँ खर्च गरेको छ। त्यस्तै बिरुवा सुरक्षा र संरक्षणका लागि ३० लाख ८२ हजार रुपैयाँ खर्च गरेको छ।
आर्थिक वर्ष २०७२/०७३ मा १७ करोड ५० लाख ९९ हजार रुपैयाँ बिरुवा खरिद र उत्पादनमा गरेको थियो। सोही अवधिमा वृक्षरोपणका लागि ७ करोड ३० लाख ४६ हजार रुपैयाँ खर्च गरेको छ। त्यस्तै सुरक्षा र संरक्षणका लागि एक करोड ७ लाख ३३ हजार रुपैयाँ खर्च गरेको छ।
आर्थिक वर्ष २०७३/०७४ मा १७ करोड ६७ लाख ८६ हजार रुपैयाँ बिरुवा खरिद र उत्पादनमा खर्च भएको छ। सोही अवधिमा वृक्षरोपणका लागि एक करोड ८५ लाख ४२ हजार रुपैयाँ खर्च गरेको छ।
आर्थिक वर्ष २०७४/०७५ मा बिरुवा उत्पादन र खरिदमा ६ करोड ४६ लाख ५४ हजार रुपैयाँ खर्च गरेको छ। त्यस्तै सोही आर्थिक वर्षमा वृक्षरोपणका लागि एक करोड ४० लाख ३५ हजार खर्च गरेको छ।
विकास निर्माणका क्रममा लाखौं रूख कटान हुँदै आएको छ। काटिएको भन्दा २५ गुणा बढी रोप्नुपर्ने कानुनी प्रावधान भए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन। हरेक वर्ष लाखौं रूख काटिने र रोपिएको बिरुवा संरक्षण नहुने हो भने वन क्षेत्र मासिँदै जाने शर्मा बताउँछन्। सरकारले असार १४ गते देशभर पाँच करोड फलफूललगायतका बिरुवा रोप्ने लक्ष्यका साथ ‘वृक्षरोपण वर्ष’ शुभारम्भसमेत गरेको छ।
पछिल्लो अध्ययनअनुसार नेपालको कुल क्षेत्रफलको ४४.७४ प्रतिशत भूभाग ओगटेको छ।