शिल्पालाई तेस्रो झड्का
लन्डनमा छँदाखाँदाको करिअर र पढाइ छाडेर शिल्पा मास्के नेपाल आएकी थिइन्। अझ हलिउड फिल्म ‘डाक्टर स्ट्रेन्ज’ मा काम गरेको प्रोफाइल पनि थियो। यही कारण सुरु–सुरुमा उनलाई केही मिडियाले हलिउड हिरोइन भन्ने गर्थे। उनको सुरुवात पनि दमदार थियो।
नेपालका केही गिनेचुनेका निर्देशकमा पर्ने हेमराज बिसीको मेगा बजेट फिल्म ‘ब्रेकअप’बाट उनको डेब्यू हुँदै थियो। अपोजिटमा थिए, आशिरमान देशराज जोशी। तर, अनमोल केसीको ‘क्याप्टेन’सँग जुध्न आएको फिल्मले लज्जास्पद व्यापार गर्यो। शिल्पालाई डेब्यूले नै डुबायो।
यसपछि शिल्पाले खेलिन् ‘कागजपत्र’, जो ‘ब्रेकअप’भन्दा ठीक विपरित जान्राको फिल्म थियो। शिल्पाले काम पनि राम्रै गरेकी थिइन् तर यो फिल्मले पनि गति छाड्यो। बक्स अफिसमा लामो समय टिकेन। यसै बीच शिल्पाको हातमा आइपरेको थियो, ‘सानो मन’।
भावानात्मक प्रेमकथा समेटिएको यो फिल्मबाट शिल्पालाई ठूलै आश थियो तर यसले पनि पुरानै फिल्मको बाटो समात्यो। एक त बासी कथा, त्यसमाथि मनसुनको समय। दर्शक हलमा टेकेनन्। हेर्दाहेर्दै शिल्पालाई तेस्रोले पनि धोका दिएको छ।