पत्रकारमाथि खनिए जनार्दन र पम्फा
काठमाडौं : सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्मा र पम्फा भुसाल पत्रकारमाथि खनिएका छन्। राज्यवस्था तथा सुशासन समितिको बैठकमा शर्मा र भुसालले पत्रकारले गलत प्रचार गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
बुधबारको बैठमा शर्माले आफू अनौपचारिक कुरा गर्ने भन्दै अनुरोधको शैलीमा क्यामेरा बन्द गर्न लगाएका थिए। तर सञ्चार माध्यममा उनले क्यामेरा बन्द गर्न लगाएको विषय आएपछि आक्रोशित भएका हुन्।
‘यहाँ कति बोल्ने कति नबोल्ने भन्ने विचार गरेको हुँ। हिजो मैले साथी हो एकछिन अनौपचारिक कुरा गरौँ भनेर रिक्वेस्ट गरेको हुँ’, बिहीबारको बैठकमा शर्माले भने, ‘अनौपचारिक कुरा पनि गर्न नपाइने ? लोकतन्त्र भनेको के अनौपचारिक कुरा गर्न नपाइने हो ? पाउनुपर्यो नि ! हाम्रो पनि त स्वतन्त्रताको कुरा हुन्छ नि त।’
उनले मिडिया व्यवसाय गर्नेप्रति ध्यानाकर्षण गराउँदै पूरा कुरा लेख्न पत्रकारलाई आग्रह गरे। ‘यहाँ एउटा विषय राख्यो त्यसको एउटा अंश टिपेर हाल्ने मिडियाको व्यवसाय गर्नेप्रति म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने, ‘पूरा कुरा लेख्दिनुपर्यो नि त !’
उनले आफूले कर्मचारीको तलब घटाउने कुरा नगरेको दाबी गरे। ‘यो त माननीयको छलफल हो। तलब घटाउने कुरा गरेको छैन। तर यस्तो पनि हुन्छ है भनेर छलफल गरेको हुँ’, उनले भने, ‘तर आज मिडियामा हेरौँ त ! के यही हो लोकतन्त्र ? यस्तै हुन्छ लोकतन्त्र ? कुराको सार एउटा छ। पत्रकार त हाम्रै साथीहरु हो भनेर रिक्वेस्ट गरेको न हो।’
शर्माले समाचारमाा प्रतिबन्ध नलगाएको बताउँदै कहिलेकाहीँ हुने अनौपचारिक कुरालाई नकारात्मक रुपमा नलिन अनुरोध गरे। ‘हामीले तपाईंहरूलाई समाचारमा प्रतिबन्ध लगाएका छैनौं। कहिलेकाहीँ अनौपचारिक कुरा पनि गर्नुपर्छ नि’, उनले भने, ‘केहीसाथीले सकारात्मक पनि लिनुभयो, केहीले नकारात्मक रूपमा लिनुभयो। म साथीहरूलाई यसो नगर्न आग्रह गर्छु।’
सामान्य प्रशासन पढ्न पत्रकारलाई पम्फाको सुझाव
यस्तै, भुसालले पनि पत्रकारप्रति असन्तुष्टि जनाइन्। उनले सामान्य प्रशासनका विषयमा पढेर आउन आग्रह गरिन्। ‘तपाईँहरु हाम्रो नेपालको जनरल एडमिनिस्टेसन अध्ययन गरेर आउनुहोस्। तपाईँहरु बुझ्नुहुन्न। बुझेर लेख्नुहोस्’, सांसद भुसालले भनिन्।
भुसालले संसदीय समितिको रिपोर्टिङमा बिटको मात्र मान्छे आउन अनुरोधसमेत गरिन्। ‘छापा माध्यममा बिट हुन्छ। बिटको मान्छे आउनुहोस्’, उनले भनिन्।
भुसालले अगाडि र पछाडिको कुरा छाडेर आफूहरुलाई भिलेनजस्तो नबनाउन पनि पत्रकारलाई आग्रह गरिन्। ‘अगाडिको पनि बुझ्नुहुन्न। पछाडिको पनि बुझ्नुहुन्न। बीचको लग्नु भएको छ’, उनले भनिन्, ‘बिनम्र अनुरोध छ अगाडिको पनि र पछाडिको पनि छाडेर हामीलाई बीचमा भिलेनजस्तो नबनाउनुहोस्।’