‘पढेलेखेकाले नै नियम धेरै मिच्छन्’

‘पढेलेखेकाले नै नियम धेरै मिच्छन्’

ड्युटीमा कत्तिको व्यस्त हुनुहुन्छ, सर?

आजकाल सवारीको चाप बढेको छ। सधैँ व्यस्त भइन्छ। 

यहाँको घर कता पर्‍यो?

नवलपरासी। 

ट्राफिक प्रहरीको जागिर गर्न थाल्नुभएको कति भयो?
चार वर्ष भयो । 

यहाँ आउनुअघि के गरिन्थ्यो?
खेतीकिसानी गर्थें। 

ट्राफिक प्रहरीमा आउने अवसर कसरी जुट्यो?
मलाई सरकारी जागिर खाने रहर थियो। संयोगले ट्राफिक प्रहरी भइयो।  

काम कत्तिको गाह्रो छ?
गाह्रो–सजिलो त जुनसुकै काममा पनि भइहाल्छ नि। सुरुसुरुमा अलिक असहज भएको थियो। अहिले त रमाइलै लाग्छ। 

कहिलेकाहीँ अल्छी लाग्दो हो नि? 
अल्छीले ट्राफिक प्रहरीको जागिर नखानु राम्रो ! जनताको सेवा गर्ने लक्ष्य लिएर  अघि बढेको मानिसले अल्छी मानेर हुँदैन। म त काममा सधैँ रमाउँछु। सिटी फुक्दा अल्छीपन आफैँ भाग्छ। 

कपनमा सरुवा हुनुभएको कति भयो?
चार महिना भयो। 

यसअघि कता हुनुहुन्थ्यो?
कोटेश्वरमा थिएँ। 

कपनमा के भइदिए ट्राफिक प्रहरीलाई काम गर्न सहज हुन्थ्यो?
यहाँ बाटो साह्रै साँघुरो छ। हेभी गाडीहरू धेरै गुड्ने भएकाले साँघुरो बाटोले धेरै असहज भएको छ। जसका कारण जाम हुन्छ। यहाँको बाटो फराकिलो बनाई गाडीहरूको रुट छुटाइदिने हो भने काम गर्न सजिलो हुन्थ्यो। 

कपनमा कार्यरत ट्राफिक प्रहरीको ड्युटी कता–कता पर्छ?
बालुवाखानी, कपन गुम्बा, महाँकाल, गोपीकृष्ण इत्यादि ठाँउमा। 

यतातिर हेलमेट नलगाई मोटरसाइकल र स्कुटर चलाउने कत्तिको भेटिन्छन्?
यहाँ प्रायः भित्री एरिया बढी छन्। त्यसैले हेलमेट नलगाई हिँड्ने धेरै भेटिन्छन्।

ती चालकलाई के गरिन्छ?
उनीहरूलाई हामी रोक्छौं र घर गएर हेलमेट नलेराएसम्म उनीहरूको सवारी होल्ड गरेर राख्छौँ। 

बिनालाइसेन्सका चालक पनि भेटिन्छन् कि? 
भेटिन्छन् नि। टिनएजरहरू बढी भेटिन्छन्। 

चालकहरूले ट्राफिक नियम कत्तिको पालना गर्छन्? 
सबैले गर्दैनन्। हामीलाई धेरै हेप्ने भनेको मोटरसाइकलवालाले हो। उनीहरूलाई धेरै हतार हुन्छ। उनीहरूले नियम पालना नगरेकाले जाम धेरै हुने गर्छ। 

ट्राफिक प्रहरी भएपछि आफूमा के परिवर्तन पाउनुभएको छ? 
सबैलाई सम्मान गर्न जानिएको छ। पहिला नयाँ मान्छे देखेपछि बोल्न लाज लाग्थ्यो। अहिले सबैसँग खुलेर बोलिन्छ। 

यो एरियामा मापसेमा चालकहरू कत्तिको पर्ने गर्छन्?
दिनमा आठ–नौ जना पर्छन्। 

यहाँ दुर्घटना कत्तिको हुन्छ?
सामान्य दुर्घटना कहिलेकाहीँ हुन्छ। अन्य ठाँउको तुलनामा यो एरियामा दुर्घटना कम हुन्छ। 

सडकमा तपाईंहरूले भोग्नुपरेका समस्या के–के छन्?
हाम्रो मेन समस्या भनेको हामी जसका निम्ति दिनरात सडकमा उभिएर काम गर्छौं, उनीहरू नै अटेर गर्छन्। झन् पढेलेखेका मान्छेहरू त भनेको मान्दैनन्। जसरी हुन्छ, हाम्रो आँखा छल्न खोज्छन्। पढेलेखेकाले नै नियम धेरै मिच्छन्। 

फुर्सदको समय कसरी बिताइन्छ?
फुर्सदको समयमा पढेर बस्छु। मोबाइलमा गेम पनि खेल्छु। 

कतिसम्म पढियो? 
अहिले १२ को जाँच दिएर बसेको छु। 

कुन विषय? 
शिक्षामा मेजर हेल्थ। 

पढाइलाई निरन्तरता दिनुहुन्छ कि नाइँ? 
दिन्छु नि। ब्याचलर्स त गर्नैपर्छ। 

पढाइ र जागिर सँगसँगै लैजान गाह्रो होला नि? 
मानिसमा गर्छु भन्ने इच्छाशक्ति हुनुपर्ने रहेछ, सबै कुरा सजिलो लाग्छ।

सामाजिक सञ्जाल कत्तिको प्रयोग गरिन्छ?
कहिलेकाहीँ फेसबुक चलाउँछु। नेटमा पढ्ने पनि गर्छु। 

अन्नपूर्ण सम्पूर्णका लागि आशक्ति फुयालको प्रस्तुति


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.