चिकित्सकमाथि हातपात गर्ने पक्राउ
डडेल्धुरा : जिल्ला सदरमुकामा रहेको डडेल्धुरा अस्पतालमा खटिएका चिकित्सकमाथि आक्रमण गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चिकित्सकको उजुरीका आधारमा आइतबार दिउँसो शंकास्पद एकजनालाई नियन्त्रणमा लिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।
नियन्त्रणमा रहेका व्यक्तिका विषयमा आवश्यक अनुसन्धान भइरहेकाले उनको परिचय भने गोप्य राखिएको छ। ‘आज दिउँसो एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ,‘प्रजिअ पौडेलले भने,‘अहिले प्रहरीले उनिमाथि अनुसन्धान गरिरहेको छ।’
गत बुधबार दिउँसो शव परिक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको थियो। आक्रमणपछि चिकित्सकले दोषीमाथि कारबाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका छन्।
अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परिक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको चिकित्सकहरुको आरोप छ। तर, वडाध्यक्ष खड्काले भने उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन्।