मान्छे बेच्दै, भाग्दै

मान्छे बेच्दै, भाग्दै

पाँच महिनामा विश्वका ६ स्थानबाट २ सय ३९ नेपालीको उद्धार भयो। तिनैमध्येकी एक हुन्, रसुवाकी सुनिता तामाङ (१९)। उनको सपना दुनियाँका लागि खासै ठूलो थिएन। सामान्य परिवारमा जन्मे–हुर्केकी उनी भाइबहिनीलाई पढाएर ठूलो मान्छे बनाउन चाहन्थिन्। त्यही झिनो सपनाले सुनितालाई कुवेतसम्म पुर्‍यायो।

गाउँकै चिनेजानेका एकजना दाइले उनको सपना साकार गर्न विदेश जार्नैपर्ने सुझाव दिएपछि सुनिता तयार भइन्। तिनै दाइले उनलाई रसुवाबाट काठमाडौं र यहाँबाट कुवेतसम्म पुग्न सहयोग गरे। सुरुमा सुनितालाई ती दाइ भगवान्जस्तै लाग्यो। तर, उनको त्या सोच लामो समय टिकेन।

कुवेत पुगेपछि मात्र सुनिताले आफू बेचिएको थाहा पाइन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई गत चैत २५ गते उद्धार गर्‍यो। ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार उनलाई १३ सय रियालमा बेचिएको रहेछ। तर, उनलाई बेच्ने मानिस पक्राउ परेको छैन। उद्धारपछि सुनिताले कसैमाथि जाहेरी नदिएकाले बेचबिखनमा संलग्न व्यक्ति पक्राउ नपरेको उनी बताउँछन्।

‘कुवेत पुगेपछि काम गर्ने ठाउँमा उनलाई विभिन्न तरिकाले यातना दिइँदो रहेछ। यातना सहन नसकेर उनी त्यहाँको गैरसरकारी संस्थाको शरणमा पुगिछन्’, थपलियाले भने, ‘कुवेतस्थित नेपाली दूतावासको सहयोगमा हामीले उनलाई उद्धार गरेर नेपाल ल्यायौं तर उनले कसैमाथि जाहेरी दिन चाहिनन्।’

पछिल्लो पाँच महिनाभित्र उद्धार भएका नेपालीमा १ सय ७० पुरुष र ६९ महिला छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार गत फागुन ७ गते १ सय ७९ जनालाई भारतको मणिपुरबाट उद्धार गरिएको थियो। तीमध्ये ३२ महिला र १ सय ४७ पुरुष थिए।

त्यस्तै चैत २५ गते विभिन्न निकायको सहयोगमा प्रहरीले कुवेतबाट एक किशोरीलाई उद्धार गरेर नेपाल ल्यायो। वैशाख ५ र २६ गते भारतका विभिन्न स्थानबाट ३६ नेपाली महिलाको उद्धार भयो। वैशाखमै इराकबाट ६ पुरुषलाई उद्धार गरेर ल्याइयो। जेठमा १० गते लिबियाबाट १७ जना पुरुषको उद्धार भयो।

एजेन्ट खोरमा, नाइके फरार

रसुवाकी सुनिता त उदाहरण मात्रै हुन्। उनीजस्ता कयौं पीडितले नेपाल फर्किएपछि कसैमाथि जाहेरी नदिएको घटना प्रहरीसामु तमाम छन्। यस्ता घटनामा जाहेरी नदिएकै कारण एजेन्टदेखि नाइकेसम्मलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। जाहेरी दिएका घटनामा पनि एजेन्ट मात्र पक्राउ परेका छन् भने नाइके फरार छन्। यसको उदाहरण हो– राधिका विश्वकर्मासहित १७ किशोरीको उद्धार।

जेठ १ गते विश्वकर्मासहित १७ किशोरीलाई ब्युरोले लिबियाबाट उद्धार गर्‍यो। सुनसरी, मोरङ, खोटाङ लगायत जिल्लाबाट काठमाडौं ल्याएर उनीहरूलाई त्यहाँ पुर्‍याइएको थियो। ब्युरोका अनुसार त्रिभुवन विमानस्थलबाट दुबई, ट्युनिसिया हुँदै लिबिया पुर्‍याएर उनीलाई अलपत्र छोडिएको थियो।

उनीहरूलाई बेचबिखन गरेको आरोपमा संखुवासभाका लोकमान राई, खोटाङ चिसापानीका राहुल गहतराजसमेतलाई पक्राउ गरेर ब्युरोले अनुसन्धान गरिरहेको छ। तर, उनीहरू मानव बेचबिखन तथा ओसारपसारमा संलग्न अपराधीका एजेन्टमात्र रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

पछिल्लो तीन महिनामा ब्युरोमा बेचबिखन तथा ओसारपसारका १० वटा मुद्दा दर्ता भएका छन्। यसमा आरोपित २६ जना फरार छन् भने १३ जना पक्राउ परेका छन्। फरार हुनेमध्ये भारतका ३, दुबईका ११, लिबियाका ९, कुर्दिस्तानका २ र क्यानाडाका एकजना रहेको ब्युरोको दाबी छ।

आर्थिक वर्ष ०७४/७५ मा ६ सय २९ जनामाथि मानव बेचबिखन तथा ओसारपसारको मुद्दा लागेको छ। तिनमा ४ सय ६३ पुरुष र १ सय ६६ जना महिला छन्। यी अभियुक्तमध्येबाट मुख्य अभियुक्त भनिएका १ सय ८१ जना फरार छन्।

फरार हुनेमा ४९ महिला र १ सय ३२ पुरुष रहेको नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांक छ। प्रादेशिक हिसाबले हेर्दा प्रदेश १ मा १९, प्रदेश २ मा ३८, प्रदेश ३ मा २३, गण्डकीमा एक, प्रदेश ५ मा ४४, कर्णालीा ३ र सुदूरपश्चिममा १० अभियुक्त फरार छन्। उपत्यका प्रहरी र ब्युरोको खोजी सूचीमा मात्र ४३ जना फरार छन्।

ब्युरोको तथ्यांकअनुसार मानव बेचबिखन तथा ओसारपसारको मुद्दा लागेका ४ सय ४८ जना अभियुक्त देशैभरबाट पक्राउ परेका छन्। जसमा १ सय १७ महिला र ३ सय ३१ पुरुष छन्। प्रादेशिक हिसाबले हेर्दा प्रदेश १ बाट ७६ , प्रदेश २ बाट २५, प्रदेश ३ बाट ३९, गण्डकीबाट ११, प्रदेश ५ बाट १ सय ४१, कर्णालीबाट १२ र सुदूरपश्चिमबाट ३४ अभियुक्त पक्राउ परेको तथ्यांक ब्युरोसँग छ। उपत्यका प्रहरी र ब्युरोले ४४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तमाथि अनुसन्धान भइरहेको समेत ब्युरोले जनाएको छ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न मुख्य नाइकेसमक्ष नेपाली पुग्नै नसकेको पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्। ‘यो अपराधमा संलग्न गिरोह ठूलो छ। नेपालबाट पक्राउ पर्ने एजेन्ट मात्र हुन्। आफ्नै नाइके को हो भन्ने समेत यिनीहरुलाई थाहा हुँदैन’, उनी भन्छन्, ‘यिनीहरु कमिसनका लागि मात्र काम गरिरहेका हुन्छन्, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न गिरोहका नाइकेलाई पक्राउ गर्ने अनुसन्धान नै यहाँ भएको छैन।’

मुख्य नाइकेलाई पक्राउ गर्न त्यहीअनुसारको जनशक्ति र स्रोतसाधन चाहिने पूर्वडीआईजी ठकुरी बताउँछन्। ‘अनुसन्धानका लागि विभिन्न देश जानुपर्ला, त्यहीअनुसारको खर्च चाहिएला। त्यसका लागि नेपाल सरकारले के गरेको छ ? मुख्य नाइके पक्राउ गर्न त्यति सजिलो छैन,’ उनी भन्छन्।

बेच्ने बहाना थरीथरी

गत मंसिर ११ गते दिल्ली महिला आयोगले मणिपुरबाट १ सय ७९ नेपाली महिलाको उद्धार गर्‍यो। दशभन्दा बढी जिल्लाका ती महिलालाई भारत पुर्‍याएर देहव्यापारमा संलग्न गराएको पाइयो। आफूहरूलाई अनेकौं बहानामा त्यहाँ पुर्‍याइएको उद्धारकर्ता निकायसँग ती महिलाले बताएका छन्।

मानव बेचिबिखनमा संलग्न तस्करले नेपालीलाई विभिन्न देश पुर्‍याउने मुख्यतः नौवटा बहाना प्रहरीले पहिचान गरेको छ। औषधोपचार, लोभलालच, नक्कली विवाह, भ्रमण, आफन्त भेटाउने, ललाई–फकाई, धाकधम्की, जागिर दिलाइदिने र विदेश पुर्‍याउने बहानामा तस्करले नेपालीलाई विदेशमा बेच्ने गरेका छन्।

ललाई–फकाई बेचिनेको संख्या सबैभन्दा धेरै छ। आर्थिक वर्ष ०७१/७२ मा ललाई–फकाईमा १ सय ६० नेपाली बेचिए भने ०७२/७३ मा त्यो संख्या १ सय ४१ छ। त्यस्तै ०७३/७४ मा २ सय १ जना ललाई–फकाईबाट बेचिएका थिए। यो संख्या ०७४/७५ मा प्रहरी तथ्यांकमा खुल्न सकेको छैन।

लोभलालचका कारण बेचिने नेपालीको संख्या पनि कम छैन। ०७१/७२ मा यो बहानाबाट ७० नेपाली बेचिए भने ०७२/७३ मा त्यो संख्या बढेर १ सय १२ पुग्यो। त्यस्तै ०७३/७४ मा ७३ जनालाई लोभलालच देखाएर बेचियो। ०७४/७५ मा त्यो संख्या बढेर ३८५ पुग्यो।

नक्कली विवाह गरेर बेचिने पनि नेपालमा अझै छन्। ०७१/७२ मा ९ जना यही बहानामा बेचिएका थिए। ०७२/७३ मा त्यो संख्या घटेर ९ झर्‍यो भने ०७३/७४मा ५ पुग्यो। तर, ०७४/७५ मा भने त्यो संख्या बढेर १८ पुगेको छ।

तस्करले धाकधम्की दिएर ०७१ देखि अहिलेसम्म ६२ जनालाई बेचेको प्रहरीको तथ्यांकले देखाउँछ। ०७१/७२ मा धाकधम्कीमा २१ जना बेचिएका थिए। ०७२/७३ मा ९ जना, ०७३/७४ मा ५ जना र ०७४/७५ मा धाकधम्कीबाट बेचिनेको संख्या ३९ छ।

बदलिएको अपराध

पहिले देहव्यापार गराउन नेपाली महिला मानव बेचबिखन तथा ओसारपसारको सिकार हुन्थे। अहिले अपराधीको मनसाय त्यत्तिमा मात्र सीमित छैन। जसको उदाहरण हो, सेतोमान तामाङसहितको पीडित समूह।

नुवाकोट र रसुवाका तामाङसहित ६ जनालाई वैशाख २६ गते अन्तर्राष्ट्रिय आप्रवासी संगठन र नेपाली सेनाको सहयोगमा मानव बेचबिखन अनुसन्धान ब्युरोले इराक र किर्किस्तानबाट उद्धार गर्‍यो।

ब्युरोका अनुसार तुर्किमिनिस्तान लैजान्छु भन्दै मानव बेचबिखनमा सक्रिय गिरोहले उनीहरूलाई किर्किस्तानमा बन्दी बनाएर राखेका थिए। राम्रो कमाइको लालसा दिएर आफूहरुलाई त्यहाँ पुर्‍याइएको नेपाल फर्किएपछि पीडितले प्रहरीसमक्ष बयान दिए। उनीहरू गरिबीकै कारण ज्यानको माया मारेरै त्यहाँ पुगेका थिए।

दुई वर्षअघि राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘मानव बेचबिखनको अवस्था’ नामक अध्ययन प्रतिवेदनले पनि यसलाई पुष्टि गर्छ। ‘पहिले बालबालिका र महिला भारतमा देह व्यापारका लागि प्रयोग हुन्थे भने ०७२ सालको भूकम्पपछि धेरै बालबालिका टुहुरा भएका र बेचबिखनको जोखिममा रहेको देखिन्छ’, प्रतिवेदनमा छ, ‘बेचबिखन तथा ओसारपसारका मुख्य प्रवृत्तिमा नक्कली विवाह, राम्रो रोजगारीको आश्वासन, यात्रासम्बन्धी नक्कली कागजात देखाई आफन्तको प्रयोग गरी गर्ने गरेको पाइयो।’

गरिबी र अशिक्षा

विभिन्न देशमामा बेचिएका तथा फसेका नेपाली ठूलो संख्यामा उद्धार भइरहेका छन्। उद्धार हुने क्रम पनि जारी छ। भारतलगायत एसियाका विभिन्न मुलुक, खाडी मुलुक र दक्षिण अफ्र्रिकाका मुलुकमा यौन व्यवसाय सञ्चालन र बाध्यात्मक श्रमका लागि नेपाली पुरुष, महिला तथा किशोर बेचिने गरेको मानव बेचबिखनसम्बन्धी पछिल्ला विभिन्न प्रतिवेदनले देखाएका छन्।

यसबाट प्रस्ट हुन्छ, नेपाल बाध्यात्मक श्रम एवं यौन व्यवसायका लागि बेचबिखन हुने पुरुष, महिला र बालबालिको स्रोत बनिरहेको छ। यसको प्रमुख कारकका रुपमा देखिएको छ अशिक्षा र गरिबी। पछिल्लो ३ वर्षे तथ्यांक हेर्ने हो भने बेचबिखन तथा तस्करीमा परेका ८ सय ११ महिला अशिक्षित देखिन्छन्।

उद्धार गरिएका पीडितमध्ये अधिकांश अशिक्षितसँगै गरिबीको चपेटामा परिरहेका ब्युरोका एसपी थपलिया बताउँछन्। ‘पढलेख नभएका कारण उनीहरुलाई तस्करहरुले सजिलै आफ्नो पञ्जामा परेको देखिन्छ। आफू जान लागेको कस्तो मुलुक हो, त्यहाँको अवस्था कस्तो छ, त्यहाँ गएपछि कस्तो अवस्थामा परिन्छ भन्ने पनि उनीहरुलाई हेक्का नरहेको हामीले पायौं’, उनले भने, ‘तस्करहरुले उनीहरुलाई पैसा र रोजगारी प्रलोभन दिएर विभिन्न मुलुक पुर्‍याउने र अर्के ठाउँमा लगेर जबरजस्ती विभिन्न किसिमका शोषण गर्ने गरेको पाइयो।’

चरम गरिबीको चपेटामा परेका ग्रामीण मानिसहरु तस्करको नजरमा परेको अपराधविद् एवं पूर्वडीआईजी ठकुरी बताउँछन्। उनी भन्छन्, ‘गरिबी यति धेरै छ कि पीडितहरु जानीजानी अवैध बाटो भएर पैसाका लागि विदेश जान खोज्छन् जसका लागि उनीहरुले तस्करलाई नै पैसा बुझाउँछन् तर आफू खतरामा पर्दैछु भनेर उनीहरुलाई हेक्का हुँदैन।’  (स्टाेरीमा समावेश भएका पीडितकाे नाम परिवर्तन गरिएकाे छ)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.