डोल्पामा बाढीबाट दुईजनाको मृत्यु, ९ बेपत्ता
दुनै (डोल्पा) : डोल्पाको मुड्केचुला गाउँपालिका १ को काशिल खोलामा शनिबार दिउसो आएको बाढीले २ जनाको मृत्यु भएको छ भने ९ अझै बेपत्ता छन्। ४० वर्षीया चन्द्रकुमारी सार्की र ४० वर्षका धर्मराज बोहोराको शव भेटिएको छ।
बेपत्ता हुनेमा वडा नम्बर १ का १३ वर्षिया सुना सार्की, वर्ष १२ कै सरिका बोहोरा, वर्ष १२ कि वृहस्पति बोहोरा, वर्ष ६ कि यमुना बोहोरा, बर्ष ५२ का पञ्चराम सार्की, १२ वर्षे धनरुप बोहोरा, ६५ वर्षका कालीबहादुर बोहोरा,२३ वर्षका लवकुमार रोकाय र वर्ष ७ कि निर्मल बोहोरासहित ९ जना बेपत्ता जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।
कालीबहादुर बोहोरा सिँचाइ आयोजनाको १५ लाख रकम लिएर गाउँ जाँदै गर्दा बाढीमा परेर बेपत्ता भएका हुन्। बाढीमा फसेर अझै धेरै मान्छे हराइरहेको अनुमान छ।
बाढीले ४ घर, एक फलामे पुल, दुई काठेपुल,विद्युत गृह र ९ वटा घट्ट बगाएको छ।
शनिबार दिउसो साढे २ बजेतिर आएको बाढीमा घट्ट पिस्न आएका बालबालिका परेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।
सदरमुकाम दुनैबाट प्रजिअ मुकेश कुमार केशरी र प्रहरी नायव उपरीक्षक अभदेश बिष्टको नेतृत्वमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको ३५ जनाको टोली घटना स्थल पुगेको छ।
दुईजनाको शव सदरमुकाम ल्याउन नसक्ने भएकोले जिल्लाबाट डा. सिजन रावल र अहेब कर्ण विक पोस्टमार्टमका लागि घटनास्थल गएका छन्।