मायालुसँग मिलेर मर्डर

मायालुसँग मिलेर मर्डर

केही वर्षयता ‘प्रेमी–प्रेमिका मिलेर आफन्तको हत्या’,‘श्रीमतीले प्रेमीसँग मिलेर गरिन् श्रीमान्को हत्या’जस्ता शीर्षकका समाचार बाक्लै आउन थालेका छन्। विवाहेतर सम्बन्धले आपराधिक घटना निम्त्याइरहेका छन्। कहीँ समाजले नपचाउने खालको सम्बन्ध लुकाउन कुकर्म भएको छ भने कहीँ सम्पत्तिको प्रलोभनमा मायालु जोडीबाट आफन्तलाई सिध्याउने अपराध भएको छ। यसै सम्बन्धमा अन्नपूर्ण सम्पूर्णका लागि (मायालुसँग मिलेर मर्डर) युवराज भट्टराईले स्टोरी तयार पारेका छन् ।


यस अंकमा हामीले केही यस्ता घटना समेटेका छौँ, जसको जरोमा प्रेम छ, ‘एक्स्ट्रा म्यारिटल अफेयर’ छ। 

प्रेमीसँग मिलेर आमाको हत्या 

सिन्धुपाल्चोककी ६१ वर्षिया सावित्री भट्टराई छोरी–ज्वाइँसँग भक्तपुरमा बस्थिन्। गत असार १५ गते चाँगुनारायणमा रहेको छोरीको घरमा उनी मृत फेला परिन्। उनको घाँटी रेटी हत्या भएको थियो। महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले हत्या भएको १५ घण्टाभित्र हत्यामा संलग्न तीन जना अपराधीलाई पक्राउ गर्‍यो। अनुसन्धानपछि सार्वजनिक भएको तथ्यले धेरैको मुटु काँप्यो। सावित्रीलाई अरू कसैले होइन, आफैँले जन्म दिएकी छोरीले मार्न लगाएकी थिइन्। विवाहेतर सम्बन्धमा रहेकी छोरीले प्रेममा बाधक बनेपछि ‘कन्ट्र्याक्ट किलर’ लगाएर आमालाई आफ्नो बाटोबाट पन्छाएकी थिइन्।

सावित्रीकी छोरी ईश्वरी विवाहित हुन्। उनको चार वर्षीया छोरा छन्। श्रीमान् सोनाम थापा मगर होटल चलाउँछन् र अभिनय क्षेत्रमा पनि क्रियाशील छन्। 

एक वर्षदेखि ईश्वरी भक्तपुरस्थित गार्मेन्ट फ्याक्ट्रीमा काम गर्थिन्। त्यहाँ उनको भेट सिराहा, कल्याणपुर नगरपालिकाका मोहम्मद नौसादसँग भएको थियो। उनीहरूबीच हिमचिम बढ्दै गयो। अन्ततः प्रेममा परे। 

ईश्वरीको मोहम्मदसँग झाँगिँदै गएको प्रेम सावित्रीबाट लुक्न सकेन। उनलाई विवाहित छोरीको परपुरुषसँगको सम्बन्ध स्वीकार्य थिएन। उनले छोरीलाई सम्झाउने लाख प्रयत्न गरिन्। आमालाई छोरीको अनैतिक सम्बन्ध समाजले थाहा पाउला भन्ने ठूलो डर थियो। त्यसैले जसरी हुन्छ, उनी छोरीको सम्बन्ध टुटाउने प्रयत्नमा थिइन्। तर, ईश्वरी–मोहम्मदको प्रेम लीला भने झन्–झन् चर्काे हुँदै गइरहेको थियो। छोरी प्रेमीलाई लिएर घरमा आउन थालेकी थिइन्। सावित्रीलाई छोरीको नयाँ सम्बन्ध ज्वाइँलाई थाहा होला र उनको घर भाँडिएला भन्ने ठूलो डर थियो। 

यसै बीच एक दिन ईश्वरीले मोहम्मद दुबई जान लागेको खबर लिएर आइन्। सावित्री खुशी भइन्। ईश्वरीले आमालाई यो खबर दिनुको अर्कै स्वार्थ थियो। उनी चाहन्थिन्, मोहम्मदलाई विदेश जाने खर्च आमाले दिऊन्। सावित्रीले छोरीको घर बचाउने प्रयत्नमा उनको प्रस्तावमा नाइँनास्ति गरिनन्। उनैले खर्च दिएर मोहम्मदलाई दुबई पठाइन्। 

प्रहरीका अनुसार सोनामलाई मोहम्मदले ईश्वरीलाई अँगालो मारिरहेको तस्बिर फेसबुकमार्फत पठाए। यही फोटोको कारण घरमा महाभारत मच्चियो। सोनामले ईश्वरी र सासू दुवैलाईर्‍याखर्‍याखती पारे। सावित्रीले सत्य लुकाउन सकिनन्। उनले ज्वाइँलाई छोरीको सारा कर्तुत बताइदिइन्। 

ईश्वरी र उनका श्रीमान् सोनामका बीच धुमधाम झगडा पर्‍यो। यति भएपछि ईश्वरीका नजरमा आफ्नै आमा ‘भिलेन’ भइन्। उनले ‘आमालाई तह नलगाएसम्म मोहम्मदसँगको प्रेम सफल नहुने’ निष्कर्ष निकालिन्। उनले दुबईमा रहेका प्रेमीलाई घरझगडाको बेलीविस्तार लगाइन् र आमालाई जसरी भए पनि ठेगान लगाउने अठोट सुनाइन्। प्रेमीले उनलाई हौसला दिए। त्यसपछि ईश्वरी देशबाट र मोहम्मद विदेशबाट सावित्रीको हत्याका लागि योजना बनाउन थाले। प्रेमिकाले पैसा र प्रेमीले मान्छे जुटाउने काम बाँडफाँड गरे। आमाको हत्याका लागि कसलाई ल्याउने, कति पैसामा ल्याउने लगायत योजना बनिसकेपछि ईश्वरीले मोहम्मदलाई नेपाल बोलाइन्। एक महिना पनि दुबई नबसी राम्रो काम नपाएको भन्दै उनी नेपाल फर्किए। 

तर, नेपाल आए पनि कतै देखानपर्न र आफूलाई सम्पर्क नगर्न ईश्वरीले मोहम्मदलाई भनेकी थिइन्। उनले असार १४÷१५ गतेभित्र आमाको काम तमाम गराउन मोहम्मदलाई राजी गराएकी थिइन्। आफू घरमा नहुने र आमा नातिलाई बिहानै स्कुल पठाएर दिउँसोको समयमा एक्लै हुने भएकाले सोही दिनमा काम गर्नु भनेर मोहम्मदलाई अह्राएकी थिइन्।

सावित्रीको हत्या हुनुभन्दा सात दिनअघि नेपाल आएका थिए, मोहम्मद। उनले योजनाअनुसार अर्जुन कुमार नामले चिनिने भोला कुमारलाई भारतबाट नेपाल बोलाए। दिल्ली बस्ने अर्जुनलाई उनले हत्या गर्नुपर्ने ठाउँ देखाए। तर, अर्जुनले एक्लै गर्न नसक्ने बताए। प्रहरीका अनुसार ‘ठूलो बस्ती छ, मान्छेहरूको आवतजावत धेरै छ’ भन्दै उनले अर्को मान्छे चाहिन्छ भन्न थाले। त्यसपछि मोहम्मद भारत, मधुवनी जिल्ला बस्ने फुपूका छोरा मोहम्मद रहिशलाई लिन गए। प्रहरीका अनुसार सबै कुरा पक्का भएपछि उनीहरूले मधुवनीमै सात सय भारुमा ‘रामपुरी’ छुरी किने। नेपाल फर्किएर मोहम्मद, अर्जुन र रहिश तीनै जना १४ गते कोटेश्वरको गेस्ट हाउसमा बास बसे।

भोलिपल्ट असार १५ गते मोहम्मद ईश्वरीको घर गए। प्रहरीका अनुसार बिहान नौ बजे उनी त्यहाँ पुग्दा ईश्वरीकी आमा सावित्रीले ‘तैँले मेरी छोरीको घरबार बिगारिस्’ भन्दै उनलाई कुच्चोले पिटिन्। उनले भने आफू वैदेशिक रोजगारीमा जाँदा लिएको पैसा फिर्ता दिन आएको बताए। सावित्रीले ‘पैसा खोइ ?’ भनेर माग्दा मोहम्मदले ‘साथीकोमा छ’ भन्दै ढाँटे। उनी ‘घरमा हुनुहुन्छ कि हुनुहुन्न, बुझ्न मात्र आएको’ भन्दै साथीकोमा छाडेको पैसा लिएर आउने भनेर निस्किए। सावित्री पनि नातिलाई स्कुल पुर्‍याउन गइन्। 

स्कुलबाट फर्केर सावित्री घरमा बसिरहेकी थिइन्। त्यही बेला मोहम्मद आफ्ना दुई साथीलाई लिएर आइपुगे। आइपुग्नासाथ उनले सावित्रीको मुख छोपे, अर्जुन कुमारले हात पक्रिए र रहिशले उनको घाँटी रेटे। 

सावित्रीको हत्यापछि तीनै जना आउँदा ल्याएको स्कुटरमा नै कमलविनायकसम्म फर्किए। कोटेश्वरमा भेट्ने सल्लाह गरी कमलविनायकबाट रहिश ट्याक्सीमा गए। मोहम्मद र अर्जुन भने स्कुटरमा नै फर्किए। ईश्वरीले मोहम्मदलाई जुलाई १÷२ तारिखभन्दा अगाडि सम्पर्क नगर्नू भनेकी थिइन्। 

हत्यापछि भने उनीहरू आ–आफ्नो बाटो लागेका थिए। मोहम्मदलाई हत्या भएकै दिन साँझ ७ बजे प्रहरीले गजुरी, धादिङबाट पक्राउ गरेको थियो। उनलाई पक्रिएर सोधपुछपछि अर्जुन र रहिशलाई भने मकवानपुरबाट भोलिपल्ट बिहान ३ बजे प्रहरीले पक्राउ गर्‍यो। तीनै जनालाई पक्राउ गरेपछिको अनुसन्धानबाट भने सावित्रीको हत्यामा मुख्य योजनाकार उनकी छोरी ईश्वरी रहेको खुलेको थियो। उनलाई पनि प्रहरीले पक्राउ गर्‍यो।

प्रहरीका अनुसार रहिश र अर्जुन पैसा लिनका लागि मोहम्मदलाई मकवानपुरमा पर्खिरहेका थिए। उनीहरूको बीचमा १२ लाख रुपैयाँमा ‘डिल’ भएको थियो। महाशाखाबाट अनुसन्धानपछि  अहिले यस हत्याकाण्डलाई भक्तपुर जिल्ला प्रहरीले हेरिरहेको छ। हत्यामा संलग्न चारै जनालाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। 

माइती नै सखाप पार्ने योजना 

२०७२ साल माघ २१ गते काठमाडौँ, टोखा नगरपालिकास्थित साङ्लेखोलानजिकै स्टार टाउनमा माइला महर्जनको लाश फेला परेको थियो। घाँटी, टाउको, निधार, हात र छातीमा धारिलो हतियार प्रहार गरी निशृंस हत्या गरिएको थियो। अघिल्लो दिन माइला आफ्नै छोरी संगीता महर्जनले बोलाएको भन्दै घरबाट निस्किएका थिए। तर, अबेरसम्म घर नफिर्किएका उनी भोलिपल्ट साङ्लेखोला नजिकैको बगरमा मृत फेला परेका थिए। अनुसन्धानबाट प्रेम विवाह गरेकी उनकै छोरी संगीता महर्जन तथा ज्वाइँ सन्तोष पाण्डेले सम्पत्तिका लागि माइलालाई मारेको खुलेको थियो।

घटना भएको करिब दुई वर्षअघि नुवाकोट बस्ने सन्तोषसँग घरपरिवारको सहमतिबिना संगीताले विवाह गरेकी थिइन्। विवाहपछि उनीहरू टोखा, धमलटारमा बस्दै आएका थिए। ब्युटिसियनको तालिम लिएकी संगीताले आफूले प्रेम विवाह गरेपछि दाइजो नपाएको भन्दै बुबासँग पटकपटक तीन–चार लाख रुपैयाँ मागेकी थिइन्। तर, उनलाई माइलाले पैसा दिएका थिएनन्।

आफूले भनेअनुसार पैसा नपाएपछि संगीताले माइतीबाट आमाको नाममा रहेको जग्गाको जग्गाधनी पुर्जासमेत चोरेर श्रीमान् सन्तोषलाई दिएकी थिइन्। तर, अर्काको लालपुर्जाबाट न ऋण निकाल्न मिल्थ्यो, न जग्गा नै बेच्न सकिन्थ्यो। केही काम नलाग्ने भएपछि संगीताले चोरेर ल्याएको लालपुर्जा एक महिनापछि फिर्ता गरिदिएकी थिइन्। यतिञ्जेलमा माइतीले पनि संगीताको बदमासी थाहा पाइसकेका थिए। तर, संगीतालाई आफ्नो कृत्यमा रत्तिभर पछुतो थिएन। यसपछि पनि उनले बाउसँग पैसा माग्न छाडेकी थिइनन्।  जब–जब छोरी संगीताले पैसा माग्थिन्, माइला ‘अहिले छैन, जग्गा बेचेपछि दिउँला’ भन्थे। यति भन्दा पनि छोरीले पैसा माग्न नछाडेपछि उनले बाध्य भएर भनेका थिए, ‘विवाह भइसकेकी छोरीलाई मैले किन पैसा दिने ?’ 

माइतीबाट पैसा नपाउने भएपछि संगीता भने खतरनाक योजनामा लागिन्। उनी बुबा, आमा र दाइलाई मारेर सबै सम्पत्ति आफ्नो बनाउने डरलाग्दो षडयन्त्र बुन्न थालिन्। २०७२ सालको पुस महिनातिर उनले टोखा, धमलटार बस्ने उनका साथी विक्रम तामाङलाई माइती सखाप पार्न ‘सुपारी’ दिइन्। तीन जनाको हत्या गरेबापत विक्रमले १० लाख रुपैयाँ पाउने तय भयो। 

विक्रमले माघ १७ गते माइला महर्जनलाई फोन गरी बानियाँटारको मन्दिरमा बोलाएर मार्ने योजना बनाएका थिए। आफूसँग अन्य चारपाँच जनालाई लिएर गएका उनले माइलाको साथमा अर्का एक जना व्यक्ति पनि आएका कारण त्यो दिन योजना पूरा गर्न सकेनन्। केही दिनपछि संगीता र विक्रमले परिवारलाई नै मार्ने अर्को योजना बनाए। तर, यसपटक विक्रमले पहिलेभन्दा बढी पैसा माग गरेका थिए। उनीहरूका बीचमा ५० लाख रुपैयाँको सहमतिको भएको थियो। 

माघ २० गते दिउँसो संगीताले विक्रमलाई फोन गरी ‘बुबा, आमा र दाइलाई मार्नुपर्छ’ भनेकी थिइन्। विक्रमले उनलाई ‘तिम्रो बुबालाई तिमीले नै बोलाएर बन्दै गरेको नयाँ पुल लिएर आउनू’ भने। योजनाअनुसार संगीता र उनका पति सन्तोष साँझ साढे ६ बजे माइलालाई घर बोलाउन गए। ‘घर ठेक्कामा लिनका लागि नक्सा लिएर मान्छेहरू भेट्न आएका छन्’ भन्दै दुवैले माइलालाई साङ्लेखोला किनारमा रहेको स्टार टाउन नजिकैको निर्माणाधीन पुलमा लगेका थिए। पुलमा हम्मर, खुकुरी र चक्कु बोकेर विक्रम तामाङ, सूर्य राना मगर, हाँस भनिने धनकुमार राई उनीहरूलाई कुरिरहेका थिए। 

पुलमा पुगेपछि संगीताले आफ्नै बाबुको आँखामा बालुवा हालिदिइन्। त्यसपछि ‘सुपारी’ लिएको विक्रमको टोलीले उनलाई भएभरका हतियारले प्रहार गरेको थियो। माइलाको हत्यापछि परिवारका अरू सदस्यको पनि हत्या गर्ने योजना थियो, तर अरूले थाहा पाउने शंका भएपछि उनीहरू आ–आफ्नो घरतिर लागे। 

प्रहरीले अपराधी पत्ता लगाउन समय लगाएन। बेलुकीपख देखिएका छोरी–ज्वाइँलाई शंकाको घेरामा राखेर अनुसन्धान गर्दा माथिको तथ्य सामुन्ने आयो। महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले संगीता र उनका श्रीमान् सन्तोषसँगै अन्य पाँच जनालाई अभियुक्तका रूपमा पक्राउ गरेपछि उनीहरूले आफ्नो अपराध कबुले।  आफ्नो प्रेम विवाह अस्वीकार गरेको र सम्पत्ति नदिएको कारण संगीता र उनका श्रीमान्ले ‘सुपारी’ दिएर माइलाको हत्या गरेका थिए।

प्रेमीसँग मिलेर पतिको हत्या 

विवाह भएको केही महिनामै लक्ष्मी बडैला विष्टले पति तेजबहादुर विष्टको हत्या गराइन्। गत वर्ष असार ९ गते लक्ष्मीले प्रेमीसँग मिलेर कैलालीको चुरे गाँउपालिकास्थित भासुभिरबाट खसालेर पतिको हत्या गराएकी थिइन्। 

वैशाख १६ गते कञ्चनपुर, पुनर्वास नगरपालिका–२ का २४ वर्षीय तेजबहादुरसँग २२ वर्षीया लक्ष्मीको मागी विवाह भएको थियो। विवाहअघि आफूलाई भगाएर लैजान आग्रह गर्दा उनका प्रेमी कैलाली, गोदावरी नगरपालिका–१२, खमौराका बसचालक २४ वर्षीय दीपक खत्रीले मानेनन्। विवाहमा लक्ष्मीलाई परिवारले जबर्जस्ती गरेको थिएन। सहमतिमा नै परिवारले उनको विवाह गरिदिएको थियो। तर, विवाह भएपछि पनि दीपक र लक्ष्मीको सम्बन्ध टुटेन। उनीहरूको प्रेममा तेजबहादुर तगारो बनेका थिए। 

विवाहपछि पढाइ अगाडि बढाउने भन्दै लक्ष्मी माइत बस्दै आएकी थिइन्। असार ८ गते आफूलाई घर लैजान भन्दै उनले तेजबहादुरलाई आफ्नो माइती गोदावरी नगरपालिकामा बोलाइन्। तर, लक्ष्मीको उद्देश्य खतरनाक थियो। 

योजनाअनुसार लक्ष्मीले प्रेमी दीपकलाई तेजबहादुरलाई फोन गर्न अह्राएकी थिइन्। उनले ‘म तपाईंको साढु भाइ इन्द्र हुँ’ भन्दै फोन गर्न लगाएकी थिइन्। सोही अनुसार दीपकले तेजबहादुरलाई फोन गरेर अत्तरिया बोलाए। साँझ ७ बजे उनीहरूको भेट भयो। दीपकले तेजबहादुरलाई कर गरी–गरी राति ९ बजेसम्म रक्सी खुवाए। त्यही बेला लक्ष्मीले फोन गरेर तेजबहादुरलाई इन्द्र अर्थात् दीपकसँग घर आउन भनिन्। तर, रक्सीले मातेका उनको हालत मोटरसाइकल कुदाउन सक्ने थिएन। दीपक मोटरसाइकल चलाइरहेका थिए। गोदावरी नगरपालिका हुँदै खानीडाँडाको बाटोबाट राति २ बजे भासुभिरमा पुगेर दीपकले मोटरसाइकल रोके। रक्सीका कारण तेजबहादुर अर्धबेहोश थिए। भासुभिरमा मोटरसाइकल रोकेर दीपकले उनको टाउको लट्ठीले बेस्कन हिर्काए। तेजबहादुर बेहोश भएर भुइँमा लडेपछि दीपकले उनलाई भिरबाट गुल्टाइदिए। 
त्यसपछि दुर्घटनाजस्तो देखियोस् भनेर मोटरसाइकललाई पनि भिरबाट तल फालिदिए। दीपक राति एक्लै हिँडेर खानीडाँडा पुगे र बिहान घर गए।

असार ८ गते साँझबाट पटक–पटक सम्पर्क गर्न खोज्दा पनि तेजबहादुरसँग परिवारको सम्पर्क हुन सकेको थिएन। अप्रिय खबरको आशंकामा परिवारले जिल्ला प्रहरी कार्यालय कैलालीमा उनी हराएको निवदेन दियो। पाँच दिन खोजेपछि बल्ल प्रहरीले तेजबहादुरको लाश भेट्यो। परिवारले दुर्घटना नभई हत्या भएको शंकामा प्रहरीलाई तथ्य खोजबिनका लागि दबाब दिएपछि प्रहरीले घटनास्थलमा भेटिएको रगतको आधारमा अनुसन्धान अगाडि बढायो। दुर्घटना भएको भए बाटोमा रगत कहाँबाट आयो भन्ने प्रश्नको खोजी गर्दै जाँदा प्रहरीको शंका लक्ष्मीमा गएर अडियो। प्रहरीले लक्ष्मीको कल डिटेल हेर्दा दीपकको नम्बरमा घण्टौँसम्म कुरा गरेको भेटियो। कल डिटेलकै आधारमा प्रहरीले दीपकलाई असार ११ गते दिउसो पक्राउ गर्‍यो। उनले केरकारको केही छिनमै अपराध कबुल गरे। 

भिरबाट खसाल्नुअघि दीपकले ‘लक्ष्मीलाई किन कुटिस्’ भन्दै तेजबहादुरलाई लट्ठीले टाउकोमा हानेका थिए। कुटपिटका क्रममा तेजबहादुरको टाउकोबाट रगत बगेको थियो। प्रहरीका लागि बाटोमा भेटिएको रगत तेजबहादुरको हत्या भएको थाहा पाउने कडी बन्यो। 

अनुसन्धानका क्रममा लक्ष्मीले दीपकलाई पतिको हत्या गर्न लगाएको खुल्यो। प्रहरीका अनुसार लक्ष्मीले आफूलाई पति तेजबहादुरले कुटपिट गरेको र प्रेममा बाधा बनेको कारण प्रेमी दीपकलाई हत्या गर्न लगाएकी थिइन्। 

देवरसँग मिलेर पतिको हत्या 

चार वर्ष वैदेशिक रोजगारीमा कतारमा रहेका रौतहट, करुनिया–२ का अभिनन्दन साह २०७३ साल कात्तिक १२ गते नेपाल फर्किएका थिए। उनकी २५ वर्षीया श्रीमती शकुन्तला भने श्रीमान् घरमा नहुँदा २५ वर्षीय देवर मनीषकुमार सुमनसँग प्रेम सम्बन्धमा थिइन्। मनीष अभिनन्दनका काकाका छोरा थिए। उनी अभिनन्दनकै घरमा बस्ने गरेका थिए। पुस २३ गते श्रीमतीले प्रेमी मनीषसँग मिलेर अभिनन्दनकोे हत्या गरिन्।

नेपाल फर्किएर अभिनन्दनले यतै केही गर्ने सोच बनाएका थिए। श्रीमान् नेपालमा बस्ने भएपछि शकुन्तला र मनीषको प्रेम अगाडि बढ्न पाएन। श्रीमतीको मोबाइलमा अत्यधिक फोन आउन थालेपछि अभिनन्दनले उनलाई ‘कसले किन फोन गरेको ?’ भनी सोधखोज गर्न थाले। श्रीमतीले ‘तिमीलाई किन चाहियो ?’ जस्ता जवाफ दिने गरेकी थिइन्। अभिनन्दनले मनीषलाई ‘मेरो श्रीमतीको मोबाइलमा एकदम धेरै फोन आयो, कसको हो, हेरिदे न’ भनेर मनीषसँगै सहयोग मागेका थिए। तर, उनले केही दिनमै श्रीमतीलाई बारम्बार आउने फोन मनीषको रहेको पत्ता लगाएका थिए। त्यसपछि उनले मनीषलाई ‘किन मेरो श्रीमतीलाई फोन गरेको ?’ भनेपछि उनीहरूबीच भनाभन सुरु भएको थियो।

वैदेशिक रोजगारीमा हुँदा फैलिएको उनीहरूको प्रेम अभिनन्दन नेपाल आएपछि भने खुम्चिएको थियो। प्रेममा बाधा पुर्‍याएको भन्दै शकुन्तलाले नै मनीषलाई श्रीमान्को हत्या गर्न उकासेकी थिइन्। योजनाअनुसार मनीषले अभिनन्दनलाई ‘सानो काम छ’ भन्दै कामदेही खोलाको किनारमा पुर्‍याएर हत्या गरेका थिए। 

एकान्त ठाउँमा अभिनन्दनलाई मनीषले पछाडिबाट टाउकोमा रड प्रहार गरे। बेहोश भएर भुइँमा ढलेका उनको मनीषले 
चक्कुले घाँटी रेटेर हत्या गरेका थिए। 

हत्या भएको अघिल्लो दिन घरमा शकुन्तलालाई अभिनन्दनले कुटपिट गरेका थिए। झगडा भएपछि उनले मनीषलाई ‘हाम्रो प्रेममा यसले बाधा पुर्‍यायो, यसलाई मार्नुपर्छ’ भन्दै अभिनन्दनको हत्या गर्न उक्साएकी थिइन्। उनीहरूको प्रेम नै  अभिनन्दनको ज्यान जाने कारण रहेको प्रहरी अनुसन्धानको निष्कर्ष थियो।

भिनाजुसँग मिलेर श्रीमान्को हत्या

बुटवल, मैनाबगर बस्दै आएका फिरोज खानको जीवन सुखदै थियो। करिब २० वर्षअघि भारतको बिहारबाट नेपालमा रोजगारीका लागि पसेका उनी ज्योति इन्जिनियरिङको हेड मिस्त्री थिए। बिहानै जागिरमा जानु, काम गर्नु, साँझ घर फर्किनु उनको दिनचर्या थियो। बुटवलमै आएपछि उनले साहिन खातुनसँग बिहे गरे। दुई छोरा रहिन र राहेशसँग उनको जीवन रमाइलोसँग बितिरहेको थियो।

गत वर्षको चैत १२ गते सधैँजस्तो रहेन। घरमा भारतीय नम्बर प्लेटको मोटरसाइकल लिएर उनका साढु दाइ आएका थिए। गढीटोलमा भाडामा लिएको घरमा छोराहरू थिए। श्रीमती भित्र थिइनन्। फिरोज सधैँजस्तै ड्युटी सकेर घर फर्किंदै थिए। तर, घरभित्र पस्न पाएनन्। घरको ढोकामा पुग्दै थिए, पछाडिबाट कसैले अँगालो हालेजस्तै गर्‍यो। उनको ढाडमा गोली लाग्यो। पछाडिबाट हानिएको गोली छाती छेड्दै बाहिर निस्कियो। फिरोज रगतको आहालमा डुबे। छोराहरू चिच्याउँदै बाहिर निस्किए। छिमेकीहरू आउन थाले। त्यतिञ्जेलसम्म भारतीय नम्बर प्लेटको मोटरसाइकल गायब भइसकेको थियो। फिरोजलाई अस्पताल पुर्‍याइयो। लुम्बिनी प्रादेशिक अस्पतालका डाक्टरले उनलाई मृत घोषणा गरे।

उनको कसरी हत्या भयो भन्ने अनुमान लगाउन प्रहरीले एक दिन पनि ढिला गरेन। उनकी श्रीमती साहिनमाथि शंका गर्‍यो। प्रमाणसमेत फेला परे। कहिल्यै श्रीमतीसँग झगडा नगरेका फिरोज उनीबाटै मारिए। कारण थियो, साहिनको भिनाजुसँगको प्रेम। प्रहरीले साहिनको मोबाइल हेर्‍यो। भिनाजुलाई कल गरिएका केही नम्बर डिलिट भइसकेका थिए। केही नम्बरले शंका देखायो। कल डिटेल हेर्दा उनीहरूको सम्बन्ध तीन वर्षदेखि रहेको भेटियो। भिनाजु कादिर अन्सारीले साहिनकी दिदीको मृत्यु भएपछि सालीसँग हिमचिम बढाएका थिए। उनीहरूको प्रेमले फिरोजको ज्यान लियो। साहिन अहिले जेलमा छिन्। कादिर फरार छन्। नाबालक दुई छोरा भारतको बिहारमा आफन्तकहाँ छन्। 

अपराधको ‘त्रिकोण’

अपराध हुनलाई बन्नुपर्ने ‘त्रिकोण’ पारिवारिक अपराधमा सजिलै पूरा हुने तर्क गर्छन्, महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षत्री। ‘मानिसले अपराध गर्नुअगाडि अपराधबारे सोच्ने, आफ्नो क्षमता विकास गर्ने र उचित अवसर पर्खिने गर्छ,’ उनी भन्छन्, ‘परिवारभित्रै हुने यस्ता अपराधमा यो त्रिकोण सजिलै पूरा हुन्छ। अन्य अपराधमा प्रहरीले हस्तक्षेप गर्न सक्ने भए पनि परिवारभित्र हुने अपराधमा भने प्रहरीले हस्तक्षेप गर्ने अवस्था हुँदैन।’ 
परिवारभित्रका कुराहरू सूचनाका रूपमा प्रहरीसम्म नआइपुग्ने भएकाले पनि यस्ता अपराधलाई प्रहरीले रोक्न सक्ने स्थिति नहुने उनी बताउँछन्। ‘परिवारभित्र के–के भइरहेको छ भन्ने कुराको सूचना हामीसम्म आइपुग्दैन,’ डीआईजी क्षत्री भन्छन्, ‘सूचना नभएपछि हामीले अपराध हुँदै छ भनेर थाहा पाउने कुरा पनि हुँदैन। त्यसमाथि, परिवारका सदस्य बीचमा अवसर पनि सजिलै पाउने भएकाले यस्ता अपराध हुनबाट प्रहरीले रोक्न सक्ने सम्भावना कम हुन्छ।’

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी सहकुल थापा ‘थ्री डब्लू’का कारण यस्ता घटना हुने तर्क गर्छन्। एसएसपी थापा भन्छन्, ‘हरेकजसो घटना थ्री डब्लू अर्थात् वाइन, वुमन र वेल्थका कारण हुने गरेको पाइन्छ। मादक पदार्थ, महिला र सम्पत्तिका कारण धेरै डरलाग्दा घटना भएका छन्। थ्री डब्लूबाट बच्न सके अपराध हुन सक्ने सम्भावना कम हुन्छ।’ परिवारभित्रै यस्ता घटना हुने भएकाले प्रहरीले गस्ती गर्ने अवस्था पनि नहुने उनको भनाइ छ। 
‘आफूमाथिको नियन्त्रण गुमाएपछि यस्ता घटना हुन्छन्,’ एसएसपी थापा भन्छन्, ‘यस्ता घटना हुनबाट रोक्न प्रहरीले 
गस्ती गर्न मिल्ने परिस्थिति हुँदैन।’ 

समाजशास्त्री नेत्रकुमार ओझा मानिसले आफूले खोजेको जस्तो अवस्था नभएपछि यस्ता अपराध हुने तर्क गर्छन्। ‘हाम्रो समाजका प्रचलित मूल्य–मान्यताका कारण मानिस आफूले चाहेको जस्तो गर्न पाउँदैन,’ उनी भन्छन्, ‘उसमा चरम व्यक्तिवादी सोचको विकास हुन्छ र जसले अपराध गर्न उक्साउँछ।’ समाजमा भएको यौनिकताको विमर्शका कारण प्रेमी–प्रेमिकाले आफूले भनेजस्तो परिस्थिति नपाउँदा  अपराध हुने गरेको उनको तर्क छ। समाजशास्त्री ओझा भन्छन्, 
‘विभिन्न प्रकारले भइरहेका यस्ता घटना व्यक्तिवादी सोचका प्रस्फुटन हुन्। गर्न हुने के, गर्न नहुने के भन्ने कुरालाई हाम्रो समाजले एक खाले परिभाषामा बाँधेको छ। यस्ता बन्धनले व्यक्तिको स्वतन्त्रालाई नियन्त्रण गरिरहेको हुन्छ। परिणामतः यस्ता घटना हुने गर्छन्।’ 

(बुटवलबाट लक्ष्मण पोखरेलको सहयोगमा) 


‘परिवारमा पर्याप्त संवाद हुनुपर्छ’

 

डीआईजी शैलेश थापा क्षत्री, प्रमुख, महानगरीय प्रहरी कार्यालय, रानीपोखरी, काठमाडौं ।

भर्खरै भक्तपुरमा भएको घटना उदेकलाग्दो छ। हाम्रो समाजमा अन्तरजातीय प्रेम गर्न सक्नु नै सामान्य रूपमा अपराधका रूपमा लिइने गरिन्छ। पहिला नै अन्तरजातीय विवाह गरेकी युवती पछि फेरि नेपाली समाजमा सहज रूपमा नलिने किसिमको प्रेममा परेको देखिन्छ। उनले सुरुवातमा विवाह गर्दा गरेको निर्णय नै ‘बोल्ड’ किसिमको छ। सामान्य मान्छेले अन्तरजातीय प्रेम गर्ने वा विवाह गर्ने निर्णय गर्न सक्दैनन्। 

यस्ता घटना हुनुको पछाडि पारिवारिक रूपमा हुने गरेको जेनरेसन ग्याप, परिवारमा राम्रोसँग कुराकानी नहुनु, एकले अर्को सदस्यलाई आफ्नो कुरा नसुनाउनुजस्ता कारण हुन सक्छन्। भक्तपुरकै घटनालाई हेर्दा आमा र छोरीको बीचमा जेनरेसन ग्याप रहेको देख्न सकिन्छ। छोरीले आफ्नो श्रीमान् हुँदाहुँदै पनि बाहिर सम्बन्ध भएको कुरा आमालाई बताउन सक्थिन्। यस्ता कुरा सही÷गलत भन्ने विषयमा उनीहरूबीच छलफल हुन सक्थ्यो। भक्तपुरको घटनामा आमा पढेलेखेकी थिइनन्। उनका निम्ति आफ्नी विवाहित छोरीले अर्को पुरुषसँग सम्बन्ध राख्नु महापाप थियो। तर, समयमै आमाछोरीका बीचमा पर्याप्त कुराकानी भएको भए यस्तो घटना हुने सम्भावना कम हुन्थ्यो। 

अपराध हुनलाई एउटा ‘त्रिकोण’ बन्नुपर्छ। पहिला कसैले कसैलाई मार्छु भन्ने सोच विकास गर्छ। तर, सोच्दैमा मात्र अपराध हुँदैन। मार्नका लागि सोच्ने मान्छेले आफ्नो क्षमता अभिबृद्धि गरिरहेको हुन्छ। हातहतियार किन्नेजस्ता कुरा गर्छ। त्यसपछि भने मार्ने अवसर कुर्न थाल्छ। अपराध हुनका लागि यी तीन कुरा पूर्ण भएर एउटा ‘त्रिकोण’ बन्छ। आपराधिक घटना हुनबाट रोक्न प्रहरीले यी तीन कुरालाई पूर्ण हुन दिँदैन। कहिलेकाहीँ गाडीमा खोजतलास गर्नेजस्ता कार्य यो त्रिकोण पूर्ण नहोस् भनेर गरिन्छ। कसैसँग कुनै हतियार छ भने त्यसले अपराध गर्ने मानसिकताले आफ्नो क्षमता वृद्धि गरिरहेको बुझिन्छ। प्रहरीले यस्तो अवस्थामा हस्तक्षेप गरेर अपराध हुनबाट रोक्छ। परिवार बाहिर हुने अपराधमा प्रहरीले हस्तक्षेप गर्ने अवसर पाउँछ, जसले अपराध हुन आवश्यक पर्ने त्रिकोण पूर्ण हुँदैन।

तर, परिवारभित्रै हुने अपराध भने ‘क्लोज रिङ’ भएकाले प्रहरीले त्यहाँ गएर हस्तक्षेप गर्ने अवस्था कम हुन्छ। उदाहरणका लागि, कुनै बाबुले छोरीलाई मार्ने मनसायले कतै लैजाँदै छ भने पनि त्यहाँ गएर प्रहरीले हस्तक्षेप गर्ने कुरै हुँदैन। उनीहरूबीच बाबु–छोरीको सम्बन्ध हुन्छ र त्यहाँ प्रहरीले गएर ‘कहाँ लिएर गएको ?’ भन्ने कुरा हुँदैन। 

परिवारमा भएका कुराहरू प्रहरीसम्म सूचनाका रूपमा आइपुग्दैनन्। सूचना नभएपछि अपराध हुँदै छ भन्ने थाहा हुँदैन। अर्कातिर, परिवारमा सँगै बस्नेहरूबीच अवसर पनि धेरै हुन्छन्, जसले गर्दा उनीहरूमा विकास भएको आपराधिक 
मानसिकताले सजिलै ‘त्रिकोण’ पूरा हुन्छ। 

यस्ता अपराधलाई कसरी हुनबाट रोक्ने त भन्ने प्रश्न उठ्छ। सबैभन्दा पहिले त अभिभावकका रूपमा हामीले आफ्ना सन्तानले सबै कुरा आमाबुबासँग गर्छन्-गर्दैनन् भन्ने जान्न आवश्यक छ। आफ्नो घरलाई ‘घर’को रूप दिन आवश्यक हुन्छ, ‘बहालमा बसेको घर’ होइन। छोराछोरी र आमाबाबुबीच पर्याप्त संवाद भएमा केही मात्रामा यस्ता अपराध कम हुन सक्छन्। तर, हाम्रो समाजमा परिवारभित्रै पनि सन्तान र आमाबुबा वा अन्य सदस्यका बीचमा खुल्ला भएर कुराकानी गर्न सक्ने वातावरण रहेको पाइँदैन। आमाबाबुले छोराछोरीलाई गर्ने व्यवहारले पनि फरक पारिरहेको हुन्छ। यदि आफ्नो सन्तान कसैसँग प्रेममा छ भने त्यस विषयमा ऊसँग बसेर आमाबुबाले सरसल्लाह गर्न सक्ने वातावरण हाम्रो समाजमा छैन।

घरमा परिवारका सदस्यबीच सरसल्लाह हुने वातावरण आवश्यक छ। जब आफ्ना कुरा परिवारसँग साटिन्छन्, त्यहाँबाट केही न केही निष्कर्ष निस्कन्छ। समस्या भए त्यसको समाधान हुन्छ। जब परिवारका सदस्यबीच आवश्यक संवाद हुन थाल्छ, यस्ता आपराधिक घटना हुने सम्भावना कम हुन्छ। 


‘चरम व्यक्तिवादिता एउटा कारण हो’ 

नेत्रकुमार ओझा, समाजशास्त्री।

भक्तपुरमा युवतीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको घटना हाम्रो समाजमा बिरलै हुने घटना हो। यस्ता घटनालाई लिएर सिंगो समाजको मनोविज्ञान बुझ्ने कुरा उपयोगी हुँदैन। यस्ता घटना नेपाली समाजको मूल चरित्रसँग खासै जोडिएका हुँदैनन्। प्रतिनिधि घटनाका रूपमा पनि यी घटना रहँदैनन्। 

चरम व्यक्तिवादिताको कारण यस्ता घटना हुने गर्छन्। मान्यताविहीनता, विचलित मानसिकता, अपराधको संस्कृति, पुँजीवादी सोच, भूमण्डलीकरण,  बजारको संस्कृतिजस्ता तत्त्वहरूले यस्ता घटना हुनुका पछाडि भूमिका खेलिरहेका हुन्छन्।
भक्तपुरकै घटनाको उदाहरण लिँदा युवतीकी आमाले ‘पहिलाको श्रीमान्लाई डिभोर्स गरेर आफ्नो प्रेम सम्बन्ध अगाडि बढाऊ’ भनेको भए सायद त्यस्तो घटना हुँदैनथ्यो। तर, हाम्रो समाजको सांस्कृतिक मान्यता र इज्जतको कारण आमाले पनि छोरीलाई त्यस्तो भन्न सकिनन्। बरु, नयाँ सम्बन्ध त्याग भन्ने कुरा आएको देखिन्छ। पश्चिमी मुलुकमा भए सजिलै डिभोर्स गरेर नयाँ सम्बन्ध स्थापित गर्ने स्वतन्त्रता थियो। तर, हाम्रोमा त्यो छैन। समाजले स्थापित गरेको नीति–नियमसँग युवती र उनको प्रेमीको सोच मेल नखाएपछि उनीहरूको व्यक्तिवादी सोचका कारण यस्तो घटना हुन पुगेको भन्न सकिन्छ। 

गर्न हुने के हो ? गर्न नहुने के हो ? भन्ने कुरालाई हाम्रो समाजले एक खाले परिभाषामा बाँधेको छ। भक्तपुरकै घटनालाई हेर्दा युवतीले समाजले स्थापित गरेको मान्यताभन्दा बाहिर आफूलाई लगेकी थिइन्। त्यसैले सामाजिक मूल्य–मान्यताबाट बच्नकै लागि उनले आमाको हत्या गरेको देखिन्छ। आफ्नो अनैतिक सम्बन्धको भेद खुल्छ भन्ने डरका कारण यस्ता घटना हुने गरेको देखिन्छ। 


‘परिवारभित्र प्रहरीले गस्ती गर्न सक्दैन’ 

एसएसपी सहकुल थापा, प्रमुख, महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु, काठमाडौँ।

हाल समाजमा भइरहेका अपराधका सामान्यतया तीन कारण छन्जस्तो लाग्छ। ‘थ्री डब्लू’ अर्थात्, वुमन, वाइन र वेल्थ। अर्थात्, महिला, मादक पदार्थ र धनसम्पत्ति। यी तीन कुराले गर्दा समाजमा अपराध भइरहेको देख्न सकिन्छ। मानसिक कारणले पनि यस्ता अपराध भइरहेका हुन सक्छन्। 

भक्तपुरको घटना हेर्दा त्यो घटना पनि यिनै कारणमध्ये एक कारणले भएको देख्न सकिन्छ। जो युवती थिइन्, उनी प्रेममा परेकी थिइन्। त्यसै पनि प्रेमलाई अन्धो भनिन्छ। आफ्नो प्रेमका लागि उनले अन्य कुरालाई वास्ता नगरी आफूलाई सन्तुलनमा राख्न सकिनन्। प्रेमकै लागि उनले आफ्नो परिवार पनि भनिनन्, आमा पनि भनिनन्। यो अपराधमा पनि एउटा कारण ‘वुमन’ले गर्दा अपराध भएको देखिन्छ। 

परिवारभित्र हुने घटनामा यस्ता कारणले भूमिका खेलिरहेका हुन्छ्न। सम्पत्ति, प्रेम र मादक पदार्थका कारण परिवारभित्र नै अपराध हुने गरेको पाइन्छ। 

‘थ्री डब्लू’का कारण हुने अपराधमा मानिसले केही पनि सोचिरहेको हुँदैन। प्रेममा परेपछि प्रतिकूल परिस्थितिलाई आफूअनुकूल बनाउन यस्ता घटना भइरहेको देखिन्छ। 

हरेक कुरालाई सन्तुलित रूपमा लिने हो भने मानिसमा आपराधिक मानसिकताको विकास हुँदैन। चिजहरू असन्तुलित भएपछि मानिसले आफैँमाथिको नियन्त्रण गुमाउँछ र अपराधमा संलग्न हुन्छ। 

अप्रिय घटना हुन नदिनलाई परिवारले नै भूमिका खेल्न आवश्यक छ। प्रहरीले परिवारभित्र गएर गस्ती गर्ने कुरा हुँदैन। त्यसैले आफूले आफूलाई सन्तुलित बनाउनुपर्छ। यसो भएमा अपराध हुने सम्भावना कम हुन्छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.