मोबाइलमा बैंक : कारोबारको फेरिँदो रूप
काठमाडौं : नगद बोक्दा हुने जोखिमलाई कम गर्न प्लास्टिक मनी अर्थात् एटीएम कार्डको आविष्कार भयो। एटीएमको आविष्कार कारोबार दुनियाँका लागि एउटा ठूलो उपलब्धि थियो। जसले क्यासलेस कारोबारको सम्भावनालाई प्रस्फुटन गरिदियो।
खल्तीमा नगद बोक्नुका सट्टा एउटा सानो प्लास्टिकको टुक्रो बोक्दा हुने सुरक्षा र सहजतालाई उक्त समयमा क्रान्तिको रूपमा हेरियो। अब त्यही कार्ड पनि बोक्नु नपर्ने भएको छ। प्रविधिमा भइरहेको विकासले प्लास्टिकका कार्ड पनि विस्तारै विस्थापित हुँदै गएका छन्। अब त कतै एटीएम नै विस्थापित हुने त होइन भन्ने अवस्थामा हामी छौं। कार्डको स्थान लिएको छ हाते मोबाइलले। मोबाइल बैंकिङ, मोबाइल वालेट अथवा मोबाइल मनी जे भनौं। यो आजको दिनमा उदाएको कारोबार शैलीका माध्यम हुन्।
एटीएमलाई क्रान्ति भन्ने हो भने यसलाई के भन्ने ? प्रविधिको विकासको उच्चतम विन्दु। यसो भनिरहँदा भविश्यमा अर्को आविष्कार नहोला भनी रहन पनि सकिदैन्। तर, कारोबारमा आजका लागि पक्कै पनि प्रविधिले हात पारेको यो सबै भन्दा ठुलो उपलब्धी हो भन्न सकिन्छ। जसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परिसकेको छ। विस्तारै नेपालमै पनि एटीएम मेसिनको आयु र औचित्यको विषयमा बैंकर नै सोचिरहेका छन्। बैंकर संघका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह भन्छन्, ‘एटीएमले शाखा र मोबाइल बैंकले विस्तारै एटीएमलाई नै विस्थापित गर्ने समय आउने छ।’
सुन्दा अझै पनि अचम्म लाग्न सक्ला। तर त्यसलाई तथ्यांकले पनि प्रष्ट पार्छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्ने हो भने मोबाइलबाट बैंकिङ कारोबार गर्ने ग्राहकको संख्या ६४ लाखको हाराहारीमा छ। हाल नेपालको कुल जनसंख्याको करिब ६० प्रतिशतमात्र मानिस बैंकिङ पहुँचमा छन्। त्यसमध्ये ६४ लाखले मोबाइल बैंकिङ प्रयोग गर्नुले अबको कारोबार शैलीलाई पनि प्रष्ट्याउँछ।
त्यतिमात्रै होइन। राष्ट्र बैंकको तथ्यांकमा हेर्दा देखिने अन्तर पनि अबका दिनमा हुने कारोबारको शैलीलाई दर्शाउँछ। असारसम्म ३० लाख सर्वसाधारणले मोबाइलबाट बैकिङ सेवा लिएका थिए। अहिले आइपुग्दा त्यो संख्या दोब्बरभन्दा बढीले बढेको छ। बढेर ६४ लाखको हाराहारीमा पुगेको छ। ६४ लाखमध्ये केहीले नयाँ प्रविधिसँग घुलमिल हुन नसक्दा सुविधा लिए पनि मोबाइलबाट कारोबार गर्न सकेका छैनन्। जसले प्रयोग गरिरहेका छन्, उनीहरूले नगद जम्मा गर्नेबाहेक अन्य सम्पूर्ण काम आजको दिनमा मोबाइलबाटै गर्न सक्छन्। यसको प्रमुख कारण समय र खर्चको बचत नै हो।
अहिले नेपालका सबै बैंकले मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएका छन्। सहकारी क्षेत्रमा पनि विस्तारै मोबाइल कारोबार प्रणालीको विकास भइरहेको छ। यसमा फोन पेजस्ता मर्चेन्ट कम्पनीको ठूलो हात छ। अहिले फोन पे नेटवर्कमा मात्रै ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थालाई आवद्ध गरेको छ। जहाँबाट नेपालभरका ६४ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता बैंकसँग जोडिएका छन्। फोन पे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो जसले ग्राहक, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ। जसले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुँचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ।
मोबाइल फोन कुराकानी गर्ने माध्यमबाट भुक्तानी सेवा, रेमिट्यान्स, किनमेल तथा वित्तीय कारोबार गर्ने साधनका रूपमा स्थापित गर्ने क्रममा विकास भएको छ।
महत्वपूर्ण पक्ष भनेको मोबाइल वालेटको विकास हो। ई–सेवा, आईएमई पे, प्रभु पे, खल्तीलगायत पाँचवटा सेवा प्रदायकले राष्ट्र बैंकबाट कारोबारको लागि स्वीकृत पाइसकेका छन्। त्यसमध्ये पनि नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘ई–सेवा फोन पे प्रालि’ को मोबाइल एप्स डाउनलोड गर्नेको संंख्या २० लाखको हाराहारीमा छन्। यो संख्या नेपालका बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक कम्पनीमध्ये सबैभन्दा धेरै हो। पछिल्लो समय नेपाली मोबाइल तथा इन्टरनेटमार्फत भुक्तानी गर्न अभ्यस्त भइरहेको सन्दर्भमा ई–सेवाको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या २० लाखको हाराहारीमा पुगेको ई–सेवा फोन पेका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछाने बताउँछन्।
सन् २०१० बाट सेवा सुरु गरेको ई–सेवाको करिब २० लाख ग्राहकमध्ये मोबाइल एप्सबाट कारोबार गर्ने नै १५ लाखको हाराहारीमा पुगेका छन्। यसबाट सेवा लिनेको संख्या एक करोडको हाराहारी छन्। कारोबारको अंक पनि ठूलो छ। मर्चेन्ट अर्थात् बिजुली, पानी, इन्टरनेट लगायतको बिलमात्रै दैनिक ७ करोडको हाराहारीमा ई–सेवाबाटै तिरिन्छ। बैंकबाट आउने जाने रकम ५ करोडको हाराहारीमा दैनिक हुन्छ। ई–सेवाबाहेक अन्य कम्पनीको प्रयोगकर्ता पनि त्यही रूपमा बढिरहेका छन्।
जसबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई सय ५० भन्दा बढी सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ। आईएमई डिजिटल सोलुसन प्रालिका निर्देशक सुमन पोखरेल भन्छन्, ‘मोबाइल वालेटमा हरेक दिन हजारौंको संख्यामा ग्राहक थपिने क्रम छ। तर पनि मोबाइल फोन कुराकानी गर्ने माध्यमबाट भुक्तानी सेवा, रेमिट्यान्स, किनमेल तथा वित्तीय कारोबार गर्ने साधनका रूपमा स्थापित गर्ने क्रममा विकास भएको यो प्रविधिमा अझै पनि मानिस अभ्यस्त हुन सकेका छैनन्।’ त्यसका लागि प्रयोग प्रविधि र यसको ज्ञान आवश्यक रहेको पोखरेलको भनाइ छ। त्यसका लागि ग्रामीण भेगसम्म पनि पुग्नु पर्नेछ।
गाउँका मानिसले पनि सहज रूपमा बैंकिङ कारोबार गर्न सक्ने वातावरण सिर्जना गर्न सक्ने वातावरण मोबाइल वालेटले गर्नुपर्ने धारणा प्रभु टेक्नोलोजी प्रालिका प्रमुख कार्यकारी निर्देशक कुसुम लामा व्यक्त गर्छिन्। उनी भन्छिन्, ‘जहाँबाट पनि जुन समयमा पनि कारोबार गर्न सकिने भएकाले मोबाइल बैंकिङ युवा पुस्ताबीच बढी लोकप्रिय बन्दै गएको हो।’
मोबाइल वालेटमा कसरी आवद्ध हुने ?
ई–सेवा, आईएमई पे, प्रभु पे, खल्तीलगायतका सेवा प्रदायकको सेवा लिन स्मार्ट फोन प्रयोगकर्ताले एप स्टारबाट एप्लिकेसन डाउनलोड गरेर यो सञ्जालमा खाता खोल्न वा दर्ता गर्न सक्छन्। खाता खोलेपछि वा दर्ता भइसकेपछि प्रयोगकर्तालाई एउटा पिनकोड प्राप्त हुन्छ। जुन सेक्युरिटी कोड भन्दा पनि हुन्छ। त्यसलाई आवश्यकताअनुसार परिवर्तन गर्न पनि सकिन्छ। उक्त कोड ई–पेमेन्टमार्फत भुक्तानी गर्दा, बैंकमा रकम जम्मा गर्दा, सञ्जालमा आवद्ध अन्य सदस्यलाई रकम पठाउनु पर्दा, रिचार्ज कार्ड खरिद गर्नु पर्दा प्रत्येकपटक आवश्यक पर्छ।