सडक नखुल्दा जनजीवन प्रभावित
ओखलढुंगा : एक सातादेखि ओखलढुंगाका विभिन्न सडक अवरुद्ध हुँदा स्थानीयको जनजीवन प्रभावित भएको छ। अविरल वर्षाका कारण आएको बाढीपहिरोले भत्किएका सडक अझै सुचारु हुन सकेका छैनन्।
पहिरोले सिद्धिचरण राजमार्गका विभिन्न स्थानमा अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध भएपछि ओखलढुंगा, खोटाङ र सोलुखुम्बाट काठमाडौं तथा विराटनगर आवतजावत गर्ने सवारी चल्न सकेका छैनन्।
जिल्ला सदरमुकामबाट गाउँ जाने सडक समेत पुरै अवरुद्ध छन्। रामपुर, प्राप्चा सडक, भदौरे कुइभीर सडक, रुम्जाटार माम्खा सडक, ज्यामिरे च्यामन सडक र कुन्तादेवी घोराखोरी सडक अवरुद्ध भएका छन्।
सडक अवरुद्ध हुँदा आवगमन ठप्प छ भने जनजीवन अस्तव्यस्त बनेको छ। सडक अवरुद्ध हुँदा उपभोग्य लगायत अन्य वस्तु अभाव हुने अवस्था आएको उद्योग बाणिज्य संघका उपाध्यक्ष पूर्णकुमार श्रेष्ठले बताए। सडक अवरुद्ध हुँदा व्यापार व्यवसायमा करोडौं घाटा लागेको र उपभोक्ता मारमा परेको उनको भनाइ छ।
सरोकारवाला सबै मिलेर सडक खुलाउन पहल गर्नु पर्ने श्रेष्ठले बताए। लगातारको वर्षाका कारण गएका पहिरो पन्छाउन नसकेपछि राजमार्गको खटारी खण्ड अवरुद्ध छ भने मध्यपहाडी राजमार्गका दजनौं स्थानमा खसेका पहाडका कारण सगरमाथाका तीन जिल्लाको अन्य जिल्लासँगको सम्पर्क टुटेको छ।