सांसद र स्वकीयको कार्यदक्षता

सांसद र स्वकीयको कार्यदक्षता

संविधानतः जनतामा निहित सार्वभौमसत्ताको प्रयोग जननिर्वाचित सांसद (जनप्रतिनिधि) मार्फत प्रयोग हुने संवैधानिक प्रावधान छ। यो संवैधानिक व्यवस्था कार्यान्वयन गर्न संसद् प्रभावकारी हुनुपर्छ। संसद् योग्य, सक्षम र प्रभावकारी हुन सांसदहरू सक्षम, सक्रिय र प्रभावकारी हुन अनिवार्य हुन्छ।

२०७६ असार २८ गते संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य (सांसदहरू) का स्वकीय सचिवहरूको भूमिका प्रभावकारी बनाउन अभिमुखीकरण कार्यक्रम आयोजना गरेर राम्रो गर्‍यो। मैले बाह्य प्रशिक्षकका रूपमा डेढ घन्टा त्यहाँ गरेको प्रस्तुतीकरणलाई सहभागीद्वारा ध्यानपूर्वक सुनियो। खासमा स्वकीय सचिवहरूको व्यवस्था सांसदहरूको क्षमता अभिवृद्धिका लागिभन्दा कानुनतः ‘अन्य’ सुविधामा सीमित रहेको अवस्था कायमै छ। यसमा स्पष्ट कार्य क्षेत्र (टीओआर) को खाँचो महसुस भएको त छ, तर अझैसम्म न सचिवालयले न त सांसदहरूले नै ठोस रूपमा ध्यान दिन सकेको अवस्था छ।

प्रतिनिधिसभाका सांसदका २७५ स्वकीय सचिवहरूमध्ये करिब १७० जनाको उपस्थिति रहेको आयोजकद्वारा जानकारी गराइएको थियो। यसखाले उपस्थितिले स्वयं कैयन् स्वकीयहरू नै आफ्नो कामप्रति गम्भीर नरहेको स्थिति प्रस्ट हुन्छ। कतिपय स्वकीय सचिवहरूले अन्तरसंवादकै क्रममा एउटा कटु यथार्थ राखेका थिए– केही नेपाली ब्रोडसिट दैनिकहरूले विस्तृत विवरणका साथ समाचार नछापेको स्थितिमा स्वकीय सचिवहरूको नियुक्तिमा यो ढंगको सुधार भएर कार्यक्रममा उपस्थित हुने संख्या अझै कम हुने खतरा विद्यमान हुन्थ्यो।

सुविधा होइन, सक्षमताको आधार

आफ्नो क्षमता र कार्यसम्पादन बढाउन स्वकीय सचिवहरूलाई व्यवस्थित ढंगले काममा लगाउन सांसदहरूको तर्फबाट समेत कमी भइरहेको अनुभव गरिएको छ। अनुभवका आधारमा कार्यक्षेत्रगत सर्त स्पष्ट गरेरै सचिवालय र सांसद स्वयंले स्वकीय सचिवलाई नियुक्ति पत्र दिनु आवश्यक छ। यो कार्य सन्तोषजनक हुन सकेको छैन। सम्बन्धित नियुक्त व्यक्तिको खातामा तलब, भत्ता र पारि श्रमिक जम्मा गरिने अनिवार्य व्यवस्थाले स्वकीयको सुविधा सांसदको खल्तीमा जने क्रम रोकिएको छ। यस्ता बाध्यकारी प्रबन्धहरू नगरी खास सुधार हुन सक्ने सम्भावना न्यून छ।

सांसदको स्वकीय सचिवमा नियुक्तिसँगै कम्तीमा एक हप्ता लामो स्टाफ कलेज कोर्समा सहभागी गराई काममा संलग्न गराउन जरुरी छ। तर, अहिलेसम्म यसको आवश्यकता बोधसम्म हुन सकेको छैन। अनि, पाँच वर्षमध्ये हरेक एक–एक वर्षमा पुनर्ताजगी प्रशिक्षणको व्यवस्था गर्नुपर्ने खाँचोसम्म पनि महसुस गरेको पाइँदैन।

शाखा अधिकृत वा सोसरह हैसियतका स्वकीय सचिवहरूलाई स्नातक उत्तीर्ण भएको हुनुपर्ने योग्यता र तदनुरूपको ज्ञान, सीप र भूमिकाले जवाफदेही बनाउने काम पनि खासै हुन सकेको छैन। सांसदको क्षमता अभिवृद्धिका लागि स्वकीयहरूको क्षमता विकास गर्न सचिवालयले ध्यान दिन र लगानी गर्न अत्यावश्यक छ।

हालसम्म स्पष्ट कार्यादेश र कार्यसूचीको अभावमा यो काम प्रभावकारी हुन नसकेको तथ्य हो। नियुक्तिसँगसँगै निश्चित अवधिको अनिवार्य तालिम प्रदान गर्नुपर्नेतर्फ दिइएको सुझाव कार्यान्वयन गर्न संसद् सचिवालय गम्भीर हुनुपर्ने देखिएको छ। यसका आधारमा कार्यसम्पादनमा अन्तर ल्याउन सकिन्छ। स्वकीय सचिवहरूको संस्थागत परिचालनको स्थिति हेर्दा कमसेकम शाखा अधिकृतको योग्यता खाम्ने, प्राविधिक रूपमा दक्ष र क्रियाशील स्वभाव, जिल्लाको निर्वाचन क्षेत्र, सरकारी निकायमा समन्वय र काठमाडौंमा सचिवालयकेन्द्रित झन्झटिलो काममा सक्रियताको रचनात्मक, योजनाबद्ध र सहनशील कार्यशैली हुनुपर्ने अनुभूति सबैलाई भएकै हुनुपर्छ।

स्वकीय सचिवको प्रबन्धअन्तर्गत कानुनतः प्राप्त यो सुविधा झन्डै २५ वर्ष लामो अवधि बितिसक्दासमेत व्यक्तिगत तहको सहयोगमा सीमित र जारी छ। यसमा संस्थागत र कार्यक्षेत्रगत सर्त निर्माण र अभ्यासको अभाव छ। स्वकीयहरूको नियुक्त प्रक्रिया र व्यक्ति छनोटमै विवाद हुने गरेको समेत छ। प्रायः नातागोता र आफन्तहरू (भाइ, भतिजा, सालासाली र नातागोता) को भर्तीकेन्द्र बनाइएको भनी आलोचना हुने गरेको अवस्था विद्यमान छ।

ससाना विवाद र आलोचनाबाट टाढा राख्दै सांसदको सफलता प्रदर्शन गर्न सक्दा नै स्वकीय सचिवहरूको मुख्य परीक्षा र परीक्षण हुन्छ।

स्वकीयको नाम मात्र राख्ने खासमा केही काम गर्न नलगाउने गरी एउटा हैसियत मात्र होइन, दैनन्दिन काममा सशक्त र सक्रिय भूमिका निर्वाहको अपेक्षा यसको व्यवस्था गर्दा गरिएको स्पष्ट छ। तसर्थः स्वकीय सचिव– पार्टी कार्यकर्ता, निकटस्थ र स्वार्थ समूह वा परिवारको सदस्य होइन, स्वयं सांसदको उत्कृष्ट चयन र योग्य व्यक्ति हुन अनिवार्य छ।

सांसदको जवाफदेही र जिम्मेवारीपन

अमेरिकालगायतका कतिपय देशमा सांसदले विधि निर्माणमा केन्द्रित भए मात्र पुग्छ। त्यहाँ मन्त्रीसमेत सांसदहरूबाट बनाइँदैन। नेपालमा एकजना सांसद कानुन निर्माता, निर्वाचन क्षेत्रमा विकास कार्यको संयोजनकर्ता, सामाजिक व्यक्तित्व अनि प्रदेश र संघीय संसद्को सदस्यको हैसियतमा प्रादेशिक र राष्ट्रिय व्यक्तित्वका रूपमा पनि क्रियाशील हुनुपर्ने एकसाथ धेरैवटा दायित्व पूरा गर्न लाग्नुपर्ने बाध्यता छ। विधि निर्माण प्रक्रियामा भिन्न छवि बनाई सक्रिय हुन यहाँका सांसदहरूका निम्ति गाह्रो काम भएको अनुभव पाइन्छ। किनभने, सांसदको यस हिसाबले छवि निर्माण गरेको पाइँदैन।

तर संसद्मा बोल्ने विषय र एजेन्डामा विशेष ध्यान दिने र तयारी गर्ने, सार्वजनिक महत्त्वका विषयहरूमा प्रस्ट दृष्टिकोण राख्ने, विधेयकहरूको गम्भीरतापूर्वक अध्ययन–मनन र गृहकार्य गर्ने, समितिका बैठकमा अध्ययनशील, लचिलो र बौद्धिक प्रस्तुति गर्ने, सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय अनुभव र अभ्यासको विचरण एवं विवेचना गर्ने, विवादका विषयहरूको निरूपण र समाधानका लागि आवश्यक सन्दर्भ–सामग्रीको खोज, संकलन र अध्ययन गर्ने अनि उत्कृष्ट नीतिनिर्माणकर्ताको छवि निर्माण गर्न लागिपर्ने काममा हरेक सांसदले ध्यान दिनैपर्छ। यो काममा स्वकीय सचिवको भूमिका निकै सहयोगी र कामयावी बनाउन सकिन्छ। र, त्यतापट्टि परिलक्ष्यित हुनुपर्छ।

निर्वाचन क्षेत्रमा मतदाताबीच भरोसायोग्य प्रतिनिधिका रूपमा स्थापित हुन जनता÷मतदाता र सिंहदरबारबीचको सम्पर्क सेतु बन्ने, जनसरोकारका हर विषयमा जीवन्त सम्पर्क, विकास प्रक्रियाको अगुवाइ, सुनुवाइ र संयोजन गर्ने, निर्वाचन क्षेत्रमा आफ्नो भिन्न परिचयका लागि नित्य कोसिस गर्ने, योजना छनोट र कार्यान्वयनमा भिन्न प्रयास जस्तो कि प्रभावित क्षेत्रका अगुवासँग समन्वय र सरसल्लाह गर्ने, पारदर्शी र निर्विवाद विनियोजन, कार्यान्वयन र अनुगमनको सक्रियता देखाउने, छ करोड बजेटको योजनाबद्ध खर्च गर्ने बन्दोबस्त मिलाउने, बेरुजु देखिने वा कार्यान्वयन नहुने स्थितिप्रति सजगता अपनाउने र हरेक सांसद ३३० संघीय र ५५० प्रादेशिक सदस्यहरूमध्ये आफू अग्रणी, अब्बल र प्रतिस्पर्धायुक्त सावित हुन सक्नुपर्ने खाँचो छ। यसो गरेर मात्र सांसदहरूले आफूलाई विकास अभियन्ता र राजनीतिक अगुवाको दुवै भूमिकामा भरोसायोग्य छविमा स्थापित गर्न सक्छन्।

यसनिम्ति सांसदको आलोचना भइरहेको पनि हुन सक्छ, त्यसको मनन गरेर कमी–त्रुटिमा सुधारको हुटहुटीका साथ व्यवहारमा भिन्न बनाउने गरी स्वकीय सचिवहरू सक्रियताका साथ लाग्नुपर्छ। सांसदका तर्फबाट नै हरेक कार्य सम्पादन गर्न यस्तो जिम्मेवारीमा रहने व्यक्तिले आफूलाई प्रतिस्पर्धात्मक कार्यव्यवहार, सहिष्णु र विनम्रताका साथ प्रस्तुत गर्नु आवश्यक हुन्छ।

सांसद र स्वकीय सचिवको सार्वजनिक र आन्तरिक भिन्न खालको कार्यसम्बन्ध हुन्छ। स्वकीय सचिवलाई टेलिफोन उठाउन सीमित गर्ने, पारिवारिक सदस्यको तहमा निकट मात्र राख्ने गरेर यो जिम्मेवारी पूरा हुँदैन। स्वकीय सचिवलाई आफ्नो हरेक काममा योग्य, दक्ष र भरोसायोग्य दाहिने हातका रूपमा चलाउन सक्नु स्वयं सांसदको पनि जिम्मेवारी र कर्तव्य हो।

मन्त्रालय र सरकारी निकायसँग समयमै पत्राचार÷जानकारी र समन्वय गर्न, निरन्तर भेटघाट र कामको फलोअप गर्न, कामको प्राथमिकता निर्धारण गरेर क्रियाशील हुन, सम्बन्धित मन्त्री÷सचिव÷महानिर्देशकलगायतसँग कार्यगत सुसम्बन्ध राख्न सांसद र सांसदका तर्फबाट स्वकीय सचिवको सहज, सरल, क्रियाशील र सहयोगी व्यवहार देखिनु अनिवार्य हुन्छ।

स्वकीय सचिवले सांसदका दैनन्दिन भेटघाट र जनसम्पर्कको समन्वय मिलाउने, सार्वजनिक कार्यक्रमको समय निर्धारण, निश्चित र व्यवस्थापन गर्न आयोजकहरूसँग निरन्तर सम्पर्कमा रही समय व्यवस्थित गर्ने, आवश्यक पत्राचार÷फलोअप र कार्यान्वयनका लागि दौडधूप गर्ने, सहयोगीहरूको विषयगत समूह निर्माण र परिचालन गर्ने एवं उल्लेखनीय परिणामको स्वाभाविक अनुभूति बाँड्न सक्नेसमेत हुनुपर्छ। व्यक्तिगत अपहरिहार्यताको अनुभूति गराउँदै परस्परमा विश्वास अभिवृद्धि गरेरै यो काम सफलतापूर्वक गर्न सम्भव हुन्छ।

व्यवस्थित सञ्चार र समन्वय

सांसदको लोकप्रिय सार्वजनिक छवि बनाउन सञ्चारमाध्यम र सञ्चारकर्मीसँग घनिष्ट सम्बन्ध बनाउँदै सार्वजनिक व्यक्तित्व निर्माणमा ध्यान दिनुपर्छ। साथै, सोसल मिडिया सञ्चालनमा आफैं पनि अभ्यस्त र पोख्त हुनुपर्छ। त्यसले धेरै कामको संयोजन गर्न मद्दत पुग्छ। प्रभावकारी सञ्चार समन्वय र सम्बन्ध यस जिम्मेवारीको अपरिहार्य पूर्वसर्त हो। जिल्ला र निर्वाचन क्षेत्रका बौद्धिक व्यक्तिहरूको साथसमर्थन लिने, विषयविद्÷विज्ञहरूको राय, सुझाव र परामर्शमा कार्यसम्पादन गरिरहेको अनुभूति गराउने, जनस्तरका सामाजिक कार्यहरू (अस्पताल, घाट, विवाह, व्रतबन्ध, मृत्यु संस्कार, पूजाआजा) आदिको समयमै जानकारी र सम्भव भएसम्म सहभागितामा ध्यान पुर्‍याउने गर्न सक्नुपर्छ।

हरेक सार्वजनिक कार्यमा सहज उपस्थिति र सक्रिय भूमिकाको अपेक्षा मतदाता र सम्बन्धित क्षेत्रका वासिन्दाले गरेका हुन्छन्। त्यसमा व्यवस्थित समन्वय मिलाउनु र कुनै गुनासो गर्ने ठाउँ नदिनुमा स्वकीय सचिवको योग्यता र क्षमता प्रदर्शन हुन्छ। यस प्रक्रियामा सफल सावित भएर मात्र सांसदलाई सक्रिय सामाजिक व्यक्तित्व र अगुवाको छविमा स्थापित गर्न सकिन्छ। स्वकीय सचिवले संसद्भित्र, बाहिर र समाजमा अत्यावश्यक समन्वय र संयोजन गर्नु र सांसदको भूमिका देखिने गरी प्रभावकारी बनाउन नै कार्य गर्नुपर्छ। सँगसँगै निर्वाचन क्षेत्र, मतदाता र भेटिरहनुपर्ने बौद्धिक क्षेत्रसँग निरन्तर र जीवन्त सम्पर्कको पहल, प्रयास र निरन्तरता कायम गर्न ध्यान दिनुपर्छ। ससाना विवाद र आलोचनाबाट टाढा राख्दै यस्ता क्षेत्रमा सांसदको सफलता प्रदर्शन गर्न सक्नुमै वास्तवमा स्वकीय सचिवहरूको मुख्य परीक्षा र परीक्षण हुन्छ।

स्वकीय सचिवहरूलाई जनसम्पर्कमा दक्ष र काबिल नबनाई सांसदको जनसम्बन्ध र जनसम्पर्क प्रभावकारी हुँदैन। एक मान्छेका दुई हातको सट्टा चार हात, दुई आँखाको सट्टा चार आँखा, दुई खुट्टाको सट्टा चार खुट्टा र एक दिमागको सट्टा दुई चिन्तनशील र सक्रिय दिमागमार्फत एउटा निर्धारित काम सफलतापूर्वक पूरा ध्यान दिनुपर्छ। यसो गरेरै अपेक्षित परिणाम हासिल गर्न केन्द्रित र लक्ष्यित बन्न सम्भव हुन्छ। यसलाई सुविधाकेन्द्रित गरिएकाले विगतमा दुरुपयोगजस्तै भयो, जो स्वाभाविकै थियो। अब क्षमता अभिवृद्धिमा केन्द्रित गरेर सदुपयोगका अनेक दृष्टान्त प्रस्तुत गर्न सक्नुपर्छ।

गैरकानुनी कार्यप्रति सजगता

सांसदको काम, कर्तव्य र अधिकार तथा राजनीतिक एवं सामाजिक हैसियतको बढी ख्याल गरेर जिम्मेवार भूमिका पूरा गर्नुपर्छ। विगतमा उपचार सुविधाको दुरुपयोग भएर पुरुष सांसदले सुत्केरीले खाने औषधी सेवन गरेका बिलहरूको फछ्र्योट गरिएको, गाडी सुविधाको दुरुपयोग भएर सांसदको सुविधाका गाडीमा व्यापारी, तस्कर र माफियाहरू सवार हुन पुगेको, रातो पासपोर्टमार्फत मानव तस्करी गरिएर कैयन् सांसदको राजनीतिक जीवन समाप्त भएकोजस्ता दृष्टान्त छन्। कुनै पनि गैरकानुनी र प्रश्न उठ्ने कार्यमा सांसदको सम्बन्ध, हैसियत प्रयोग वा दुरुपयोग वा भेटघाट र भनसुन गर्ने रबैयालाई सहज र सामान्य मानिनु हुँदैन।

यसनिम्ति सांसद र तिनका स्वकीय सचिवहरू कानुनी शासन र व्यवस्थाको ज्ञान राखी प्रयोगमा दत्तचित्त हुनैपर्छ। जनताको नासोका रूपमा रहेका जनप्रतिनिधिलाई विवादबाट टाढा राख्न विशेष ध्यान पुर्‍याउन सक्नुपर्छ। तब मात्र निर्विवाद छवि निर्माण गर्न र कायम गर्न सम्भव हुन्छ।

२०१५ सालमा बीपी कोइरालाको स्वकीय सचिव रहेका सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री भएको हामीले देखेकै छौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनालका स्वकीय सचिवहरू मन्त्री भएको र भइरहेको पनि पाइन्छ। कतिपय विगतका मन्त्रीका स्वकीय सचिवहरू सांसद भइरहेका देखिन्छन्। अहिले सांसदको स्वकीय सचिव रहेकै व्यक्तिहरू नै भोलि कोही सांसद र मन्त्री बन्दा मन्त्री, उपप्रधानमन्त्री र राजकीय पदाधिकारीहरूका स्वकीय सचिव बन्न सक्ने सम्भावना रहेको हुन्छ।

यसरी सांसद, मन्त्री र राष्ट्रका पदाधिकारीहरूका साथमा पारिवारिक होइन, सक्षम जनशक्ति हुनका लागि मूलतः सांसदका स्वकीयहरूलाई रिक्रुटिङ गर्ने र योग्यतम बनाउने काम गरिनुपर्छ। यसो नगरी संसद्, सरकार, मन्त्री र प्रधानमन्त्रीहरूको भूमिका र कार्यसम्पादन प्रभावकारी बन्न सक्दैन। यो जनताको सेवामा लागिपर्ने र लाग्न सकिने महत्त्वपूर्ण काम, माध्यम, राजनीतिक सम्बन्ध, सम्पर्क र आधार निर्माणको अवसर पनि हो। तथापि, यो जिम्मेवारी जान्नेलाई श्रीखण्ड र नजान्नेलाई खुर्पाको बिँडजस्तो हुन सक्ने सम्भावना रहेकाले यस तथ्यमा सम्बद्ध सबैले हेक्का पुर्‍याउन आवश्यक छ।

—थापा नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हुनुहुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.