डा.भट्टराईको ‘परराष्ट्रका पात्र’ बजारमा
काठमाडौं : विभिन्न कालखण्डमा नेपालको परराष्ट्र मामिला कस–कसले चलाए ? कसरी चलाए ? हाम्रो परराष्ट्र नीति कसरी तय भयो ? कुन नेता वा मन्त्रीको कार्यशैली कस्तो थियो ?
पूर्व परराष्ट्रसचिव डा. मदनकुमार भट्टराईको भर्खरै प्रकाशित पुस्तक ‘परराष्ट्रका पात्र : नेपाली कूटनीतिको सञ्चालन र सञ्चालक’ यी र यस्तै प्रश्नहरूको जवाफमा केन्द्रित छ।
किताब पब्लिसर्सले प्रकाशन गरेको यो पुस्तक विदेश अड्डाका प्रमुख सञ्चालकहरूको भूमिका वरपर घुमेको छ। ‘मेरो उद्देश्य यस क्षेत्रकै पुरानो परराष्ट्र कार्यालयबारे थप अध्ययन र अनुसन्धान, खोजी र संहिताकरणलाई झकझक्याउनु हो,’ मुलुकको कुटनीतिक सेवामा झण्डै चार दशक बिताएका डा. भट्टराई भन्छन्, ‘यो पुस्तक एक हिसाबले नेपालको परराष्ट्र कार्यालय र यसका प्रमुख पात्रहरूको भूमिकाको व्याख्या हो।’
कोलकातास्थित जादवपुर विश्वविद्यालयबाट नेपाल–भारत सम्बन्धमा विद्यावारिधि गरेका भट्टराईले भारतको वैदेशिक सेवाका विभिन्न पक्षको मूल्यांकन गरी महाविद्यावारिधिसमेत गरेका छन्।
सन् १९७७ को लोकसेवा आयोग परीक्षामा प्रथम स्थान हासिल गरी परराष्ट्र मन्त्रालयको शाखा अधिकृतका रुपमा सेवा प्रवेश गरेका डा.भट्टराई सन् २००९–११ को अवधिमा नेपालको परराष्ट्र सचिव थिए। उनी दुई वर्ष (सन् २०१६–१८) राष्ट्रपतिका परराष्ट्र मामिला एवम् कूटनीतिसम्बन्धी सल्लाहकार पनि रहे।
जर्मनी र जापानमा राजदूतको जिम्मेवारी सम्हालिसकेका भट्टराई कूटनीतिअघि अध्यापन र पत्रकारितामा संलग्न थिए ।
‘परराष्ट्रका पात्र’मा जैसीकोठा र मुन्सीखाना जस्ता नेपालका प्रारम्भिक वैदेशिक अड्डादेखि त्यसका सञ्चालकहरुका बारेमा पनि थुप्रै नयाँ तथ्य समेटिएको प्रकाशकले जनाएको छ।
पुस्तकमा बीपी, गिरिजाप्रसाद र मातृकाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, ऋषिकेश शाहलगायतका कुटनीतिज्ञ र राजनीतिज्ञहरूको बारेमा विश्लेषण छ।