असारे झरीमा जब गजलको वर्षा भो

असारे झरीमा जब गजलको वर्षा भो

काठमाडौं : शनिबार मध्याह्न बाहिर झमझम झरी परिरहेको थियो। चार दिनदेखि परिरहेको असारे झरी रोकिने संकेत थिएन। तराई जलमग्न छ। बाढी पहिरोले ५० भन्दा बढी मान्छेले ज्यान गुमाइसके। कयौं बेपत्ता छन्। राजधानी हिलाम्मे छ।

चिप्लो बाटो र पानी भरिएको सडक पार गर्न निकै मुस्किल छ। तर साहित्य संगीतमा रमाउने पारखीलाई यो झरीले कत्ति पनि छोएको थिएन। कुञ्ज थिएटर थापागाउँमा गीत गजल र शीतल कार्यक्रमको दसौं शृंखला चलिरहेको थियो। कार्यक्रममा गायिका कुन्ती मोक्तानलाई प्रमाणपत्रसँगै दोसल्ला ओढाएर सम्मान गरियो। अछामका गजलकार लक्ष्मण संगम र चितवनका मनोज भण्डारी, शीतल कादम्बिनीका गजल र कुन्ती मोक्तानको जादुमयी गायकीले कार्यक्रम रोचक बन्यो। गीत गजल र शीतल कार्यक्रमले दर्शकको वाहवाही कमायो। कार्यक्रमको पहिलो सत्रमा निकै सुमधुर गजलका शेर गाउँदै दैलो उघारे मनोज भण्डारीले।

पुजारी सामु एउटा अनौठो प्रश्न आएछ

बिहानै आज मन्दिरमा चुरा कसले बजाएछ

दुई आँखा भयौं हामी न टाढा छौ न जोडिन्छौं

त्यसैमाथि परेलाले बढे पर्खाल लगाएछ।

मनोजले गजलका शब्द मात्रै गाएनन्। कार्यक्रममा उपस्थित दर्शक तथा साहित्य अनुरागीको मन पनि जिते। मीठो स्वरका धनी मनोजले करिब एक दर्जन गजल सुनाए। शास्त्रीय छन्दमा गजल लेख्न र गाउन खप्पिस मनोजका अधिकांश गजलमा माया प्रेमका मिठास अनुभव, कोहीलाई एकोहोरो मन पार्दाको अनुभूति, पछिल्लो समय मान्छेमा हराउँदैे गएको मानवीयताप्रति व्यंग्य भेट्न सकिन्थ्यो।

गरिब नेपालीको दैनिकी गजलमा समेट्दै मञ्चमा दोस्रो सत्रमा देखिए लक्ष्मण संगम। उनले खुसी र सन्तृष्टि भन्ने चिज मनको सोचाइमा भर पर्ने बताउँदै केही नहुने गरिबले पनि आफूलाई सोखिन ठान्न सक्ने दाबी गरे गजलमार्फत।

पृथ्वीलाई पलङ सम्झिन्छ, आकाशलाई दलिन सम्झिन्छ,

सम्झिनेले यसरी पनि आफूलाई सौखिन सम्झिन्छ।

गाउँमा बिजुली छैन, मट्टीतेल पनि सकियो

छोरो आकाशको जूनलाई पनि लाल्टिङ सम्झिन्छ।

लक्ष्मणका अधिकांश गजलमा गरिब नेपालीको आवाज र सपना सुन्न सकिन्थ्यो। मायामा धोका पाएको पलदेखि कसैको सुन्दरताले व्याकुल भएको आवाजसमेत गजलमा समेटिएको थियो। कहिले केहीले आफ्नै अस्तित्व सकिनु पनि हानिकारक नहुने बताउँदै उनले कोपिलाको अस्तित्व मेटिएर मात्रै फूल बन्ने उदाहरण दिए।

लक्ष्मण र मनोजको गजलमा साहित्य पारखी भरपुर मनोरञ्जन लिइरहेका थिए। गीतकार शीतल कादम्बिनीले झुम्कावाली बोलको गजल सुनाउँदै कार्यक्रमको मध्यस्थता गरेकी थिए। कार्यक्रमको अन्तिम चरणमा गायिका कुन्ती मोक्तानले चारवटा गीत गाइन्। उनको जादुमयी स्वरमा दर्शक झुमिरहेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.