राज्य व्यवस्था तथा सुशासन समितिको टोली भक्तपुरमा

राज्य व्यवस्था तथा सुशासन समितिको टोली भक्तपुरमा

भक्तपुर : प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले बिहीबार भक्तपुर पुगेको छ। गएको असार २६ देखि २८ गतेसम्म परेको अविरल वर्षाले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न टोली भक्तपुर पुगेको हो। 

समितिकी सभापति शशी श्रेष्ठको नेतृत्वमा भक्तपुर आएको टोलीले भक्तपुरको प्रमुख खोला हनुमन्तेले डुबाएको तथा त्यसको बाढी पसेर क्षति पुर्या‍एको क्षेत्रको अवलोकन गरेको थियो।

टोलीलाई भक्तपुर क्षेत्र नम्बर १ का सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले हनुमन्ते खोलामा आएको बाढीले डुबाएको भक्तपुर नगरका विभिन्न क्षेत्रबारे जानकारी दिएका थिए। 

उक्त टोली अलिरल वर्षाले प्रभावित र हनुमन्ते खोलाको बाढीले डुबाएको क्षेत्रहरु भक्तपुर १ स्थित भाज्या पोखरी, वडा नम्बर ३ स्थित मंगल तीर्थ र वडा ४ को राममन्दिर र वडा ७ हनुमानघाट क्षेत्र पुगेको थियो।

उक्त अवसरमा राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति श्रेष्ठले मानव निर्मित संरचनाकै कारण बाढीबाट धेरै क्षति पुगेको जानकारी दिइन्।

क्षति न्यूनीकरणको लागि प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी क्षतिको वास्तविक कारण पहिचान गर्न समिति भक्तपुर पुगेको उनले बताइन्।
‘समितिको टोलीले देशैभरि बाढी–पहिरोले क्षति पुर्‍याएका स्थानको अनुगमन गरिरहेको छ’, सभापति श्रेष्ठले भनिन्, ‘अनुगमनको प्रतिवेदन तयार गरी सरकारलाई समस्याको दीर्घकालीन समस्याको लागि निर्देशन दिइनेछ।

हनुमन्ते खोला उकासिँदा डुबानको समस्या
उक्त अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुर १ स्थित सल्लाघारीस्थित हनुमन्ते खोला पुलमा खोलाको सतहभन्दा माथि ढलान गरिँदा भक्तपुर नगर क्षेत्र डुबानमा पर्दै आएको गुनासो गरे।

उक्त ढलानको कारण सल्लाघारीमाथि बाराहीस्थान, मंगलतीर्थ रामममन्दिर, चुपीँघाट, भेलुखेल, हनुमानघाट हुँदै जगातीसम्म हनुमन्ते खोलाको डुबानमा पर्दै आएको उनको भनाइ थियो।

उक्त ढलान भत्काएर खोलाको सतह गहिर्‍याउन डिभिजन सडक कार्यालयलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको उनले बताए। त्यस्तै भक्तपुर, मध्यपुर थिमी र सूर्यविनायक नपा जोडिएको हनुमन्ते खोलास्थित पुलमा पनि खोला उकासिने गरी ढलान गरिँदा भक्तपुर र मध्यपुर थिमी नगर क्षेत्र डुबानमा पर्दै आएको प्रमुख प्रजापतिले जानकारी दिए।

उनले ती समस्या समाधान गर्न संघीय सरकारलाई निर्देशन दिन राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति श्रेष्ठसँग आग्रह गरे। त्यस्तै प्रमुख प्रजापतिले अविरल वर्षा र हनुमन्त खोलामा आएको बाढीले भक्तपुर नगरमा भएको क्षति विवरणबारे जानकारी दिए।

स्थलगत निरीक्षणमा समितिकी सभापति श्रेष्ठसँगै सदस्यहरू प्रेम सुवाल, कृष्णगोपाल श्रेष्ठ, दिलेन्द्रप्रसाद बडू, तीर्था गौतम, यशोदा सुवेदी, डीला संग्रौला, मीना पाण्डे, लक्ष्मी चौधरी, छक्कबहादुर लामा, रेखा शर्मा, बृजेशकुमार गुप्ता, महेश्वर गहतराज र देवेन्द्रराज कँडेल उपस्थित थिए।

त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान पनि उपस्थित थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.