चन्दननाथ अब महिलामैत्री नगर
जुम्लाको चन्दननाथ नगरपालिका साविक कर्णालीको पहिलो नगरपालिका हो। दशकअघि स्थापना भएको कर्णालीको यो नगरपालिका विकासको गतिमा लम्किँदै गएको छ। सम्भावना र प्राकृतिक स्रोत पर्याप्त हुँदाहुँदै पनि भौतिक विकासमा पछाडि छ।
केन्द्रीकृत शासनका कारण पछाडि पारिएको गुनासो गर्दै आएका चन्दननाथका बासिन्दा जनप्रतिनिधि आएसँगै नगरमा विकासको लहर चल्ने आसमा छन्। कर्णालीमा पहिलोपटक यही नगरपालिकाले महिला मेयर प्राप्त गरेको छ। नगर प्रमुख कान्तिका सेजुवाल अब चाँडै विकासमा काँचुली फेर्ने बताउँछिन्। त्यसकै लागि २० वर्षे अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजनाका आधारमा विकास भइरहेको उनको भनाइ छ। मेयर कान्तिका सेजुवालसँग अन्नपूर्णकर्मी नन्दराम जैसीले गरेको कुराकानी :
असारे विकासको चटारो कत्तिको छ ?
यो देशभरिकै समस्या हो। जुम्लाजस्तो हिमाली जिल्लामा त झन् नहुने कुरै भएन। हिउँदमा हिमपातले विकासका काम हुँदैनन्। काम हुने भनेकै फागुनदेखि असारसम्म हो। तर, हामीले यस वर्ष समयमै विकासका काम सकाएका छौं। हाम्रो नगरमा असारे विकासको चटारो छैन।
तपाईं निर्वाचित भइसकेपछि नगरमा हालसम्म के–के काम भए ?
म चुनिएर आएपछि नगरपालिकालाई स्मार्ट सिटी, कनेक्टिभिटी र इलेक्टिसिटीलाई प्राथमिकतामा राखेर काम गरेँ। मेरै नेतृत्वमा नगरभित्रका १० वटै वडामा सडक पुर्याउने काम भएको छ। स्वास्थ्य संस्थामा महिलाको पहुँज बढेको छ। पहिलो वर्ष मेरा लागि नयाँ भएर होला, जनताको अपेक्षाअनुसार काम गर्न सकिएन। तर, दोस्रो वर्षमा पहिलेका कामलाई निरन्तरता दिएकी छु। धेरै गर्न बाँकी छ।
समृद्ध नगर निर्माणका लागि यहाँका कस्ता योजना छन् ?
हामीले २० वर्षे अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजनाका आधारमा निर्माण थाल्दै छौं। दिगो विकास रणनीतिलाई अवलम्बन गर्दै सडक, विद्युत्, रिङरोड र एयरपोर्ट बनाउने मुख्य योजना छ। भौतिक विकासले मात्रै नहुनेरहेछ। नागरिकको क्षमता विकासमा पनि त्यत्तिकै जोड दिँदै आएकी छु।
जसअन्तर्गत कृषि, आयआर्जनजस्ता सीपमूलक तालिम दिनेछौं। बेरोजगार युवायुवतीलाई स्वरोजगार बनाउन सहुलियतमा ऋण तथा अनुदान दिइनेछ। छुवाछुत, जातीय विभेद, लैंगिक हिंसाका घटना न्यूनीकरण गरी महिलामैत्री तथा छुवाछुतमुक्त नगरपालिका बनाइनेछ। शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको विकासमार्फत बाँकी तीन वर्षको कार्यकालभित्र चन्दननाथलाई समृद्ध नगर बनाउनेछौं।
कामभन्दा बढी आश्वासन बाँड्नुहुन्छ भन्ने आरोप छ नि ?
त्यसो होइन। लामो समयपछि संघीयता आयो। घरदैलोमा सिंहदरबारको अधिकार पनि आयो। नागरिकका चाहना धेरै छन्। जनताको अपेक्षा पूरा गर्नकै लागि मिहिनेत गरिरहेका छौं। पहिलो वर्ष अलमलमै बित्यो। दोस्रो वर्षमा केही काम गरेका छौं। अब बाँकी तीन वर्षभित्र जनताका अपेक्षा पूरा गरेरै छाड्छौं। अहिले नै मूल्यांकन गरेर निरास हुनुपर्ने अवस्था छैन। विकास विस्तारै हुन्छ। हामी प्रयासरत छौं।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि भ्रष्टाचार झन् बढेको हो ?
हामी आएपछि भ्रष्टाचार बढ्यो भन्ने आरोप गलत छ। यसको मतलव पहिले भ्रष्टाचार थिएन ? भ्रष्टाचार त पहिले देखिकै समस्या हो। अहिले केही जनप्रतिनिधिले यसलाई रोक्ने प्रयास गरेनन् होलान्। तर, सबैलाई एकै दाँजोमा आरोप लगाउन मिल्दैन। प्रमाणमा रहेर हामीले बहस गर्ने हो। चन्दननाथ नगरपालिकामा त्यसो छैन। भ्रष्ट कर्मचारी र जनप्रतिनिधिलाई म छुट दिन्नँ। बरु मिडियाले हामीमाथि पनि निगरानी गरोस्।
महिला भएकै कारण यहाँलाई काम गर्न कत्तिको कठिन छ ?
विभेद हर क्षेत्रमा छ। राजनीतिमा पनि यो समस्या छ। त्यसमा पनि कर्णालीमा महिलालाई हेर्ने दृष्टि फरक छ। यहाँको समाजले महिलालाई विश्वास गर्दैन। महिलाले काम गर्न सक्दैनन् भन्ने सोचले जरा गाडेको छ। यस्तो अवस्थामा पुरुष जनप्रतिनिधिको तुलनामा हामीलाई केही समस्या छ। राजनीतिक नेतृत्व र सत्तासम्म महिला भएकै कारण पहुँच कमजोर छ। यसले पनि स्रोतमा कमजोर उपस्थिति हुने नै भयो। तर, मेरो सवालमा चाहिँ त्यस्तो अवस्था छैन। आजको दिनसम्म सबैले विश्वास र सहयोग गरेकै छन्। महिला भएकै कारण नगर विकास र समृद्धिको भोक अधुरै रहन दिनेछैन।
काम गर्दाताका मुख्य चुनौती के के सामना गर्नुपर्यो ?
चुनौती धेरै छन्। विकास निर्माणमा राजनीतिक पूर्वाग्रह देखिन्छ। अनावश्यक विरोधले कामै रोकिन्छन्। कतिपय अवस्थामा राजनीतिक दल नै विकासमा बाधक बन्न खोज्छन्। कार्यपालिकाको बैठकमै पाटीको ह्वीप लगाउँछन्। यसले निर्णय नै हुन सक्दैन। अर्कोतर्फ स्रोत–साधनको पनि कमी छ। ठूला आयोजना सञ्चालन गर्न सक्ने अवस्था छैन।
नगरवासीसँग तपाईंको अपेक्षा के छ ?
कुनै एक जना मेयरले मात्र सोचेर वा गरेर नगर समृद्ध बन्दैन। हामी जनप्रतिनिधिले नागरिकले तिरेको करबाट तलब खाएका छौँ। त्यसैले हामी नगरवासी र विकासप्रति उत्तरदायी छौं। नगरवासीबाट विकासमा अवरोध होइन, सहयोगको अपेक्षा गर्दछु।