‘ईश्वर’कै लागि ४० वर्षदेखि कपाल नकाट्ने र ननुहाउने इन्डियन महात्माजी !
काठमाडाैं : भारतको पूर्वी बिहारको मुंगेर जिल्लामा सकलदेव टुड्डु नाम गरेका एक व्यक्ति पनि बस्छन् । उनी ६३ वर्ष पुगे । उनको कपाल भने ४० वर्षको भयो ।
वर्षौँसम्म ननुहाउनाले लट्टा परेको कपाल ‘ड्रेडलक’ नै बनिसकेको छ । उनलाई देख्नेहरुको आँखा धेरै बेरसम्म त उनको कपालमै रोकिन्छन् । गाउँलेहरु उनलाई एक सन्तको रुपमा व्यवहार गर्छन् ।
सकलदेव भने ‘ईश्वरको वरदान’बाटै ६ फुट लामो कपाल पाल्न सम्भव भएको ठान्छन् । उनका अनुसार ४० वर्षअघिको एक रात सपनामा ‘भगवान’ आएर कपाल नकाट्न र नधुन आदेश दिएछन् । त्यही आदेश पालना गर्दा गर्दै आज सम्भवतः संसारकै लामो कपाल पाल्नेमध्ये एक बनेका छन् उनी । उनलाई छिमेकीहरु ‘महात्मा जी’ भनेर सम्मानपूर्वक सम्बोधन गर्नछन् ।
सकलदेव वन विभागका कर्मचारी समेत हुन् । श्रीमती रुपिया देवी, तीन छोरा, तीन छोरी र सात नातिनातिनाको साथमा बस्दैआएका छन् उनी । श्रीमती र परिवारका सदस्य पनि उनको यस्तो हुलिया देखेर गुनासो नगर्ने उनी बताउँछन् ।
विश्वमै सबैभन्दा लामो कपाल भएको मानिसको रुपमा केन्याकी आशा मन्डेला नाम गरेकी एक महिलाले नाम लेखाएकी छन् । जसको कपाल ११० फिट अर्थात् ३४ मिटर लामो छ । २०१८ मा कपाल मापन गरिँदा उनी ५५ वर्षकी थिइन् ।