आगोको राँको बालेर लुतो फालियो
दुनै, डोल्पा : आज साउने संक्रान्ति। देशभर साउने संक्रान्ति विभिन्न तरिकाले मनाइँदैछ। यो दिन लुतो फाल्ने चलन छ।
डोल्पाका गाउँगाउँमा घरको छतमा आगोको राँका बालेर साउने संक्रान्ति मनाइएको छ। साउन १ गतेका दिन साँझ ७ बजेपछि घरका छतछतमा आगोको राको बालेर लुतो फालिएको छ।
जिल्लाका मुड्केचुला गाउँपालिका, जगदुल्ला गाँउपालिका, त्रिपूरा सुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका र काइके गाउँपालिकाका गाउँहरूमा घरको छतमा आगोको राका बालेर साउने मनाई लुतो फालिएको छ।
घरको छतमा आगोको राँका बालेर शरीरमा पुछेर फालेमा वर्षभरीको दुःखकष्ट रोगग्रह जाने र घरमा शान्ति आउने परम्परा रहेको स्थानीय हस्तरुपा लामाले बताइन्।
घरको छतमा कोलो बाख्रा र कुखुराको बली दिने प्रचलन पनि छ। छतका आगोको राँको बालेर सपरिवार एक गाउँकाले अर्को गाँउका मानिसहरूलाई आफनो रोग व्यथा सबै जाओस् भनेर गाली पनि गर्ने प्रचलन छ।
घरपरिवारको सुख शान्ति आउने भएकोले साउने संक्रान्ति विशेष रुपमा लिने गरिन्छ। भलै हिजोआज यो चलन विस्तारै कम भएको छ।
जगदुल्ला गाँउपालिकामा भने साउन २ गते खाने कुरा 'ढाकायो' जातको साग टिप्न केटा र केटी जाने प्रचलन रहेको छ।
लुतो फाल्ने वा ग्रहशान्ति गर्ने भन्दै घरका छतछतमा आगोको राको बालेर डोल्पामा साउने संक्रान्ति मनाउने प्रम्परा रहेको छ।