ह्याकिङ्ग एक्सपो हुने
काठमाडौं : एभरेस्ट ह्याकथन टोलीले ‘एभरेष्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ्ग कार्यक्रम सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गर्ने भएको छ।
उक्त कार्यक्रम काठमाडौंको जोरपाटीमा रहेको नामी कलेज हातामा साउन ५ गतेदेखि सञ्चालन हुनेछ। कार्यक्रम दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ।
‘एभरेस्ट ह्याक ४८ घण्टे कार्यक्रम हो जसमा विध्यार्थी, डिजाइनर, उद्यमी, ह्याकर सबै साना समूहमा टोलीबद्ध भइ प्रस्तुत गरिएका चुनौतीहरूको सिर्जनात्मक र रोचक समाधानहरूको विकास गर्न र विचार आदान–प्रदान गर्नेछन।
‘प्रविधिका माध्यमले हाम्रो समाजमा विध्यमान समस्याहरुको हल निकाल्न पनि कार्यक्रम कोशेढुङ्गा सावित हुने हाम्रो विश्वास छ’, कार्यक्रमका प्रोजेक्ट संयोजक ललित सिंह भन्छन्।
कार्यक्रमको अतिरिक्त उद्देश्य नेपालमा ह्याकिङ्ग संस्कृतिको प्रोत्साहन र विस्तार गर्नु रहेको छ। प्रतियोगीले २४ घण्टे समय सीमामा विकसित गरेका समाधानलाई आगन्तुकको सार्वजनिक अवलोकनका लागि एक्स्पोमा राखिनेछ।
एक्स्पोका दौरान अवलोकनकर्ताले प्रतियोगीलाई उनीहरुले सिर्जना गरेका समाधानको उपादेयता र दिगोपनका बारेमा जानकारी लिन सक्नेछन्। कार्यक्रम अवलोकनमा पुग्नेले दिएको प्रतिक्रियाका आधारमा विजेता हुनेको मूल्याङ्कन गरिनेछ।