सरकार-विप्लव वार्ता : अनौपचारिक संवाद तीव्र

सरकार-विप्लव वार्ता : अनौपचारिक संवाद तीव्र

काठमाडौं : सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा बीच वार्ताका लागि अनौपचारिक छलफल चलेको छ । तर, औपचारिक वार्ताका लागि दुवै पक्ष अझै तयार देखिएका छैनन् । दुवै पक्षले अनौपचारिक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारिक पत्र’ मा गएर अड्किएको छ ।

विप्लव पक्षले सरकारले औपचारिक पत्र लेखेमा वार्तामा बस्न तयार रहेको बताए पनि सरकारले पत्र लेखिहाल्ने संकेत देखाएको छैन । गत फागुन २ मा सरकारले चन्द नेतृत्वको पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएको थियो ।

त्यसपछिको चार महिना अवधिमा आन्तरिक र मुठभेडका नाममा ८ जना विप्लवका नेताकार्यकर्ता र १ प्रहरीको ज्यान गएको छ । विप्लवलाई वार्तामा ल्याउन नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापाले अलगअलग तीन थरी टिम परिचालन गरेका छन् । उनीहरुले विप्लवका विभिन्न स्तरका नेताहरुसँग अनौपचारिक संवाद गरे पनि वार्ताका लागि ठोस बाटो पहिल्याउन सकेका छैनन् ।

विप्लवको पार्टीले गत पुसको स्थायी समिति बैठकबाटै सरकारले औपचारिक पत्र लेखेमा वार्तामा बस्न सकिने निर्णय गरेको थियो । त्यो निर्णयबाट पार्टी दायाँबायाँ नलागेको एक पोलिटब्युरो सदस्यले बताए ।

वार्ताको वातावरण निर्माणमा सरकार तयार नदेखिएको पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले बताए । ब्ुधबार अन्नपूर्णसँग टेलिफोन सम्पर्कमा आएका पुनले सरकारले आन्तरिक रूपमा वार्ता नचाहेको आरोप लगाए ।

‘सरकारले वार्ता गर्ने कुरा इमानदारीपूर्वक गरेको छैन । आन्तरिक रुपमा वार्ता चाहेको जस्तो देखिँदैन । बाहिर वार्ताको हल्ला फिँजाउने र जनताबाट सहानुभूति बटुल्ने, भित्रभित्रै दमन गर्ने र युद्ध भड्काउने खेलमा सरकार देखिन्छ,’ पुनले भने, ‘इमानदारीपूर्वक वार्ता चाहेको हो भने हामी तयार छौं ।’

सरकारी वार्ता टोलीका संयोजकसमेत रहेका पूर्वमन्त्री सोमप्रसाद पाण्डेले भने विप्लवसँग अनौपचारिक संवाद भइसकेको र औपचारिक वार्ताको तयारीमा रहेको बताए । ‘सरकारका तर्फबाट मैले धेरै पटक विप्लव समूहका नेतासँग अनौपचारिक वार्ता गरेको छु । तर, अहिलेसम्म औपचारिक रुपमा वार्ता भएको छैन’, पाण्डेले भने, ‘वार्ताको विकल्प छैन भन्ने कुरामा सरकार पुगेको छ । विप्लव समूह पनि वार्ताका लागि तयार छ ।’

सभामुख महराको रणनीतिक ‘मुभ’

सभामुख कृष्णबहादुर महरा विप्लवका केही नेताहरुसँग नियमित सम्पर्कमा छन् । उनले सुरुमा आफ्नै गाडीमा विप्लवका केही नेतालाई राखेर नेकपाका वरिष्ठ नेता माधव नेपालसँग भेट गराएका थिए । त्यसपछि नै नेपालले सरकारले जिम्मा दिए आफू वार्ता गर्न तयार रहेको धारणा सार्वजनिक गरेका थिए ।

विप्लव पार्टीका प्रवक्ता खडकबहादुर विश्वकर्मा (प्रकाण्ड) प्रक्राउ पर्दा शीषस्र्थ नेताको समेत हत्या योजना बनाएको डायरीमा त्यसमा आफ्नो नाम रहेको थाहा पाएपछि दाहाल रिसाएका थिए । सोही कारण महराले नेकपा अध्यक्ष दाहालसँग विप्लवका नेताहरुलाई सम्पर्कमा लगेनन् ।

पछिल्ला दिनमा महराले आफूसँग सम्पर्कमा आएका विप्लवका नेताहरूलाई दाहालसँग सम्पर्कमा लैजाने कोसिस गरिरहेका छन् । दुई साताअगाडि मात्रै नगरकोटको एक रिसोर्टमा अध्यक्ष दाहाल र विप्लवका एक नेताबीच भेटवार्ता भएको महरा निकट स्रोत बताउँछ । भेटघाटको वातावरण सभामुख महराले नै मिलाइदिएका थिए ।

महरा–विप्लव सम्बन्ध युद्धकालदेखि नै सौहार्दपूर्ण थियो । त्यही कारण पनि महराले वार्ताको वातावरण बनाउन ‘रणनीतिक मुभ’ गरिरहेका छन् । उनी विप्लवका उच्च स्तरका नेतासँगै नियमित टेलिफोन संवादमा छन् ।

पूर्वमन्त्री शर्माको तीव्र दौडधुप

नेकपा स्थायी समिति सदस्यसमेत रहेका सांसद जर्नादन शर्मा अध्यक्ष दाहालकै सल्लाहमा वार्ताको वातावरण बनाउन लागिपरेका छन् । उनले पनि प्रकाण्डलगायत नेतासँग प्रत्यक्ष संवाद गरिसकेका छन् । वार्ताको वातावरण बनाउन शर्माले सरकार र आफ्नै पार्टी नेतृत्वमाथि पनि दबाब दिइरहेका छन् ।

उनले प्रहरी हिरासतमै पहिले एकै पार्टीमा रहँदा ‘दुस्मनी सम्बन्ध’ भएका गृहजिल्ला रुकुमका विप्लवका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ सम्मलाई पनि भेट गर्न पुगेका थिए । त्यतिमात्र होइन, शर्माले पोलिटब्युरो सदस्य ओमप्रकाश पुन, अनिल शर्मालगायतसँग पनि भेट गरेको स्रोत बताउँछ । उनी अहिले पनि विप्लवमा जेलमा परेका नेताकार्यकर्ता रिहाइका लागि खटिइरहेका छन् । बन्दी नेताकार्यकर्ताको रिहाइका लागि वातावरण बनाउने, विप्लवका नेतासँग भेटघाट गरी उनीहरूका धारणा बुभ्mने लगायतका काममा शर्मा सक्रिय छन् । ‘विप्लवले वार्ताको वातावरण निर्माणका लागि माग गरेका छन् । वातावरण निर्माण गर्नुपर्छ र वार्ता गराउनुपर्छ,’ शर्मा भन्छन् ।

पूर्वसंयोजक पाण्डेको सक्रियता

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले द्वन्द्वरत पक्षसँग वार्ता र संवाद गरी राजनीतिक सहमति खोज्नका लागि भदौमै पूर्वमन्त्री सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो । संयोजक पाण्डेको समिति गत पुस ११ बाट औपचारिक रुपमा विघटन भए पनि प्रधानमन्त्री ओलीले विप्लव पक्षसँगको वार्ताका लागि अनौपचारिक रुपमा पाण्डेलाई दौडाइरहेका छन् । उनी विप्लवका पोलिटब्युरो सदस्य अनिल शर्मा, माइला लामा, गुणराज लोहनीलगायत नेताहरुसँग नियमित सम्पर्कमा छन् । तर उनले कुन स्तरका नेतासँग सम्पर्क भइरहेको छ भन्नेबारे केही खुलाएनन् । उनले भने, ‘अनौपचारिक वार्ता भइरहेका छन् । उनीहरु (विप्लव पक्ष) लाई कसरी वार्तामा ल्याउने भन्नेमा छलफल जारी छ ।’

गृहमन्त्रीको अलग्गै सम्पर्क सूत्र

गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ पनि विप्लव पक्षसँग नियमित सम्पर्कमा छन् । उनलाई गृहमन्त्री थापाले विप्लवका नेताकार्यकर्तासँगको सम्पर्क सूत्रको खोजी गरी वार्ताको वातावरण बनाउने जिम्मेवारी दिएका छन् । त्यही क्रममा उनले पनि विप्लवका केही नेताकार्यकर्तासँग नियमित सम्पर्क गरिरहेका छन् । सुवेदी जेलमा रहेका सुदर्शनसँग पनि सम्पर्कमा छन् । ‘अहिले राजनीतिक अधिकारका लागि फेरि पनि हिंसात्मक बाटोमा गइरहनु आवश्यक छैन । उहाँहरूसँग संवादमार्फत नै निकासको खोजी भइरहेको छ,’ सुवेदीले भने ।

सत्तारुढ नेकपाका अन्य केही नेता पनि वार्ताका लागि अनौपचारिक रूपमा खटिएका छन् । नेकपा महासचिव विष्णु पौडेल, गृहसचिव प्रमेकुमार राई लगायतले पनि विप्लवका नेतासँग सम्पर्क बढाउन खोजेका छन् । महासचिव पौडेलले विप्लवका जेलमा रहेका नेता सुदर्शनसँग संवाद गरेको समाचार छ । तर यस विषयमा महासचिव पौडेलले मुख खोल्न चाहेनन् । पौडेलले अन्नपूर्णसँग भने, ‘वार्ताबाट हरेक कुराको समाधान खोज्न सकिन्छ । यस सन्दर्भका अन्य विषय पत्रकारहरुलाई नै खोजी गर्न आग्रह गर्छु ।’

विप्लवका अनौपचारिक संवादमा रहेका नेता

विप्लव पक्षबाट केन्द्रीय सदस्य गुणराज लोहनी सरकारी पक्षसँग सम्पर्कमा छन् । स्रोतका अनुसार उनले सभामुख कृष्णबहादुर महरा, वरिष्ठ नेता माधव नेपाल, सरकारी वार्ता टोलीका पूर्वसंयोजक नेता सोमप्रसाद पाण्डेसँग भेटवार्ता गरिसकेका छन् । उनी सबैभन्दा बढी पाण्डेसँगको सम्पर्कमा छन् । उनले पार्टीका तर्फबाट अनौपचारिक रूमा सरकारसँग छलफल गरिरहेका छन् ।

पाण्डे संयोजकत्वको वार्ता टोलीले सरकारलाई प्रतिवेदन बुझाउने अन्तिम चरणमा पनि लोहनी सरकारले वार्ताका लागि औपचारिक आह्वान गरेको पत्रको पर्खाइमा थिए ।

अहिले पनि उनी सरकारले नै वार्ताका लागि पत्र लेख्नुपर्ने अडानमा छन् । ‘आधिकारिक चिठी नलेख्ने, वार्ता भन्ने छलछाम, षड्यन्त्र गर्ने, प्रतिबन्ध लगाउने, हत्या गर्ने, गोली हान्ने, हिँडडुल गर्न नदिने अनि कसरी सम्भव छ वार्ता ? ’ अन्नपूर्णमै उनले लेखेको लेखमा उल्लेख छ । सरकारले वार्ताका नाममा ठूला नेता पक्राउको रणनीति बनाउन लागिपरेको लोहनीको विश्लेषण छ ।

विप्लवका उपत्यका ब्युरो इन्चार्ज रहेका माइला लामा पनि सरकारी वार्ता टोलीका संयोजक पाण्डेसँगको सम्पर्कमा छन् । लामासँग पनि पाण्डेले धेरै पटक भेटवार्ता गरिसकेको स्रोत बताउँछ । पहिले विप्लवका पूर्वी कमान्ड इन्चार्ज रहेका अनिल शर्मा पछिल्लो दिनमा पार्टी प्रकाशन विभागको जिम्मेवारीसहित काठमाडौं आएका छन् । उनी पूर्व संयोजक पाण्डे र गृहमन्त्रीका सल्लाहकार सुवेदीसँगको सम्पर्कमा भने पुगेका छन् ।

त्यसो त विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खडकबहादुर विश्वकर्मासमेत नेकपाका केही उच्च नेतासँगको सम्पर्कमा छन् । महरा निकट सूत्रका अनुसार विश्वकर्मा महरा र जनार्दन शर्मासँगको सम्पर्कमा छन् ।

सबैभन्दा बढी उनले सभामुख महरासँग सम्पर्क बढाइरहेका छन् । स्रोतका अनुसार उनले झन्डै दुई साताअगाडि नेकपा अध्यक्ष दाहालसँग नगरकोटमा गोप्य वार्ता गरेको चर्चा छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

पक्राउ परेका विप्लव नेकपाका स्थायी समिति सदस्य सुदर्शन सरकारी पक्षको सम्पर्क सूत्र बनिरहेका छन् । वार्ताको वातावरण निर्माणका लागि प्रभाकरले उनीसँग हिरासतमै पुगेर भेट गरेका छन् भने सरकारी वार्ता टोलीका पूर्वसंयोजक पाण्डेले पनि पटकपटक जेलमा पुगेर भेटेका छन् । गत असार १९ मा नेकपाका एक उच्च स्तरका नेताले नख्खु कारागारमा उनीसँग भेटवार्ता गरेका थिए । विप्लव समूहका चिरन पुन, हरि क्षेत्रीलगायतले पनि सत्तारूढ दलका नेतासँग सम्पर्क बढाएका छन् ।

सरकार–विप्लव आ–आफ्नै अडानमा

दुवै पक्ष वार्ताको वातावरण बनाउने प्रयास थाले पनि त्यसले औपचारिकता पाउने तहमा अझै छलफल हुन सकेको छैन । विप्लव पक्षले वार्ताका लागि सरकारले लगाएको प्रतिबन्ध हटाउनुपर्ने, बन्दी रिहाइ गर्नुपर्ने र वार्ताका लागि औपचारिक पत्र लेख्नुपर्ने बताउँदै आएको छ ।

विप्लवका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले बुधबार टेलिफोनमा अन्नपूर्णसँग भने, ‘सरकार वार्तामा सकारात्मक रहेको र वार्ताबाट राजनीतिक निकासप्रति इमानदार हो भने जसरी क्याबिनेट बसेर हामीमाथि प्रतिबन्धको घोषणा ग¥यो, त्यसैगरी प्रतिबन्ध खारेज गर्ने, बन्दी छोड्ने, त्यो पनि कानुनी प्रक्रियाका कुरा हँुदैन । राजनीतिक निर्णयका आधारमा छोड्ने र औपचारिक पत्र लेखेमा मात्र वार्ताको वातावरण बन्न सक्छ ।’

सरकारले वार्ताको औपचारिक पत्र पठाउनुअगाडि विप्लव पक्षले हिंसात्मक संघर्ष छोडेर आउने विश्वासको वातावरण दिएमात्र वार्ताका लागि पत्र लेख्न सकिने बताउँदै आएको छ । विप्लव पक्षले भने वार्ताको जस कसले लिने भन्नेमा सत्तारूढ दलभित्रकै अन्तरविरोधका कारण वार्ताको वातावरण बन्न नसकेको बताएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र गृहमन्त्री थापाले आआफ्नै ढंगले अनौपचारिक संवाद अगाडि बढाइरहेको स्रोतले बतायो ।

त्यसभित्र एकले–अर्काे पक्षले गरिरहेको तयारीमा भाँजो हाल्ने काम भएको विप्लव पक्षको बुझाइ देखिन्छ । विप्लवको आधिकारिक समाचार पोर्टल इरातोखबरले लेखेको छ,–‘ओली, प्रचण्ड र बादलले अलग–अलग टोली परिचालन गरेका छन् । एउटाको काममा अर्काेले भाँजो हाल्ने र भड्काउने घात–प्रतिघात चलिरहेको छ । त्यसकारण जनदबाबका कारण सरकारले प्रायोजित हल्ला तीव्र पारेको छ । तर वार्ताका पक्षमा कुनै सार्थक प्रयास भएको छैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.