सुपर हिरोजको नेपाल भ्रमण

सुपर हिरोजको नेपाल भ्रमण

काठमाडौं : धेरैलाई थाहा नहुन सक्छ, मार्भलका सुपर हिरोहरू ‘भिजिट नेपाल-२०२०’का लागि नेपाल आएका छन्। अघिल्लो साल यी सुपर हिरोहरू दसैं मनाउन नेपाल आएका थिए। त्यति बेला खिचिएको फोटो अहिले सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनीमा राखिएको छ। तस्बिरमा हल्क शिरमा भादगाउँले टोपी र निधारमा दसैंको टीका जमरा लगाएर बजारतिर डुल्दै छन्। एक हातमा जनै र अर्को हातमा लट्टाई बोकेर उनी साइकलमा उपत्यका घुम्दै छन्। नेपाल बस्दा उनी ‘ज्यापू ड्रेस’मा सजिएका छन्। उनी कहिले धिमे बजाउन तम्सन्छन् त कहिले खर्पन बोकेर तरकारी बेच्न हिँड्छन्।

ब्याटम्यान र स्पाइडर म्यान पनि पाटन दरबार स्क्वायरमा बसेर चंगा उडाउने तयारी गर्दै छन्। नेपाल आएपछि थोर भने पशुपतिनाथ मन्दिर पुगे। त्यहाँ पुगेर उनले माहादेवको त्रिशूल नै उठाएछन्।

यी सुपर हिरोको नेपाल भ्रमणको फोटो खिच्ने काम कलाकार शनि शाक्यले गरेका हुन्। वर्षाैंदेखि पाटनको गल्लीमा पित्तलका मूर्ति बनाउँदै आएका शाक्यले आफ्नो रहरको सूचीमा फोटोग्राफीलाई पनि समावेश गर्दै आएका छन्।

अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय कमिक हिरोलाई नेपाल बोलाएर उनले यहाँको भ्रमण गर्नलायक ठाउँ घुमाए। ती स्थानमा काठमाडौं उपत्यकामा भएका विश्व सम्पदा सूचीमा परेका क्षेत्रलगायत पोखराको फेवाताल, माछापुच्छे« समेटिएको छ।

नेपाललाई विश्वसामु चिनाउन कमिक हिरोलाई नेपालका गल्ली गल्ली घुमाएको उनी बताउँछन्। भन्छन्, ‘सुपर हिरोजलाई विश्वले चिन्छ। नेपालको प्रचारप्रसार गर्ने हो भने यी हिरोजका माध्यमबाट गर्नुपर्छ।’

ग्यालरीमा त्रिपन्न तस्बिर राखिएका छन्। हरेकमा सुपर हिरोज नेपाली भेषभूषामा सजिएका छन्। नेपालका जल्दाबल्दा मुद्दामा सहभागिता जनाएका छन्। उदाहरणका रूपमा पछिल्लो समय माइतीघर मण्डलामा गुठी विधेयकको विरोधमा हल्कको सहभागिता रह्यो।

उनी नेवारी भेषभूषामा सजिएर, नेपाली झन्डा बोकेर गुठी विधेयकको विरोधमा उत्रिएका थिए। त्योभन्दा पहिले उनी पाटनमा भएको विधेयककै अर्को खबरदारी मसाल जुलुसमा सहभागी भए। त्यति मात्र होइन, भर्खरै सम्पन्न उपत्यकाकै लामो जात्रा मछिन्द्रनाथको रथ निर्माण गर्न पनि उनले श्रमदान गरेका रहेछन्।

टर्मिनेटरले त झन् सिंहदरबारअगाडि बसेर ‘गुठी हाम्रो सभ्यता हो, गुठी विधेयक खारेज गर’ लेखिएको प्लेकाड नै बोकेर धर्ना दिएका रहेछन्। उपत्यका सफा र सुन्दर राख्नुपर्छ भन्दै उनले हातमा कुची बोक्दै उपत्यका सरसफाइमा भाग लिएको तस्बिर प्रदर्शनीमा राखिएको छ।

त्यस्तै अक्वाम्यानले ढिला गरी बनाउन थालिएको रानीपोखरीमा पुगेर नेपाल सरकारलाई खबरदारी गरेका छन्, ‘डियर सरकार, भत्केको सम्पदा चाँडोभन्दा चाँडो बनाउनतर्फ लाग्ने कि भएको सम्पदालाई मास्नेतर्फ ? ’

उता वन्डर उमन हातमा खुकुरी बोकेर युद्धमा होमिने तयारी अवस्थामा देखिन्छन्। स्वयम्भूमा पुगेपछि उनले आफ्नो युद्धलाई वि श्राम दिएकी रहिछन्।

खुसीको कुरा त के भने सुपर हिरोजको भीडमा ब्रह्माण्डका आधा जनसंख्यालाई मृत्युको मुखमा पुर्‍याएका थ्यानोस नेपालमा सकारात्मक कामका लागि आएका छन्। उनी यहाँको जनसंख्यालाई सन्तुनल गर्न र वातावरण हराभरा बनाउने सन्देशमूलक काममा जुटेका छन्।

हिमालको फेदमुनि कुनै गाउँमा पुगेर थ्यानोस घाँसको भारी बोक्दै हिँडिरहेको दृश्य शनिको तस्बिरमा कैद छ। शनिले खिचेको तस्बिरमा सुपर हिरोजको प्रेमकथा पनि सामेल छ। हल्क बौचा ढुंगेधारोमा पानी लिन आएकी बार्बी मैचासँग प्रेममा परेका छन्। तर गुलाबको फूल लिएर बार्बी मैचालाई प्रेमप्रस्ताव राख्न जाँदा उसको मन टुट्छ। किनकि बार्बी थोरसँग विवाहबन्धनमा बाँधिन लागेको उनले देख्छन्।

‘ट्रेजेडी’मा परेका हल्क चा पीडा सहन नसकेर भट्टीतिर धाएको तस्बिर पनि प्रदर्शनीमा रोचक ढंगमा प्रस्तुत गरिएको छ। आफ्नो कहानी खोल्नुअघि हल्कको भेट ब्याटम्यानसँग हुन्छ। ब्याटम्यान वन्डर उमनलाई मन पराउँथे। तर उनले सुपरम्यानलाई मन पराउने थाहा पाएपछि ब्याटम्यानको मन तोडिएको छ। ब्याट र हल्कले मन हल्का पार्न अयला (रक्सी) पिउन लागेको दृश्यले हरकोहीको मन छुन्छ।

यता क्याप्टेन अमेरिका, स्पाइडर म्यान, माउईजस्ता सुपर हिरोज नेपाललाई विश्वसामु चिनाउन खुब प्रयत्न गर्दै छन्। फिल्मप्रति विशेष रुचि राख्ने शनिलाई यस्तो रोचक आइडिया कसरी जुट्यो त ? उनी भन्छन्, ‘यो सब गर्छु भनेर गरेको होइन। सानो घटनाले यति ठूलो रूप लियो।’

एक दिन उनले बजारमा पुतली (टोइ) किनेका थिए। त्यसलाई क्यामेरामा कैद गर्दा त्यो गज्जब देखियो। यही विषयलाई नेपालको कलासंस्कृति र सभ्यता देखाउन प्रयोग गर्ने सोच उनलाई त्यति बेला नै आएछ। त्यसपछि त के थियो र, उनले बजारबाट भएभरका सुपर हिरोजका टोइ किने। तिनीहरूलाई नेपाली भेषभूषाले सजाए। स्थानीयवासीको दिनचर्यासँग जोडेर नेपाललाई चिनाउने प्रयास गरे।

फिल्मप्रति विशेष चासो राख्ने शनि भविष्यमा आफंै फिल्म बनाउने सोचमा छन्। सुपरहिरोजका लगभग सबै फिल्म हेरेका उनले आफ्नो रुचिलाई फोटोमा उतारेको बताए। सुपरहिरोजको नेपाल भ्रमणको तस्बिर प्रदर्शनी आसार २७ गतेदेखि साउन ८ गतेसम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.