पीडितलाई राहत बाँड्न ढिलाइ

पीडितलाई राहत बाँड्न ढिलाइ

जनकपुरधाम : प्रदेश २ मा बाढीबाट ३२ जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता छन्। हजारौं घरबारविहीन भई सडक र सार्वजनिक स्थलमा बस्न बाध्य छन्। बाढीमा सबै सिरिखुरी गुमाएकालाई दुई छाक टार्न पनि धौ धौ छ। बाढी प्रभावितलाई राहत वितरण गर्न पनि उस्तै ढिलाइ भइरहेको छ।

सिरहा नगरपालिका—६ बसपिटा गाउँमा स्थानीय युवाले चन्दा संकलन गरेर कमलाको बाढी पीडितलाई मंगलबार राहत बाँडे। उनीहरूले डेढ सय दलित घरपरिवारलाई चिउरा, भुजा, चाउचाउ र पानी बाँडे। सरकारले राहत वितरण नगर्दा बाढी पीडित बिचल्लीमा छन्। यो वडामा ४ सय घरभन्दा बढी डुबानमा परेको छ।

पहिलो राहत स्थानीय युवाबाट पाएको बाढी पिडित धनेश्वर महराले बताए। ‘बाढीले घर बगायो, अन्न बचेन,’ उनले भने, ‘चार दिनपछि बल्ल राहतमा चिउरा, भुजा, दालमोट पाएँ।’ छिमेकीसँग मागेको खाएर दिन बिताएको उनले सुनाए। उनको ६ जनाको परिवार आधारभूत विद्यालयमा आश्रय लिएका छन्।

‘गाउँमा बाढी पीडितको अवस्था दयनीय बन्दै गएको छ, कतैबाट राहत आएको छैन’, स्थानीय इन्द्रजीत यादवले भने, ‘तत्कालका लागि पुग्ने भए पनि खाद्यान्न बाँड्न चन्दा उठायौँ।’ स्थानीय सरकार भनेका जनप्रतिनिधिको उपस्थिति नदेखिएको उनले सुनाए। संकलित रकमले खाद्यान्न किनेर बाँडेको उनले बताए। उनका अनुसार गाउँको बाटो र घर अझै पानीमा चुर्लुम्म डुबेका छन्। बासको समस्या छ।

वडा नम्बर १२ सारश्वर गाउँका पीडितले पनि चिउरा, भुजा, दालमोट, बिस्कुट मात्र पाएका छन्। जिल्लामा धेरै क्षति कमलाको बाढीले सिरहा नगरपालिकाको वडा नम्बर १२, ६, १७ मा गरेको छ। हजारभन्दा धेरै घरमा अहिले पनि पानी छ। बाँध फोडेर गाउँ पसेको कमलाको बाढी रोकिएको छैन।

घरबारविहीनले स्कुल र छिमेकीको घरमा आश्रय लिएका छन्। त्रिपालसमेत पाएका छैनन्। ‘नगरभरिका पीडितलाई बाँड्न २५ सयभन्दा बढी त्रिपाल र सुत्ने म्याट चाहिएको छ’, मेयर अशेश्वर यादवले भने, ‘कुनै पसलमा नपाइकाले वितरण गर्न सकेका छैनौं।’ वडा नम्बर १७ का पीडितलाई पटेर्वा विद्यालयमा भोजनको व्यवस्था गरेको उनले बताए।

बाढीपीडित कल्याणपुर नगरपालिका–३ इटारीप्रसाहीमा नगरपालिकाले मंगलबार देखि बल्ल खानाको व्यवस्था गरेको छ। दुई सयभन्दा बढी पीडितलाई मावि प्रसाहीमा राखिएको मेयर सूर्यनाथ मण्डलले बताए। ‘पीडितलाई तत्कालका लागि खाना व्यवस्था गरिएको छ’, उनले भने, ‘स्वास्थ्यकर्मीको टोली पनि खटाइएको छ।’

औरही गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म ४ सय घरपरिवार गागन खोलाको बाढी प्रभावित भएको गाउँपालिका अध्यक्ष सिदार्थ यादवले जानकारी दिए। पहिलो चरणमा चिउरा, भुजा, दालमोट र खाद्यान्न बाँडेको उनले बताए। ‘चारैतिरबाट गाउँपालिका आउने सडक अवरुद्ध छ,’ उनले भने, ‘आवतजावत सहज भएपछि राहत बाँड्छौं।’

कर्जन्हा नगरपालिका–३ सुन्दरपुरका बाढी पीडित ५५ घरपरिवारलाई नगरपालिकाले त्रिपाल वितरण गरेको मेयर गंगा पासमानले बताए। पीडित अहिले पूर्वपश्चिम लोकमार्गछेउ त्रिपाल टाँगेर बसिरहेका छन्। नगरपालिका र संघसंस्थाको सहयोगमा केही छाक खाना व्यवस्था गरिएको उनले बताए।

पीडितको तथ्यांक नपाउँदा र बाटो भत्केकाले राहत वितरणमा समस्या भएको रेडक्रस शाखा सिरहाका कार्यक्रम संयोजक अशोक यादवले बताए। ‘रेडक्रससँग राहत बाँड्न १५ सय त्रिपाल छ, ५ सय परिवारका लागि फुल प्याकेज राहत सामग्री दिने योजनामा छौँ,’ उनले भने, ‘तथ्यांक संकलन भए पनि आइसकेको छैन। बाटो पनि अवरुद्ध छ।’

लगत संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले तत्कालका लागि स्थानीय तहले खानाको व्यवस्था गरिरहेको छ। ‘हामीलाई ३ हजार त्रिपाल प्राप्त भएको छ। जिल्लामा एक ठाउँमा राहत संकलन गरी स्थानीय तहमार्फत वितरण गरिनेछ,’ उनले भने, ‘लगत संकलन भएपछि खाद्यान्न सामग्रीलगायत राहत वितरण हुन्छ।’ मंगलबार सम्मको प्रारम्भिक तथ्यांकअनुसार बाढीबाट सिरहामा ५ हजार २० घर पूर्ण र ९ हजार ६३ घर आंशिक रुपमा क्षति भएको छ। ७० हजार प्रभावित छन्।


मन्त्रीहरूबाट एक महिनाको तलब

अविरल वर्षा र बाढीले प्रभावित प्रदेश २ का परिवारलाई सहयोग गर्न प्रदेश २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीले एक महिनाको तलब दिने भएका छन्।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले राहत, उद्धार तथा पुनःस्थापना तीव्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब राहतमा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले साउन १ देखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यलाई आ–आफ्नो क्षेत्रमा राहतमा जुटन आग्रह गरेको छ।

प्रभावित परिवारलाई राहतमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दीपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहेको राहत आपूर्ति तथा अनुगमन समिति गठन गरेको छ। समितिले राहतमा आवश्यक सामग्री आपूर्तिसहित अनुगमन र निरीक्षण गर्नेछ।

( शम्भू यादव/सिरहा, फणि महत/रौतहट, क्रान्ती साह/विरगंज)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.