इतिहासमा यो साता भएका मुख्य घटना

इतिहासमा यो साता भएका मुख्य घटना

जुलाई १८

सन् १९२५ को जुलाई १८ मा जर्मनीको नाजी पार्टीका नेता एडोल्फ हिटलरको किताब ‘मिन कम्फ’को पहिलो भाग प्रकाशित भयो। त्यसमा राजनीति, समाज, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्व व्यवस्थासम्बन्धी हिटलर र उनको पार्टीको दृष्टिकोण समावेश छ। किताब यहुदी जातिप्रति रोषपूर्ण अभिव्यक्तिले भरिपूर्ण छ। त्यसको दुई वर्षअघि भीड एकत्रित गरेर जर्मनीको शहर म्युनिख कब्जामा लिने उद्देश्यसहित र्‍याली आयोजना गरेको अभियोगमा हिटलरलाई पक्राउ गरिएको थियो। जेलमा रहँदा उनले किताब लेखेका थिए। उनलाई राज्यद्रोहको आरोप लगाइएको थियो। तर, एक वर्षपछि उनलाई रिहा गरियो। रिहा भएपछि जेलमा लेखेर तयार पारेको पाण्डुलिपि उनले प्रकाशन गरे। त्यसको केही वर्षपछि उनले ‘मिन कम्फ’को अर्को भाग पनि प्रकाशन गरे। 

जुलाई १९

सन् १९२३ को जुन १९ मा संसारभरिका मधुमेहका रोगीले ठूलो त्राण पाए। सोही दिन क्यानडाली वैज्ञानिक फ्रेडरिक ब्यान्टिङले इन्सुलिन पत्ता लगाए। त्यस घटनालाई स्वास्थ्य क्षेत्रमा हासिल भएको ठूलो उपलब्धिमध्ये एक मानिन्छ। इन्सुलिन पत्ता लगाएबापत उनलाई प्रतिष्ठित नोबेल पुरस्कार दिइयो। त्यसअघि मधुमेहलाई असाध्य रोग मानिन्थ्यो। इन्सुलिन तयार पार्ने तरिका थाहा भएपछि मधुमेहका रोगीको शरीरमा चिनी र इन्सुलिनको मात्रालाई सन्तुलनमा राख्न चिकित्सकहरू सफल भए। ‘मधुमेह रोग होइन, त्यसैले इन्सुलिनले निको पार्दैन, मधुमेहलाई सन्तुलनमा राख्न चाहिँ यसले मद्दत गर्छ’ भनेर इन्सुलिनको प्रचारप्रसारलाई विश्वव्यापी बनाइयो। 

जुलाई २०

सन् १९५१ को जुलाई २० मा जोर्डनका राजा अब्दुल्लाह अल–हुसेनको हत्या भयो। एक जना प्यालेस्टाइनीले गोली हानेर उनको हत्या गरेका थिए। त्यसको चार दिनअघि लेबनानका प्रधानमन्त्रीको समेत हत्या भएको थियो। त्यतिबेला जोर्डन र लेबनानको इजरायलसँगको सम्बन्ध तिक्ततापूर्ण भएको थियो। प्यालेस्टाइनलाई लिएर उनीहरूबीचको सम्बन्ध बिग्रिएको थियो। जोर्डन र लेबनानले इजरायलसँग शान्ति स्थापना हुने गरी सन्धि गर्ने चर्चा चलिरहेको थियो।

यसबाट प्यालेस्टाइनका मानिस रुष्ट थिए। त्यतिबेला राजा अब्दुल्लाह जेरुसेलम शहरको एउटा मस्जिदमा प्रार्थना गर्न पुगेका थिए।  त्यहीँ एक जना प्यालेस्टाइनीले गोली हानेर उनको हत्या गरे। अब्दुल्लाहले आफूलाई मोहम्मदको वंशको ३८ औँ उत्तराधिकारी बताएका थिए। मोहम्मदको वंशको सदस्य भएर पनि मुसलमानविरोधी यहुदीहरूसँग सम्झौता गर्न खोजेको भन्दै ती व्यक्तिले अब्दुल्लाहको हत्या गरेका थिए। 

जुलाई २१

सन् १९५४ को जुलाई २१ मा भियतनामका क्रान्तिकारीले औपनिवेशिक शासनविरुद्ध गरेको युद्धमा महŒवपूर्ण विजय हासिल गरेका थिए। त्यतिबेला भियतनाम फ्रान्सको उपनिवेश थियो। फ्रेन्च सेनाले भियतनामका क्रान्तिकारीसमक्ष आत्मसमर्पण गरेपछि युद्ध टुंगिएको थियो। त्यतिबेला भियतनाम र लाओसलाई समग्रमा इन्डो–चाइना भनिन्थ्यो। त्यहाँ फ्रान्सले उपनिवेश चलाउँदै आएको थियो।

दोस्रो विश्वयुद्धताका भियतनामी नेता हो चि मिन्हको नेतृत्वमा भियतनामका जनताले फ्रेन्च उपनिवेशविरुद्ध संघर्ष तीव्र बनाए। दोस्रो विश्वयुद्ध समाप्त भएपछि पनि उनीहरूको संघर्ष जारी रह्यो। अन्त्यमा क्रान्तिकारीले भियतनाममा तैनाथ फ्रेन्च सेनालाई घेराबन्दी गरेपछि भियतनामलाई उत्तर र दक्षिण गरी दुई भागमा विभाजन गरियो। उत्तर भियतनाममा क्रान्तिकारीलाई आफ्नै शासन सञ्चालन गर्न दिन फ्रान्स सहमत भयो। 

जुलाई २२

सन् १८६२ को जुलाई २२ मा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले मन्त्री परिषद्मा दासप्रथा उन्मूलन गर्ने प्रस्ताव पेश गरेका थिए। दासप्रथा उन्मूलन गर्ने क्रममा आफूले गर्ने भाषणको मस्यौदालाई समेत उनले छलफलका निम्ति प्रस्तुत गरेका थिए। मन्त्री परिषद्मा उनको प्रस्तावलाई लिएर मतभिन्नता उत्पन्न भयो। अमेरिकाका केही राज्यमा यसको चर्को विरोध भयो। त्यसैले अर्को वर्षको जनवरी १ मा मात्र उनले दासप्रथा अन्त्य भएको घोषणा गरे। यसप्रति विमति जनाउँदै अमेरिकाको दक्षिणी क्षेत्रका केही राज्यले अमेरिकाबाट स्वतन्त्र भएको घोषणा गरे। अमेरिकाको भौगोलिक अखण्डता अक्षुण्ण राख्न लिंकनले ती राज्यमा सेना परिचालन गरेका थिए। यस क्रममा दशौँ लाख अमेरिकी नागरिकको मृत्यु भएको थियो।  

जुलाई २३

सन् १९५२ को जुलाई २३ मा इजिप्टमा सैन्य ‘कू’ भयो। त्यतिबेला इजिप्टमा राजा फारोक प्रथमले शासन गरिरहेका थिए। इजिप्टको राष्ट्रिय सेनामा कर्णेल पदमा रहेका गमाल अब्देल नासेरले ‘कू’ गरेर राजालाई गद्दीच्युत गरे। ‘कू’ गरेर शासनसत्ता हत्याउन नासेरले ‘सोसाइटी अफ फ्री अफिसर्स’ गठन गरेका थिए। समूहका अधिकांश सदस्य इजिप्टका बहालवाला र पूर्वसैनिक थिए। ‘कू’ गरेर पनि नासेर मुलुकको शासक चाहिँ बनेनन्। राष्ट्रपति पदमा मोहमेद नाग्विबलाई बहाल गराएर उनले बाहिरबाटै भूमिसुधारलगायत कार्यक्रम लागू गर्न महŒवपूर्ण भूमिका निर्वाह गरे। त्यस क्रममा इजिप्टको चरमपन्थी इस्लामिक संगठन मुस्लिम ब्रदरहुडले उनको ज्यान लिने असफल प्रयास गर्‍यो। त्यसपछि नासेरले राष्ट्रपतिलाई नजरबन्दमा राखे र आफैँ राष्ट्रपति भए। 

जुलाई २४

सन् १९९० को जुलाई २४ मा कुवेतसँगको सीमा क्षेत्रमा इराकले सैन्य गतिविधि बढायो। सीमा क्षेत्रमा उसले लाखौँ सैनिक तैनाथ गर्‍यो। यससम्बन्धी समाचार सार्वजनिक भएपछि इराकको नियतलाई लिएर अन्तर्राष्ट्रिय समुदायमा चर्को आलोचना भयो। त्यसअघि इराक छिमेकी मुलुक इरानसँग वर्षौं लामो युद्धमा फसेको थियो। युद्धका कारण उसको आर्थिक अवस्था ध्वस्त भएको थियो। त्यसपछि इराकका शासक सद्दाम हुसेनले कुवेतमाथि आँखा गाडेका थिए। कुवेत सानो मुलुक भए पनि त्यहाँ तेलको अथाह खानी थियो। ऊसँग सुनलगायत बहुमूल्य धातुको सञ्चिति पनि प्रशस्त थियो। तेल खानी र सुन सञ्चिति कब्जामा लिने उद्देश्यले कुवेतमाथि हमला गर्ने तयारी हुसेनले गरेको भन्दै आलोचना भयो। त्यसको डेढ साताभित्रै इराकले अन्ततः कुवेतमाथि हमला गर्‍यो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.