बिप्लवका चार कार्यकर्ता अदालतबाट रिहा भएलगत्तै पक्राउ
तनहुँ : राजद्रोह मुद्दामा पक्राउपछि तनहुँ जिल्ला अदालतबाट सामान्य रिहा भएलगत्तै नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका चार कार्यकर्तालाई प्रहरीले पक्रेको छ ।
मुद्दाको सुनुवाईका लागि तनहुँ जिल्ला अदालत लगिएकामा अदालतले रोल्पाका जंगबहादुर भण्डारी ‘आक्रोश’, कास्कीका सन्तोष परियार ‘परिवर्तन’, भोजपुरका मिलन राई र गोरखाका काजी गुरुङलाई साधारण तारेखमा रिहाको आदेश दिएको थियो ।
अदालतले रिहा गरे पनि प्रहरीले पक्राउ गर्ने डरले चारैजना राति अबेरसम्म पनि अदालत परिसरमै थिए । भित्र र बाहिर दुवैतिर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएपछि चारैजना कार्यकर्ता अदालतबाट बाहिर निस्केका थिए । उनीहरुविरुद्ध स्याङ्जा जिल्ला अदालतमा पनि राजद्रोह मुद्दा रहेकाले पक्राउ गरिएको प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए ।