तीन कथाको संगम ‘तीनकुने’
काठमाडौं : लाल्टिनको उज्यालोमा तीन अनुहार देखा पर्छन्। उनीहरू मञ्चको बायाँपट्टि एक कुनामा गितार बजाउँदै गीत गाउन मस्त छन्। सँगै छ बैठक कोठा। त्यहाँ सोफा र टेबुल छन्। अनि कोठाको पर चम्किरहेको छ एउटा पित्तलको करुवा। यो बैठक कोठा कहिले गर्भवती पत्नीको मनभित्रको उल्झन बन्छ, कहिले चम्पाको भट्टी पसल अनि कहिले रीताको वेश्यालय।
यो परिदृश्य कौसी नाटकघर (कथा घेरा) मा मञ्चन भइरहेको नाटक तीनकुनेको हो। नाटक तीन अलगअलग कथा जोडेर तयार गरिएको छ। पोषण पाण्डेद्वारा लिखित ‘भिनाजुको स्वेटर’, रमेश विकलद्वारा लिखित ‘एउटी अवकाश प्राप्त वेश्याको आत्महत्या’ र वियस राईद्वारा लिखित ‘चम्पाको नाम’ लाई एकै नाटकमा समायोजन गरी नाटक तयार गरिएको हो।
नाटकको पहिलो प्रहरमा पतिपत्नी बीचको सामान्य मनमुटाव देखाइन्छ। एउटा लेखक दिनभरि कामले थकित भएर घर पुग्दा उसकी गर्भवती श्रीमती श्रीमान्को माया र समयको अपेक्षामा हुन्छिन्। त्यो अपेक्षा उनले बारम्बार रिसमा व्यक्त गर्दा देशदुनियाँ पढेको लेखकले रक्तिभर चाल पाउँदैन। साथीभाइसँग हिँड्दा लेखक भट्टी पसलको माहोल नियाल्न पुग्छ र वेश्यालयकी सुन्दरीलाई तिरस्कार गर्दै अगाडि बढ्छ। लेखकसँग जोडिएका यी घटनाले एउटा छुट्टै जीवनको बाटो तय गरिरहँदा तीन भिन्न कथा एउटै सारमा टुंगिन्छन्।
‘भिनाजुको स्वेटर’ बाट लिइएको कथामा जीवन जिउन गरिरहेको संघर्ष छ। दिदी भिनाजु र सालीबीच जेलिएको यो कथाको अन्त्य नाटकमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ। पोषण पाण्डेको यो कथा सानो घटनाको ठूलो रूप हो।
त्यस्तै ‘एउटी अवकाश प्राप्त वेश्याको आत्महत्या’ बाट नाटकले मानिसभित्र हुने जितको भोक र हारको डर देखाउन खोजेको छ। उपन्यासकार रमेश विकलको यो कथा नारी मनोविज्ञानमा आधारित छ। अविरल बग्दछ इन्द्रावतीका लेखक विकलले आख्यान, यात्रा साहित्य र बालसाहित्यमा कलम चलाएका छन्।
‘चम्पाको नाम’ बाट लिइएको कथाले भने नाटकले मानिस फगत भाग्यविधाताको कठपुतली भएको बताउँछ। वियस राईको यो कथामा नामलाई आत्मसम्मानको रूपमा दर्शाइएको छ। शक्तिशालीले दुर्बलको नाममा उपनाम जोडेर अपमान गर्छन्। चम्पाको नाम पछाडि पनि थुप्रै उपनाम जोडिए जसले उनको आत्मसम्मान खोसियो।
डेढ घण्टा लामो नाटकले जीवनको अँध्यारो पाटोको मात्र वर्णन गरिरहन्छ। जीवन संघर्ष गरेर बाँच्नु पर्ने बताउँदै जीवनलाई अनिश्चित बनाएर छाडिएको छ। नाटक जति मर्मस्पर्शी छ यसले प्रस्तुत गरेको सार त्यति नै पीडादायी छ। त्यसैले कुनै सन्देशमूलक नाटकभन्दा यो यथार्थको जगमा टेकेर तयार पारिएको बुझ्न सकिन्छ।
नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेका हुन्। नाटक साउन १२ गतेसम्म मञ्चन हुनेछ। नाटकमा सुलक्षण भारती, सिर्जना अधिकारी, रेनु योगी, रोशनी कार्की, सविना थापा, सरिता भुजेल, प्रकाश गुरागार्इं, निसान खत्री, जयराम ढकाल, सौजन लिम्बू, प्रकाश बाँस्तोला, अरुण पौडेल, राजकमल, हीरा हमाल, नवीन अर्याल, न्हुजः महर्जन र सन्जीप योगीको अभिनय छ।