सभापतिमाथि खनिए कांग्रेस सांसद अमरेश
काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेस सांसद अमरेशकुमार सिंह र सभापति शशी श्रेष्ठबीच विवाद भएको छ। समितिमा शुक्रबार संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा आफ्नो धारणा राख्ने क्रममा सांसद सिंह सभापतिसँग आक्रोशित बनेका हुन् ।
समय मागेर बोल्न थालेको तीन मिनेटमा सभापतिले घण्टी बजाएर रोकेपछि सांसद सिंह आक्रोशित बनेका थिए। उनले मधेसी र कांग्रेस सांसद भनेर सभापतिले हेपेको आरोपसमेत लगाए । 'सभापतिज्यू तपाईँ सधैं यस्तै गर्नुहुन्छ, हिजो जनार्दन शर्मा बोल्दा मैले घडी हेरिरहेको थिएँ ।' सांसद सिंहले भने, 'उहाँले २५ मिनेट बोल्दा वास्ता गर्नु भएन, यहाँ दल नहेर्नुस् सबै सांसद बराबर हुन्।' उनले आफू अरु मधेसी र कांग्रेस सांसद जस्तो हेपिएर नबस्ने स्पष्ट पारे।
यता सभापति श्रेष्ठले समितिमा माननीयलाई विभेद नगरिएको बताइन् । उनले भनिन् 'यहाँ न पार्टी हेरिन्छ, न नेता हेरिन्छ।' समिति बैठकमा सिंहले निजामती कर्मचारी मर्यादामा बस्नुपर्ने धारणा राखे । 'कर्मचारी एउटा कार्यालयमा तीन महिना पनि नबसी हाजिर भएर अन्यत्र सरुवा हुन्छन् ।' सांसद सिंहले भने , 'काम नगर्ने कर्मचारीलाई कारबाही गर्न कडा कानुन बनाउनुपर्छ।'