आयोजना सञ्चालन भन्दै ऊर्जामन्त्रीले ढाँटे
टीकापुर : ऊर्जा, जलश्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खुशीको खबर बाँडे,‘आज म एउटा खुशीको खबर सुनाउँदै छु।, सिचाईंतर्फको राष्ट्रिय गौरवको आयोजना (रानी, जमरा, कुलरिया)को पहिलो खण्ड सम्पन्न भएको छ ।’
१४ हजार ३ सय हेक्टर क्षेत्रमा सिचाईं हुने गरी मंगलबारदेखि पानी छाडिएको दावी गर्दै उनले भने,‘उक्त क्षेत्रमा सिचाईं गर्नका लागि मुख्य ढोकाबाटै पानी छाड्ने काम सम्पन्न भएको छ ।’
चिसापानीदेखि बल्चौरसम्मको मुख्य नहर निर्माण सम्पन्न नहुँदा किसानहरु परम्परागत रुपमै सिचाईं गर्दै आएका हुन्।आयोजनाले कटासे क्षेत्रमा निर्माण सुरु गरेको हाइड्रोपावरको कामसमेत पूरा हुन सकेको छैन।सो क्षेत्रमा लगभग ६ सय मिटरभन्दा बढी नहर निर्माण हुन सकेको छैन।
किसानहरुले रानीकुलामा कर्णाली नदीको मालझुल, कुलरिया कुलामा बल्चौर र जमरा कुलामा कटासेबाट पानी ल्याइरहेका छन्।रानी, जमरा, कुलरिया कुलाबाट सिचाईं गर्दै आएका जल उपभोक्ताहरुको संस्था रानी, जमरा, कुलरिया जल उपभोक्ता मूल समितिका उपाध्यक्ष लालबीर चौधरीले नहरबाट पानी नआएको बताए ।
‘आयोजनाको मुख्य इन्टेकमा तीनवटा हेडरेगुलेटर जडान गरेर बल्चौरमा रहेको सेटलिन बेसिनसम्म पानी परीक्षण मात्रै गरिएको हो,’ चौधरीले भने,‘अहिले हामीले परम्परागत रुपमै कुलाहरुबाट पानी ल्याइरहेका छौं ।’
चौधरीका अनुसार मुख्य इन्टेक क्षेत्रबाट सेटलिन बेसिनदेखि परम्परागत रुपमा सञ्चालित कुलामा पानी फाल्न सकिने भए पनि नहर सञ्चालनमा आउन अझै समय लाग्नेछ ।
किसानहरुले कर्णाली नदीबाट देशावर गरेर पानी सिचाईंका लागि ल्याउँदै आएको भए पनि आयोजनाले दुई वर्षदेखि निर्माण सम्पन्न भएका नहरहरुबाट पानी सञ्चालन गर्दै आएको छ ।
‘मुख्य इन्टेकमा जडान गर्नुपर्ने हेडरेगुलेटरमध्ये तीनवटा जडान गरेर सेटलिन बेसिनसम्म पानी छोडेर परीक्षण गरेका छौं,’रानाले भने,‘कटासेमा निर्माण भइरहेको हाइड्रोपावरको काम सम्पन्न भएको हुँदा नहर सञ्चालन गर्न सकिएको छैन ।’
चिसापानीस्थित मुख्य इन्टेकदेखि ५.५ किलोमिटर तल रहेको सेटलिन बेसिनमा समेत ढोका जडान गरिएका छैनन्।नदीबाट थुप्रिएको बालुवा, ढुंगा नियन्त्रण गर्न निर्माण गरिएको सेटलिन बेसिनबाट परम्परागत रुपमा सञ्चालनमा आइरहेको कुलरिया कुलामा पानी झारेर नियमित पानी सञ्चालन गर्न सकिने रानाले बताए ।
‘परम्परागत रुपमा सञ्चालनमा आएको सिचाईं प्रणालीमा अस्थायी बाँध बाँधेर सिचाईं गर्नुपर्ने बाध्यता रहेको थियो,’रानाले भने,‘हेडरेगुलेटर जडानपछि किसानलाई केही राहत हुनेछ, हिउँदमा पनि पानी सञ्चालन गर्न सकिनेछ ।’ हाल किसानहरुले भने वर्षायाममा मात्रै कर्णाली नदीको पानी परम्परागत सिचाईं प्रणालीमार्फत् सिचाईं गर्दै आइरहेका छन् ।
मुख्य इन्टेकमा जडान हुन बाँकी रहेका पाँच हेडरेगुलेटर कार्तिक महिनासम्म जडान भइसक्ने रानाले बताए।रानाका अनुसार लम्कीखण्डदेखि दक्षिण हाइड्रोपावरसम्म र हाइड्रोपावरदेखि कटासेसम्म गरी ६ सय मिटर नहर निर्माण हुन बाँकी रहेको छ ।
'मुख्य इन्टेकदेखि लम्की शाखासम्मको झण्डै ८ किलोमिटर नहर पूर्ण रुपमा निर्माण सम्पन्न भइसकेको छैन।‘ढोका जडान लगायतका सानातिना कामहरु अझै बाँकी रहेका छन्,’रानाले भने,‘हाइड्रोपावरको काम सम्पन्न नभएसम्म नहरबाटै सिचाईं गर्न सकिने अवस्था छैन ।’
हाल दोश्रो चरण अन्तर्गत लम्की शाखा नहरको ५.५ किलोमिटर नहर निर्माण सम्पन्न भएको छ।त्यस्तै सो शाखाअन्तर्गत पूर्वपश्चिम राजमार्गको हाइवेपास, साइफन, ड्रेनवाइपास लगायत १० वटा संरचनासमेत निर्माण भएको आयोजनाले जनाएको छ ।
विश्वबैंकको सहयोगमा सञ्चालित राष्ट्रिय गौरबको आयोजनामा पहिलो चरणमा टीकापुर नगरपालिका, जानकी गाउँपालिकाको १४ हजार ३ सय हेक्टर क्षेत्रफलमा सिचाईं हुनेछ।त्यस्तै दोश्रो चरणमा लम्कीशाखा नहरको ६ हजार हेक्टर क्षेत्रफलमा सिचाईं सुविधा पुर्याइने लक्ष्य छ ।
कर्णाली नदीबाट पराम्परागत रूपमा सिँचाइ प्रणाली सञ्चालन हुँदै आएको रानी, जमरा र कुलरिया सिँचाइ प्रणालीलाई बृहत् सिँचाइको रूपमा विकास गर्न सरकारले यो आयोजना सुरु गरेको थियो ।