परिमार्जनसहित नियमावली पारित
काठमाडौं : कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीको नयाँ विधान लागू गर्ने नियमावली आइतबार पारित गरेको छ । नियमावली मस्यौदा समिति संयोजक रमेश लेखकले प्रस्तुत गरेको मस्यौदा बैठकले परिमार्जनसहित पारित गरेको हो ।
नियमावलीमा राखिएको लेभीसम्बन्धी व्यवस्था, अनुशासन समितिले गर्न लागेको कडाइबारे वरिष्ठ नेता रामचन्द्र पौडेलसहित विभिन्न नेताले बैठकमा असन्तुष्टि जनाएका थिए । महासमितिबाट पारित विधान केन्द्रीय समितिले अनुमोदन गरे पनि नियमावली अभावमा कार्यान्वयन हुन सकेको छैन । बैठकले नियमावली पारित गरेपछि विधान कार्यान्वयन सहज भएको छ । असार २२ मा सुरु बैठक साउन ७ मा बस्ने गरी फेरि स्थगन गरिएको छ । बाढीपहिरो पीडितको उद्धार र राहतमा खटिन बैठकले पार्टीका सबै नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले नियमावली पारित भएकाले अन्य विषयमा छलफल केन्द्रित हुने बताए । जारी बैठकमा महामन्त्री पूर्णबहादुर खडकाले १४ एजेन्डा प्रस्तुत गरेका थिए । तीमध्ये कांग्रेसले पहिला नियमावली पारित गरेको छ । पार्टीले प्रदेश र स्थानीय तहको संरचना निर्माणसम्बन्धी निर्णय पनि गर्ने भएकाले जारी बैठकलाई महत्वका साथ लिइएको छ । १४ औं महाधिवेशनको विषयसमेत कार्यसमिति बैठकको एजेन्डा बनाइएको छ । सभापति शेरबहादुर देउवानिकट नेताले अन्तरिम व्यवस्थाअनुसार संरचना बनेसँगै पार्टी महाधिवेशनको प्रक्रिया सुरु गर्ने बताउँदै आएका छन् ।
साँघुरो बनाउने प्रयास : सिटौला
नेता कृष्णप्रसाद सिटौलाले विधान र नियमावली देखाएर पार्टीलाई साँघुर्याउन खोजेको भन्दै आपत्ति जनाएका छन् । केन्द्रीय समिति बैठकमा आइतबार उनले नियमावलीसहितका एजेन्डामा धारणा राख्दै लोकतान्त्रिक पार्टीको चरित्रमाथि नै हमला नगर्न नेतृत्वलाई सचेत गराए ।
नियमावलीमा लेभी उठाउनेदेखि अनुशासनमा कडाइ गर्नेलगायत जातिय संगठनको प्रावधान राखिएको भन्दै बैठकमा आलोचना भइरहेको छ । उनले अनावश्यक काममा पार्टी र बैठकको समय बर्बाद मात्र भइरहेको बताए । सिटौलासहित बद्री पाण्डे, सुरेन्द्र पाण्डे, वीरबहादुर बलायरसहित १२ जनाभन्दा बढी नेताले आइतबारको बैठकमा धारणा राखेका थिए ।