कविता : मान्छे, मान्छे र मान्छे
- बालकृष्ण कट्टेल
आमाले रोपेर हुर्काएको
यो पीपलको रूख
आमाले जस्तै
लट्ठी टेकेर हिँड्छ अचेल !
बुवाले
रोपेर जोगाएको
त्यो बरको बोट
परार साल नै
मुर्झाएर लड्यो
यसको पनि यो साल त
तेस्रो तिथि हो नि
बुवाको जस्तै !
रूखबिरुवा पनि त
एउटा पुस्ता न बाँच्दा रछन्
तर मान्छे
हुर्कन थालेको हुँदैन
किन सधैंभरि बाँच्छु जस्तो गर्छ ?
तेलिया खोला तरेर
उकालो चढ्दै गर्दा
भेटियो बयरको बोट
ऊ भन्दैथ्यो—
यो उकालो हिँड्दा
थाकेकी तिम्री दिदीलाई
एकछिन भए पनि
छहारी दिएको मैले नै हो ।
तिर्खाएर घाँटी सुकेको बेला
मेरो हाँगामा
झुन्डिएको बयरको दाना
मलाई नसोधी टिपेर
मुखमा हाल्दा पनि
चुपचाप सहेर बसेको
मैले नै हो ।
मान्छे नामको
‘सुन्दर’ प्राणीलाई
अलिकति भए पनि
गुन लगाउन पाउँदा
म पनि बैंसमा सोच्थेँ—
मान्छे हो
परी आयो भने
केही त गर्ला नि !
तर बैंस सकियो
म पनि गल्न थालेँ
सबैलाई लोभ्याउने गरी
म पनि फल्न छाडेँ
र सोधेँ उसलाई—
ए मान्छे !
यो बेला
सहयोग चाहिएको छ मलाई
केही गर्न सक्छौ ?
अलिकति शीतल चाहिएको छ
छहारी बन्न सक्छौ ?
तर
किन बोल्थ्यो र ऊ
परपरै तर्कन थाल्यो
मलाई देख्दा पनि
अन्त अन्तै फर्कन थाल्यो ।
सिक्नु नि मबाट—
म पनि त
बैंस हुन्जेल न फुलेँ
फल बनेर
जोबन हुन्जेल न झुलेँ !
तर मान्छे
हिँड्न थालेको हँदैन
किन अनुहारको रङ
कहिल्यै जाँदैन जस्तो गर्छ ?
बढ्न थालेको हुँदैन
किन बैंस
कहिल्यै झर्दैन जस्तो गर्छ ?
दिलमाया,
तिम्रो पनि त
उमेर हुँदा न हो
त्यो बडरको पातले
बिस्तारै चुल्ठोमा हानेको
बैंसालु जोबन
हुँदासम्म न हो
ऐसेलु काँडाले
तिम्रो पछ्यौरी सुस्तरी तानेको ।
भेट्यौ भने
भन्देऊ न
त्यो दिलमाने कान्छोलाई
बैंस त एकछिन न हो
यो सधैं हाँस्नै सक्दैन
मान्छे पनि त
एकबारलाई न हो
ऊ सधैं बाँच्नै सक्दैन ।